Shittalpati
मनाइयो ऋषिपञ्चमी पर्व, सकियो तिज

पाल्पा, भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आइतबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् । ऋषि पञ्चमीसँगै चार दिन लामो तिज पर्व पनि समापन भएको छ ।

रजस्वलाका समयमा छोइछुईलगायत कुनै त्रुटि भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ। स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भरद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैलेपञ्चमीलाई ऋषिपञ्चमी भनिएको हो । रजस्वला भएका बेलामा अरूलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा यस दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएको छ । 

यसैकारण यस दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय बचन रहेको संस्कृतिका जानकार तथा पण्डित होमनाथ न्यौपाने बताउँछन् । प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण बह्मा हत्याको पाप भोग्नुपर्‍यो । हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख बह्मालाई सुनाए ।

इन्द्रको बह्म हत्या निवारणका लागि बह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए । यसैकारण उब्जनी नहुने उर्वरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहि आएको छ । प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन गुल्मी र पाल्पाको संगमस्थल रिडीमा स्नान गर्नेहरुको भिड श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्दछ । केही महिलाहरुले भने घरमै पण्डित राखेर ऋषि पञ्चमीको पुजा गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update