Shittalpati
लुम्बिनी प्रदेश सांसद् केसी जेल चलान

 दाङ, लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुमपूर्व १ (२) बाट निर्वाचित कांग्रेस सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान भएका हुन् ।

सांसद केसी आज आफैं रुकुमकोट जिल्ला अदालतमा पुगेर आत्मसर्मपण गरेपछि कारागार चलान भएका छन् । रुकुमपूर्वका प्रहरी प्रमुख तथा डीएसपी माधव राज खरेलले रुकुमपूर्वबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद केसी रुकुमकोट जिल्ला अदालतमा आफै उपस्थित भएको र रुकुमकोट जिल्ला अदालतले तोकिएको सजाय भुक्तान गर्न रुकुम पश्चिम कारागार पठाएको बताए ।

२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सम्बन्ध विच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उनी दोषी ठहर भएका थिए । उनलाई कारबाही नभएको भन्दै चर्को विरोध हुँदै आएको थियो ।

 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update