Shittalpati
बाँदर धपाउन पुलमा पाल टाँगेर ‘ड्युटी’
तानसेन नगरपालिका –१३ छेर्लुङ र कालिगण्डकी गाउँपालिका –१ प्युघा जोडिएको  पुलमा बाँदर  रोक्नका लागि पुलमा त्रिपाल टाँगेर बसेका किसानहरु ।  तस्वीर : किशोर भट्टराई /एनजेडी 

पाल्पा, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ प्युघाका किसानलाई  बाली जोगाउनै मुस्किल पर्ने गरेको छ । बारीमा मकै पाक्न लागेको समयमा नजिकैका जंगलबाट बाँदरको समूह आएर बालीनाली सखाप पार्न थालेपछि बाली जोगाउन यहाँका किसानलाई मुस्किल पर्ने गरेको हो ।

पाल्पातिर पर्ने खेतका किसानले मकै स्याहारिसकेकाले बाँदर अहिले पारी प्युघातर्फ जाने गरेकाले त्यहाँका किसानलाई बाली जोगाउन हम्मे हम्मे भएको छ । तानसेनतिरको छेर्लुङ्गका फाँटहरुमा किसानले मकै भित्र्याई सकेकाले बाँदर छेर्लुङ्ग र प्युघा जोडिएको पुल हुुँदै पारी स्याङ्गजा पुग्ने गर्दछन् । जसले गर्दा पुल नजिकैका किसान बाँदर आतंकबाट आजित भएका छन् । बाँदरले बालीनाली सखाप पार्न थालेपछि यहाँका किसान पुलमा पाल राखेर दिनभर  आलोपालो ड्युटी गर्न थालेका छन् ।  प्युघाका ६५ घरपरिवार आलोपालो गरी विहानदेखि साँझासम्म पुलमै बस्ने गर्दछन् । मकै पाक्न लागेको समयमा बाँदरको समूह आएर बारीका मकै खाने गरेपछि आफुहरु पुलमा पाल टाँगेर ड्युटी गर्ने गरेको किसान चन्द्रबहादुर सारु बताउँछन् ।

बारीमा जब मकै हुर्केर घोका हाल्न थाल्छ, तब हुल बाँधेर बाँदर गाउँ बस्ने गरेको उनको गुनासो छ । सुरुसुरुमा धपाएर भाग्ने बाँदर अहिले मान्छेसँग डराउन पनि छोडिसकेका छन् । ‘३–४ वर्षअघि बाँदरहरु खासै देखिन्थेनन् । जब यहाँ छेर्लुङ्ग र प्युघा जोड्ने पुल बन्यो तब बारीमा बाँदर पस्न थाले,’सारु सुनाउँछन्,‘अहिले त बाँदर गाउँमै छिरे । गाउँमा छिरेका बाँदरले केही बाँकी छोडेनन् ।’ अरुबेला खासै दुख नदिए पनि मकै फल्न थालेदेखि बाँदरको संख्या पनि एकाएक बढ्ने गरेको उनको गुनासो छ । मकै थन्काउनेबेला बाँदरले सखाप नै पार्न थालेपछि यहाँका किसानले ३ वर्षदेखि पालैपालो पुलमा ड्युटी गर्दै आएका हुन् । बाँदर हेर्न यहाँका ६५ घरले साउन पहिलो सातादेखि भदौ अन्तिमसम्मको समयतालिका नै प्रकाशन गरेर पालो बाँडेका छन् । यसरी उनीहरुले पालोअनुसार बाँदर धपाउन थालेको ३ वर्ष भयो ।

दिनमा दुई घर परिवारका किसान विहानै साढे ४ बजे पुलमा पुग्छन् । पुलमा पानी ओत्ने र घाम छेक्ने त्रिपाल राखेर दिनभर बाँदरको चौकीदार बनेर बस्छन् । खाना, नास्ता समेत परिवारले उनीहरुलाई उही पुलमै पुर्‍याइदिन्छन् । दिनभर पुलमै बसेर साँझ ७ बजे मात्र उनीहरु घर फर्कन्छन् । ‘विहान ४ बजेपछि पुलमा नपुगे बाँदर बारीमा पसिसक्छन्’ किसान सारुले भने ‘विहान ४ः ३० मा हामी त्यही पुग्छौं, दिनभर पुलमै बस्छौं, साँझा बाँदर बास बसेपछि मात्र घर फर्कन्छौं ।’ ड्युटीमा खटिनेहरु कही जाल बुन्छन्, कोही नाम्लो, दाम्लो बुनेर दिन विताउने गर्छन् । ड्युटीमा नजानेहरुले ८ सय जरिवाना तिर्नुपर्ने किसान सारुले बताए । उनका अनुसार जरिवानाबाट संकलन भएको रकम गाउँकै कोषमा जम्मा हुने छ ।  

‘गाउँमा बसिसकेपछि काम नगरेर भएन, केही न केही त गर्नैपर्‍यो । गर्दा पनि बाँदरले बसिखान नदिएपछि के गर्नु त,’ ड्युटीमा खटिएका अर्का किसान सूर्य रेस्मीले भने, ‘अहिले हामी गाउँका दाजुभाई दिदीबहिनीहरु आलोपालो बाँदरको चौकीदार बसेका छौं ।’ आलोपालो बाँदर धपाउन थालेदेखि केही राहत भएको उनको भनाई छ । ‘दिउँसो पुलमा आएर बसेनौं भने सताउँछ, पाक्न लागेको मकै बालिमा क्षति पुर्‍याएपछि अहिले हामी गाउँभरका किसान  पुलमा बस्न बाध्य छौं’ रेस्मीले भने । बाँदर नियन्त्रणमा स्थानीय सरकारले पहल गरिदिनुपर्ने पीडित किसानहरुको भनाई छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update