Shittalpati
साक्षरता अभियानको सार्थकता

अन्तर्राष्ट्रिय साक्षरता दिवस आइतबार नेपालसहित विश्वर नै मनाइएको छ । विश्वमा कोही पनि निरक्षर नरहुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको सेप्टेम्बर ८ तारिखलाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाउने गरिन्छ । यो दिवस अन्तर्राष्ट्रिय रुपमा मनाइरहँदा विश्वका ६० मुलुकको साक्षरता प्रतिशत अझै पनि ९५ भन्दा तल रहेको पाइन्छ । यो अत्यन्त दुःखको कुरा हो । हाल नेपालमा १५–६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ८५ प्रतिशत रहेको दावी गरिएको छ ।

२०६५ सालमा सरकारले साक्षरता अभियान नै सञ्चालन गरेको थियो । यो निकै सकारात्मक पक्ष थियो तर त्यसबाट खासै उपलब्धि हासिल हुन सकेन । नेपाल सरकारले आफ्नो हरेक नीति तथा कार्यक्रममा वर्षेनी ‘साक्षर नेपाल’ घोषणा गर्ने प्राथमिकताका साथ भन्दै आएको १६ वर्ष विते पनि अझै पनि ‘साक्षर नेपाल’ घोषणा  हुन नसक्नु विडम्वनाको विषय हो । २०६५ देखि नै मुलुकलाई दुई वर्षभित्र साक्षर नेपाल घोषणा गरिने भन्दै शिक्षा मन्त्रालयले साक्षर नेपाल अभियान नै चलाउँदै आएको छ । तर, त्यो दुई वर्ष कहिले आउने हो, कुनै अत्तोपत्तो छैन । दुई वर्ष अघि पनि सरकारले २०८०/८१ भित्र नेपाललाई साक्षर घोषणा गर्ने भनेको थियो । तर अहिले पनि अझै १३ जिल्ला साक्षर हुन बाँकी नै छन् । प्रत्येक सरकारले आफ्नो नीति तथा कार्यक्रममा साक्षर नेपाल घोषणा गर्ने नीति प्राथमिकताका साथ राखे पनि त्यो प्रभावकारी भने देखिएको छैन । साक्षर अभियान कार्यक्रमकै लागि सरकारले अर्बौं रकम खर्च गरिसकेको भए पनि त्यसले पूर्णता पाउन सकेको छैन् । हाल नेपालमा ६४ वटा जिल्ला मात्र साक्षर घोषणा भएका छन् ।

अहिले पनि पूर्णसाक्षर जिल्ला घोषणाको क्रम जारी छ तर, साक्षर जिल्ला घोषणाको दौडमा तथ्यांक बढाइएको, साक्षरता घोषणा गरिएअनुसारको सुधार गाउँमा नदेखिएका गुनासा पनि आइरहेकै छन् । सरकारको महत्वाकांक्षी घोषणालाई सार्थक बनाउनकै लागिमात्रै निरक्षरहरुलाई रातारात साक्षर बनाइनु विडम्बनाकै कुरा हो । सरकारले संख्यात्मक भन्दा पनि गुणात्मक पक्षलाई ध्यान दिएर साक्षर अभियान अगाडि बढाउनुपर्छ । त्यसो भयो भने मात्र साक्षरता अभियानले सार्थकता प्राप्त गर्न सक्छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update