Shittalpati
चालीस वर्षदेखि सारङ्गी रेट्दै  लालबहादुर

देउखुरी (दाङ), टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँड्नुभएका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुगेका छन् । ‘सारङ्गी रेटेर धुन बजाउँदै गीत गाउन थालेको ४० वर्षभन्दा धेरै भयो, सारङ्गी बजाउँदा आफू अझै जवान भएजस्तो लाग्छ, सारङ्गीको घुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ,’ उनि भन्छन् । सल्यान, दाङ, रोल्पा, रुकुम र काठमाण्डौँ लगायतका शहर तथा बस्तीमा पुगेर सारङ्गी बजाएर गीत गाउने गरेको उनले बताए । 

घरमा सानै उमेरदेखि बाउबाजेबाट सारङ्गी रेट्ने सीप सिक्नुभएका लालबहादुरले १५ वर्षको उमेरदेखि यही पेसा अपनाए । ‘हिजोआज कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले बाहिरबाट पठाउँछन्,’ उनले भने । जग्गा जमिन केही नभएपनि सारङ्गीको धुन र गीत गाएरै परिवारको जिविका चलाउँदै आएको उनको भनाइ छ । उनले सात वटी छोरीमध्ये पाँचको विवाह गरिसक्नुभएको छ । दुई छोरी तुलसीपुर– १७ स्थित मावि दुधरासमा कक्षा आठ र ११ मा पढ्छन् । आफूले नपढे पनि छोरीलाई पढाउने सोचाइ रहेको उनले बताए । गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म कमाउने गर्छन् । समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृति धान्न गाउँगाउँमा पुग्ने गरेको उनि बताउन्छन् । अहिलेसम्म घुमेको ठाउँमा रोल्पा सबै भन्दा राम्रो लागेको स्मरण गरे । रोल्पामा गाइने आयो भने चाडवर्प आए जस्तो हुन्छ भनेर सिदा (चामल, दाल) दिने गरेको बताए । सारङ्गी बजाउन युवा पुस्ताले चासो नदिँदा गन्धर्व पेशा लोप हुने चिन्ता उनलाई छ । ‘मेरा छोरीले बजाउँदैनन् म पछिको पुस्ताले सारङ्गी छुदैनन्,’ उनले भने ।

गाइनेको रुपमा हिँड्दा एकातिर संस्कृति संरक्षण अर्कोतिर रमाइलो गरी जीवन चलिरहने र देशका विभिन्न ठाउँ हेर्ने अवसर मिल्ने उनको अनुभव छ । उनि गीतकै माध्यमबाट आफ्ना भावना पनि व्यक्त गर्छन् । पछिल्ला समय सारङ्गी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको सङ्ख्या घट्दो छ । केही पाकापुस्ताले संस्कृति जेनतेन धान्दै आए पनि गन्धर्व समुदायका युवापुस्ताले चासो दिएको पाइँदैन  ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update