विश्वेश्वरप्रसाद कोइराला अर्थात् बी.पी. कोइराला कुनै साधारण व्यक्ति थिएनन् । उनी महामानव थिए । किनकि उनका पूर्वजहरू नै महामानव थिए । बी.पी. कोइरालाका पूर्वजहरूको अध्ययन गर्ने हो भने उनी भगवान् अहिराका वंशज हुन् ।
भगवान् अङ्गिराका छोरा मौद्गलय र मौद्गलयका छोरा मुद्गलायन थिए । मुद्गलायनका छोरा लम्बोदर र लम्बोदरका छोरा अलाल थिए । अलालका छोरा लाल विए र लालका छोरा लालकर्ण थिए । लालकर्णका छोरा लालचन्द्र र लालचन्द्रका छोरा विशा थिए । विशाका छोरा बशु र बशुका छोरा परम थिए । परमका छोरा दामोदर र दामोदरका छोरा हरिहर थिए । हरिहरका छोरा परशुराम र परशुरामका छोरा जनमेजय थिए । जनमेजयका छोरा विश्वंभर र विश्वंभरका छोरा करुणाकर थिए । करुणाकरका छोरा शिवनिधि र शिवनिधिका छोरा नन्दिकेश्वर थिए । नन्दिकेश्वर यिनै बी.पी. कोइरालाका हजुरबुबा थिए । नन्दिकेश्वरका जेठा छोरा सरदार कालीदास, माहिला छोरा सुब्वा नारायणप्रसाद, साँहिला छोरा हीरालाल र कान्छा छोरा खरदार कृष्णप्रसाद थिए । यिनीहरू भट्ट ब्राह्मण थिए । लमजुङ्गको दुराडाँडाबाट बसाइ सरी पूर्वी नेपालको गोग्राहा आएका थिए ।
कोइरालाको रुख प्रशस्त हुने फाँटमा बसेकाले यिनीहरूलाई कोइराला भनिएको हो । कृष्णप्रसाद कोइरालाले नै गोग्राहालाई विराटनगर नामकरण गरिदिएका थिए । कृष्णप्रसाद कोइरालाले छ भाइ छोरा जन्माए । उनीहरूको नाम मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, हरिहर कोइराला, केशव कोइराला, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला हो । कृष्णप्रसाद कोइरालाका यिनै छोराहरूमध्ये मातृकाप्रसाद कोइराला नेपालको प्रथम नागरिक प्रधानमन्त्री, विश्वेश्वरप्रसाद कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री र गीरिजाप्रसाद कोइराला प्रजातन्त्रको पुनस्थापनापछि नेपालमा पटक–पटक प्रधानमन्त्री भएका थिए ।
‘मेरो जन्म एउटा द्विविधामा भएको हो । जन्मने घडीमा मैले अयीपनाको पूरा परिचय दिएँ । ममाथि त्यसदिन बल प्रयोग गरिएको हुनाले हो कि किन हो, म जीवनमा आजसम्म विद्रोही रहें ।’ भनि स्वयं बी.पी. कोइरालाले उदगार व्यक्त गरेका छन् । कृष्णाप्रसाद कोइरालाका तीनवटी पत्नीमध्ये कान्छी दिव्या कोइरालाको गर्भबाट शल्यक्रिया गरी वि.सं. १९७१ भाद्र २४ गतेका दिन वाराणसीमा विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको हो । न्वारनको नाम चूडामणि भए तापनि भगवान् विश्वनायको स्मृतिमा विश्वेश्वरप्रसाद राखियो भने बी.पी. कोइरालाको नामबाट उनी विश्वप्रसिद्ध भए । बी.पी. सानो देशमा जन्मिएका, संसारले मानेका ठूला नेता हुन् । वरिष्ठ ज्योतिषी एवं हस्तरेखाविद् अङ्गिरस न्यौपानेले बी.पी. को जन्म कुण्डली तथा ग्रहदशाको सन्दर्भमा निम्नानुसार व्याख्या विश्लेषण गरेका छन् । मेष राशि र तुला लग्नमा बी.पी. को जन्म भएको थियो ।
जसले गर्दा स्वगृही शुक्र समेत रहेकाले बाँचुञ्जेल चर्चित हुने र मृत्युपछि अमर रहने योग थियो । धनस्थानको कुरा गर्दा धन भए पनि नभए पनि आँटेको काम पूरा गर्न सक्ने र मित्रधन धेरै राख्न सक्ने थियो । शनि र मंगलको पूर्ण दृष्टिको कारणले गर्दा पराक्रमी, आँट, अठोट भएका, कसैसँग नझुक्ने र दाजुभाइलाई समेत हानि पुर्याउन सक्ने क्षमता रहेको थियो । गुरुग्रह भने नीच भई बसेको हुनाले परिवारसँग बस्न नपाउने, कारागार तथा प्रवासमा बस्नुपर्ने योग रहेको थियो । राहु ग्रहको प्रभावले हठी स्वभावका, अरूको बुद्विमा नहिँड्ने र आफ्नै बुद्धिमा हिँड्ने, हिँडाउँने स्वभावका थिए । बुद्धि, विवेक, तीक्ष्ण र दूरगामी प्रभाव पुर्याउने भएकाले राजशक्ति एवं सैन्यशक्तिमा वैमनस्यता हुने, छिमेकीसँग समझदारीमा कमी रहने अवस्था थियो । चन्द्रमा उच्च अभिलाषी भएकाले मन चञ्चल, स्त्री र यौनबारे उत्सुक्ता राख्ने, सत्ता प्राप्त गरे पनि स्थिर नहुने योग थियो । जसले गर्दा राजा, स्त्री, वैदेशिक सम्बन्ध राम्रो राख्न सकेनन् । उनीमा गुरुदृष्टि भने पूर्ण रूपमा परेको थियो । अप्रत्यासित मार परे तापनि गुरुकै कारणले ज्यान जाने योगबाट समेत बचायो । जस्तै दुःख परे तापनि राजा, सेना, कार्यकर्ता, विदेश एवं समयबारे बुझेका र बुझाउन सक्ने स्वभावका थिए । भाग्यस्थानमा शनिग्रह प्रबल भई बसेकोले भाग्यले ठगेर साथ नदिएको र शनि ग्रहकै प्रभावले धर्म कर्ममा विश्वासको अभाव भएको पाइएको थियो ।
कर्म स्थानमा भने बृहस्पतिको पूर्ण दृष्टि परेकोले गुरु विचार दिन सक्ने, नयाँ दर्शन दिन सक्ने, कर्मवादी, नाम उच्च राख्न सक्ने, आत्मबल र विश्वास बलियो रहेको थियो । लाभस्थानमा स्वगृही सूर्य बसेकोले उनी अमर रहे । तर सूर्यको साथमा केतु रहेकाले मित्र धेरै भए तापनि कमजोर विचारका हुने र समस्यामा पर्दा धोका दिने मित्रहरू पनि थिए । धनस्थान, पत्नीस्थान र भाग्यस्थान निकै कमजोर थियो । आफ्नो नाममा धनसम्पति जोर्न नसक्नु, भएको सम्पत्ति पनि सरकारको कब्जामा रहनु, श्रीमतीसँग साथैसँगै बस्न नपाउनु, श्रीमती तथा सन्तानलाई पारिवारिक सुख दिन नसक्नुले गर्दा उनी बाचुञ्जेल भाग्यबाट ठगिइरहे । धर्म र बुद्धिस्थानमा शनि ग्रह र राहु ग्रह रहेको हुँदा उनी धार्मिक परम्परा विरोधी भए । शनि र राहुको खातिर उनलाई लक्ष्मी र भाग्यले ठगेको हो । लग्नको शुक्र सप्तम चन्द्रमा एकादश, सूर्य, द्वादश बुध, तुला लग्नले गर्दा बी.पी. सामान्य परिवारमा जन्मेर पनि राजा महाराजाको हाराहारीमा ठूलो नाम कमाउन सफल भएका छन् ।
जन्मकुण्डलीअनुसार दूरदशी, संघर्षशील, एकोहोरोपना राख्ने आमत परिवर्तन चाहने, रचनात्मक विचारधारा भएका, सानो हुन सक्ने तर कहिल्यै कसैसँग नझुक्ने, राष्टिूयता र मातृभूमिका लागि ठूला–ठूला शक्तिलाई समेत चुनौती दिन सक्ने क्षमता भएका अत्यन्त शूर वैभवशाली व्यक्तित्वका धनी थिए बी.पी. कोइराला । मृत्युस्थानमा गुरुको दृष्टि परेको हुँदा क्यान्सर रोगले पीडित भए तापनि लामो समयसम्म उनी बाँचिरहेका थिए । मृत्यु हुनुभन्दा डेढ महिना अघिमात्र शुरु भएको उल्का ग्रहको प्रभावले सुख आउने बेलामा उनलाई बाँच्च्न दिएन । बी.पी. को जन्मकुण्डली अनुसार उल्का, राहु र शनि ग्रहको प्रभावले नै मृत्युपछि पनि क्रियाकर्म गर्न दिएन ।
बी.पी. कोइरालाको उमेर तीन वर्षको छँदा श्री ३ चन्द्रशमसेरले पिता कृष्णप्रसाद कोइरालालाई सर्वस्वहरणसहित देशनिकाला गरेका थिए । पन्ध्र वर्षे उमेरमा अंग्रेज विरोधी अभियानमा बनारसको हरिश्चन्द्र स्कूलबाट बी.पी. को पहिलो जेलयात्रा प्रारम्भ भयो । वि.सं. १९८९ मा भारतीय समाजवादी नेता जयप्रकाश नारायण र डा. राम मनोहर लोहियासँगको सम्पर्कबाट ‘कांग्रेस सोसलिष्ट पार्टी’ को सक्रिय संस्थापक सदस्यता प्राप्ति भयो भने वि.सं १९९१ देखि सूर्यविक्रम ज्ञवालीको प्रेरणास्वरूप नेपाली साहित्य रचना गर्न लागेका बी.पी.ले वि.सं १९९२ मा काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरेका थिए । वि.सं १९९३ माघमा झापा जिल्लाका तत्कालीन बडाहाकिम कमलप्रसाद दाहालकी सुपुत्री सुशीलासँग शुभविवाह भयो । वि.सं. १९९८ मा मजदूर आन्दोलनमा पक्राउ र वि.सं. १९९९ मा ‘भारत छोडो’ आन्दोलनमा महात्मा गान्धीलाई सघाएबापत तीन वर्षसम्म कारागार जीवन व्यतित गरेका बी.पी.ले वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसमार्फत गणेशमान सिंहसँग भेटघाट बढेपछि यसपूर्व घनिष्ठ भइसकेका कृष्णप्रसाद भट्टराईसमेतको त्रिमूर्तिले नेपालबाट राणा शासनको जरैदेखि उन्मूलन गर्ने राजनैतिक पूर्वाधार तय गर्यो । गोप्य आन्दोलन छेड्ने तयारीका साथ नेपाल आएका बी.पी. लाई वि.सं. २००५ साल पौष महिनामा गिरफ्तार गरियो । कारागारमा अति नै क्रूर र अमानवीय व्यवहार गरियो । कारागारमा बी.पी. लगातार २९ दिनसम्म आमरण अनसन बसे, जेलमुक्त भएपछि पुनः भारत गए । उदारवादी राणा सुवर्ण शम्सेरको ‘नेपाल प्रजातन्त्र कांग्रेस’ र बी.पी. को ‘नेपाली राष्ट्रिय काँग्रेस’को संमिश्रण गरी ‘नेपाली काँग्रेस’ को स्थापना बी.पी. कै पहलमा भयो । वि.सं. २००७ साल भदौमा भारत विहारको वैरगनियामा नेपाली काँग्रेसको दुईदिने सम्मेलनपछि विराटनगरबाट आन्दोलन छेडियो ।
अब भने राणाहरूको सातोपुत्लो उड्न लाग्यो । राणाका फौजको क्षति हुँदै गएपछि मोहन शम्सेरले घुँडा टेके । वि.सं. २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र आयो । सात सालको मन्त्रीमण्डलमा गृहमन्त्री भएका बी.पी. पन्ध्र सालको प्रथम आम निर्वाचनपछि जननिर्वाचित प्रथम प्रधानमन्त्री भए । राजा महेन्द्रले भन्दा बी.पी. कोइरालाले लोकप्रियता कमाउन थालेपछि वि.सं २०१७ साल पौष १ गते राजाले बी.पी. लाई गिरफ्तार गरी मुलुकमा पञ्चायती व्यवस्था लागू गरे । बी.पी.लाई आठ वर्षसम्म सुन्दरीजल बन्दीगृहमा राखियो । जेल जीवनमा बी.पी.ले आफूलाई साहित्य सिर्जनामा समर्पित गराए । एमनेष्टी इण्टरनेशनलको कडा विरोधपछि बी.पी.लाई जेलमुक्त गरियो र उनी भारतमा गएर बसे । नेपालको राष्ट्रियता र सार्वभौमिकता खतरामा परेको महसुस गरी वि.सं. २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बी.पी. नेपाल आए । राजद्रोहसम्बन्धी सातवटा मुद्दा बी.पी. माथि लगाइयो । राजा वीरेन्द्र बी.पी. प्रति उदारवादी रहे तापनि षड्यन्त्रकारी दरबारियाहरूले यी दुवैलाई नजिकिन दिएनन् ।
वि.सं.२०३४ साल ज्येष्ठ २ गते बी.पी. क्यान्सर उपचारको लागि अमेरिकातर्फ लागे । उपचारपछि कार्तिक २३ गते नेपाल फर्कदा विमानस्थलमै गिरफ्तार गरी शितल निवास बन्दीगृहमा राखियो । अदालती मुद्दामा बी.पी. को जित भयो । छत्तीस सालको विद्यार्थी आन्दोलनको कारणले घरमै नजरबन्द गरियो । जनमत संग्रहको सिलसिलामा दुई दशकपछि नेपाली कांग्रेसको चारतारे झण्डा लिएर मुलुकका अनेकौ क्षेत्रमा आयोजित आमसभालाई सम्बोधन गर्न बी.पी. अहोरात्र खटिए । सुनियोजित रूपमै छत्तीस सालमा बहुदलवादीहरूलाई हराइयो। तर पनि बी.पी. हतोत्साही भएनन् । वि.सं. २०३७ साल साउनमा जापानी समाजवादी पार्टीको निमन्त्रणामा जापान र माघ २१ गते अष्ट्रेलियाको सिड्नीमा आयोजित एशियाली प्रशान्त समाजवादी सम्मेलनमा भाग लिन वी.पी.को प्रस्थान भयो । वी.पी. को स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गएकोले राजा वीरेन्द्रले वी.पी.को सम्पत्ति फिर्ता गरिदिए । देशभित्र ‘बी.पी. स्वास्थ्य कोष’ र भारत, बेलायत, अमेरिकालगायतका मुलुकमा ‘बी.पी. रक्षा समिति’ गठन भए । वि.सं. २०३९ साल असार २७ गते राम्रो उपचारको लागि भाइ गिरिजाप्रसाद कोइराला र कान्छा छोरा शशांक कोइरालाको सहगमनसँगै बी.पी.लाई थाइल्याण्ड लगियो । बी.पी. को इच्छा अनुसार नै साउन ६ गते साँझ ५ः४० बजे बी.पी.लाई विमानबाट नै नेपाल ल्याइयो। सोही दिन साँझ ७ बजेर १५ मिनेट जाँदा ६८ वर्षको उमेरमा महामानव बी.पी. कोइरालाको संघर्षमय जीवनको अन्त्य भयो ।
(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष समेत हुन्)