Shittalpati
पाल्पामा बीपी जयन्ती : काँग्रेसद्वारा ‘बीपी कोइराला बहुुआयामिक व्यक्तित्व’ विषयक वक्तृत्वकला

पाल्पा, जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११ औँ जन्मजयन्ती पाल्पामा वक्तृत्वकला तथा अन्तरसंवाद कार्यक्रम गरी मनाइएको छ । नेपाली काँग्रेस पाल्पा प्रतिनिधिसभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं १ र २ ले संयुक्त रुपमा तानसेनमा वक्तृत्वकला तथा अन्तरसंवाद कार्यक्रम गरी बीपी जयन्ती मनाइएको हो ।  

हरेक वर्ष भाषणमै सिमित बन्दै आएको कार्यक्रमलाई काँग्रेसले यस पटक भने रचनात्मक ढंगले गरेको छ । उसले विद्यार्थीहरुलाई बीपी र उनको योगदानका बारेमा जान्न र अध्ययन गर्ने बानीको विकास गराउने उद्देश्यले  बीपी जयन्तीको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

‘बीपी कोइराला बहुुआयामिक व्यक्तित्व’ विषयक शिर्षकमा प्रतियोगिता भएको हो । प्रतियोगितामा १२ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो । जसमा  जनता माविका  सुरज डाँगी प्रथम, दमकडा माविका सुजन हिताङ द्धितीय, सरस्वती माविकी सम्झना न्यौपाने तृतीय र पाल्पा प्यारागन इग्लिस बोर्डिङ स्कूलकी केकी बस्याल सान्त्वना भएकी छन् । प्रथम हुनेलाई नगद ९ हजार, द्धितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना हुनेलाई ३ हजार रकम प्रदान गरिएको काँग्रेस क्षेत्र नं. २ का क्षेत्रिय सभापति मुक्तिराम जिसीले जानकारी दिए । उनका अनुसार प्रतियोगी सबै विद्यार्थीहरुलाई यातायात खर्च समेत दिइएको थियो । विजयी प्रतियोगीहरुलाई नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले नगद हस्तान्तरण गर्दै विद्यार्थीहरुलाई बीपीका बारेमा जानकारी गराउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । मुलुकको परिवर्तनमा बीपी कोइरालाको योगदानको चर्चा गर्दै विद्यार्थीहरुले समेत त्यसको अनुसरण गरेर जानुुपर्ने बताए । सभापति श्रेष्ठले बीपी कोइरालाको राजनीतिक तथा साहित्यिक योगदानका विषयमा खोज गर्नुपर्ने र देशव्यापी बनाउनुपर्नेमा जोड दिए । काँग्रेसका पूर्व कन्द्रीय सदस्य राजनप्रसाद पन्तले बीपी कोइरालाको दर्शन, सोच र चिन्तनलाई पूर्णरुपले अनुसरण गरी पार्टीलाई अझ बढी सुदृढ बनाउनुपर्ने बताए । उनले बीपीले प्रजातन्त्रका लागि गरेको संघर्षबाट पार्टीका नेता, कार्यकर्ता एवं शुभेच्छुकले प्रेरणा लिनुपर्ने उल्लेख गरे ।

प्रतियोगिताको निर्णयक मण्डलको रुपमा त्रिभूूवन बहुुमुुखी क्याम्पसका उप्राध्यापक महेन्द्र पन्थी र सारदा खनाल रहेका थिए । उनीहरुले निष्पक्ष रुपमा निर्णयक मण्डलको भूमिका निर्वाह गरेको बताए । कार्यक्रम काँग्रेस क्षेत्र नं . २ का क्षेत्रीय सभापति मुक्तिराम जिसीको अध्यक्षता, क्षेत्र नं. १ का क्षेत्रीय सभापति  झमनबहादुर राज मगरको स्वागत, क्षेत्रीय सचिव कपिल खाँडको सञ्चालनमा कार्यक्रम भएको थियो ।  

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update