नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११ औं जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।
४२ वर्षपहिले २०३९ साउन ६ गते देहवसान भएका बीपीबारे अहिले पनि बहस, विवेचना र विमर्श चलिरहेको छ । निरंकुश राणा शासन र अधिनायकवादी राजतन्त्रको अन्त्य गरी लोकतन्त्र स्थापनाका लागि पाँच दशकभन्दा लामो संघर्षपूर्ण र उतारचढावपूर्ण इतिहास भएका बीपी राजनीतिक दृष्टिले आजपर्यन्त जीवित छन् । बीपीबिना नेपालको लोकतान्त्रिक आन्दोलन र सैद्धान्तिक–वैचारिक बहस नै अपूर्ण हुने भएकाले उनीबारे विमर्श हुनु स्वाभाविक नै हो । तर उनको आदर्श, नैतिक मूल्यमान्यता र निष्ठाको राजनीति गर्दै आएको काँंग्रेसले अहिले त्यो बाटो छोड्दै गएको हो कि भन्ने अनुभूति भएको छ । आफ्नो सम्पूर्ण जीवनकाल प्रजातन्त्रको लडाइँमा समर्पित गरेका बी.पी. २०१५ सालको संसदीय आमनिर्वाचनमा दुईतिहाईभन्दा बढी मतले विजयी भएपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका थिए । तर विडम्बना, आफूलाई जनताको सेवक ठान्ने बी.पी.को समाजवादको आदर्श चिन्तनलाई मुलुकमा प्रजातन्त्र आएको यति लामो समय हुँदासम्म पनि नेपाली काँग्रेसले साकार पार्न सकेको छैन । बी.पी भौतिकरूपमा नरहे पनि समाज परिवर्तनका कयौं आधारभूत पदचिन्ह छोडेर गएका छन् । उनले जन्माएर हुर्काएको नेपाली काँग्रेस आज अलमलमा छ ।
बीपी जस्तो प्रतिभा सम्पूर्ण नेपालीको धरोहर हो भन्ने बुझाउन समय लाग्ला तर उनका विचार र कृति दीर्घकालसम्म सबैका लागि विचारणीय हुनेमा सन्देह छैन । राष्ट्रियता, लोकतन्त्र र समाजवादको प्रथम नेपाली भाष्यकारका रूपमा बीपीको योगदान सदा स्मरणीय र प्रेरणदायी बनेको छ । उनको विचार, सिद्धान्त र उनले छोडेका राजनीतिक तथा साहित्यिक लेखनले कुनै न कुनै रूपमा नेपाली समाज प्रभावित भइरहेको छ । अहिलेको सन्दर्भमा समेत बीपीको विचार उत्तिकै सान्दर्भिक बनेको छ । काँग्रेसले बीपीलाई औपचारिक रुपमा सम्झ्ने मात्र होइन उनको विचारलाई आत्मसाथ गर्दै पार्टीलाई सोही दिशामा हिडाउनु अहिलेको आवश्यकता हो । यसर्थ अहिलेको नेतृत्वपंक्तिले भाषणबाट होइन व्यवहारबाटै बीपीको आदर्शलाई अंगीकार गर्न जरुरी छ ।