Shittalpati
साहित्यकार चन्दको  ‘आगो’ र ‘सप्तरंगी सुमन’ लोकार्पण

पाल्पा, साहित्यकार तथा नेपाली सेनाका सेवानिवृत प्रमुख सेनानी दीर्घबहादुर चन्द ‘सुमन’को दुई वटा  पुस्तक एकै पटक लोकार्पण गरिएको छ । चन्दको ५४ औं जन्म दिनको अवसरमा आगो लघुकविता सदन (आलस)ले काठमाडौंमा उक्त पुस्तकहरुको लोकार्पण तथा विमर्श कार्यक्रम गरेको हो ।

आगोका परिकल्पनाकार चन्दद्वारा लिखित ति काव्य कृतिको  पाल्पाली साहित्यकार तथा शीत र त्रिशूल काव्यका परिकल्पनाकार पुष्कर अथक रेग्मीले लोकार्पण गरेका हुन् । कृतिको लोकार्पण गर्दै प्रमुख अतिथि रहेका रेग्मीले कृति प्रकाशनले नेपाली साहित्यक इटा थप्ने काम गरेको बताए । उनले  आगो कृति अहिलेसम्मकै लघुतम उपविधाहरूमा अति सशक्त उपविधा रहेको उल्लेख गरे । रेग्मीले भने‘ सिद्धान्त र प्रयोगसहित आएको कृतिले उपविधालाई स्थापित गर्न सहयोग पुर्‍याउनुका साथै अन्य परिकल्पनाकारहरूको समेत चासोको विषय बन्ने छ ।’ सुमन उपनामले परिचित चन्दको अर्को कृति सप्तरंगी सुमन पनि उदाहरणीय र संग्रहणीय रूपमा आएको उनको भनाई छ ।

कार्यक्रममा आगो कृतिको चन्द्रा न्यौपाने र सप्तरंगी सुमनको दुर्गा अधिकारी भमरकोटेले समीक्षा गरेका थिए । आगोको समीक्षा गर्दै न्यौपानेले आगो द्विपदीय लघुकाव्य,  नवीनतम् प्रयोग र लघुउपविधा रहेको बताए । उनले कृति सिद्धान्त र प्रयोग सहित आएकाले काव्य सिर्जना गर्न सजिलो हुने, कृति पढेर जो कोहीले पनि आगो सिर्जना गर्न सक्ने उल्लेख गरे, अर्का समीक्षक अधिकारीले काव्य संग्रह सप्तरंगी सुमन आफैमा सप्तरंगी इन्द्रेणी भएको बताए । उनले यसभित्रका विविध संग्रहहरू अर्थपूर्ण एवं सन्देशमूलक कोेशेलीको रूपमा रहनुका साथै सबैका लागि उपयोगी कृति रहेको भन्दै एक पटक पढ्न सबैलाई आग्रह गरे । प्रकाशित कृतिको साहित्यकार द्वारिका कुइकेल, पूर्व महासेनानी प्रकाजंग कार्की र पूर्व सहायक रथी तेज प्रकाश बानियाँले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

साहित्यकार चन्दको जन्म दिन भएकाले केक काटी उपहार समेत प्रदान गरिएको थियो । कार्यक्रममा गायक तथा संगीतकारहरूद्वारा पूर्वली तथा पश्चिमेली भाकामा आगो गायन समेत गरिएको थियोे । साहित्यकार चन्दले लेखकीय मन्तव्यसँगै सबैलाई धन्यवाद ज्ञापन गरे । नेपाली सेनाका पूर्व उपरथी शेखर सिंह बस्नेतको अध्यक्षता, साहित्यकार सुशीला ढकाल अधिकारीको स्वागत र साहित्यकार तथा  पत्रकार दामोदर ढकाल दीपकको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update