Shittalpati
गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान
जेष्ठ नागरिकलाई सम्मान गरिदैं । तस्वीर : प्रकाश नेपाल

पाल्पा, तानसेन नगरपालिका –९ दमकडामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति दमकडा र पंक्षी संरक्षण संघले १६ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस तथा समितिको २६  औं वार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।

लोपउन्मुख अवस्थामा रहेका गिद्धहरुको सरंक्षणमा जोड दिदै विगतमा गिद्ध संरक्षणमा जेष्ठ नागरिकको पनि महत्वपूर्ण योगदान रहेकाले उनीहरुको सम्मान गरिएको उपभोक्ता समितिले जनाएको छ । कार्याक्रममा डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराईले वन संरक्षण र व्यवस्थापनसँगै जेष्ठ नागरिकलाई सम्मान गरेकोमा समितिको प्रशंसा गरे । उनले जेष्ठ नागरिकको सम्मानले अन्य क्षेत्रमा समेत सकारात्मक सन्देश प्रवाह हुने बताए । प्रमुख भट्टराईले जेष्ठ नागरिक समाजको पथप्रदर्शक र मार्गदर्शक भएको बताउँदै उनीहरुको अनुभवबाट धेरै कुरा सिक्न सकिने उल्लेख गरे ।

तानसेन नगरपालिका प्रवक्ता यादव सिंह कार्कीले जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै एक दिन मात्रै नभएर जेष्ठ नागरिकलाई सधैं सम्मान गर्नुपर्ने बताए । उनले आफूले अरुको सम्मान गर्न सकेमा त्यही संस्कार आफूमा लागू हुने भन्दै जेष्ठ नागरिकलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्नेमा जोड दिए । प्रवक्ता कार्कीले पाल्पाको सम्भावना भनेको कृषि र पर्यटन भएकाले  त्यसको विकासमा नगर सरकारले सामुदायिक वनसँग सहकार्य  गरेर अगाडि बढ्ने बताए । कार्यक्रममा वडा अध्यक्ष राजेश कुमार अर्यालले नयाँ सोच बनाएर अगाडि बढनु पर्ने र वन आयमुलक कार्यमा प्रेरित गर्नु पर्ने बताए । कार्यक्रममा वन समूहका पूूर्व अध्यक्ष बुद्धराज बस्यालले वन्यजन्तु नियन्त्रणतर्फ सरकारले उचित निर्णय नलिए गाउँका सबै बस्ती खाली हुने भएकाले तीनै तहका सरकारले ध्यान दिनुुपर्नेमा जोड दिए । माडब्य बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रुद्र बस्यालले नेपाली समाजमा अझै पनि जेष्ठ नागरिकलाई हेर्ने देष्टिकोणमा परिवर्तन आउन नसकेको बेला सम्मान कार्यक्रमले सकारात्मक सन्देश दिने धारणा व्यक्त गरे ।

कार्यक्रममा कोषाध्यक्ष शान्ती बस्यालले आर्थिक प्रतिवेदन र अध्यक्ष लोकनाथ घिमिरेले पेश गरेको प्रशासनिक तथा सांगठानिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ । समितिले वन समूह भित्रका ८ जना जेष्ठ नागरिकसँगै एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीलाई समेत सम्मान गरेको छ । समितिका अध्यक्ष लोकनाथ घिमिरेको अध्यक्षता, सदस्य राधा पाण्डेको स्वागत, सावित्रा भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update