Shittalpati
बिहीबारदेखि तीन दिन पानी पर्ने

पाल्पा, बिहीबारदेखि मनसुन सक्रिय हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । विभागले बुधबार विशेष मौसमी बुलेटिन जारी गर्दै विहिबार साँझादेखि शनिबारसम्म तीन दिन वर्षा हुने जनाएको हो  ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको विभागले जनाएको छ । हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना देखिए र त्यसको प्रभावले बिहीबार साँझदेखि शनिबार बिहानसम्म विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

मौसम सक्रिय हुने भएकाले आवश्यक सतर्कता अपनाउन समेत  विभागले सबैलाई आग्रह गरेको छ । महाशाखाद्वारा जारी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने उल्लेख छ । “गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” जारी विशेष बुलेटिनमा भनिएको छ, “लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।” महाशाखाले वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update