Shittalpati
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तीन दिन भव्य रुपमा मनाउने

लुम्बिनी, लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई तीन दिनसम्म विविध कार्यक्रम गरी भव्य रुपमा मनाउने भएको छ । प्रदेश सरकारले आगामी असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले संविधान दिवसमा आयोजना गरिने कार्यक्रमहरु स्वीकृत गरेको छ ।  दिवस मनाउनको लागि मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन गरिएको छ ।

असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गर्नेलगायत कार्यक्रम निर्धारण गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।  यसैगरी, असोज ३ गते संविधान दिवसको मूल समारोह कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीसहित बिहान प्रभातफेरी  गरिने र राप्ती उपत्यका देउखुरीमा मूल समारोह आयोजना गरिने जनाइएको छ । असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयलय सम्बद्ध सरोकारवालाको समन्वयमा वृक्षारोपण गरिने छ । त्यस्तै, संविधान कार्यान्वयनको पहिलो दशक : उपलब्धि र चुनौती विषयमा विज्ञसँग छलफल कार्यक्रम सञ्चालन गर्ने, जसका लागि फेडरलिजम एन्ड लोकलाइजेसन सेन्टरसँग समन्वय गर्ने निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

 तीन दिनसम्म प्रदेश भित्र विभिन्न कार्यक्रम आयोजना गरिने छ । ती तीन दिन आम नागरिकलाई आ–आफ्नो घरमा दीपावली गर्न पनि प्रदेश सरकारले आह्वान गरेको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन लागिएको मूल समारोह समितिले जनाएको छ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ  देशैभर स्मरणीय र हर्षोल्लासका साथ मनाउन लागिएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update