Shittalpati
आत्महत्या गर्नबाट बचाऔं

विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ मूल नाराका साथ यसवर्षको विश्व आत्महत्या रोकथाम दिवस मंगलबार मनाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष आठ लाख  भन्दा बढी व्यक्तिहरूले आत्महत्या गर्ने गरेको पाइएको छ, तर विभिन्न अध्ययनहरूमा यो संख्या वास्तविकभन्दा कम रहेको जनाइएको छ । नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन् । पाल्पामा मात्र पछिल्लो तीन आर्थिक वर्षमा दुई सय ४९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

सामान्य अर्थमा आफैले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । आफैलाई हानीनोक्सानी गर्ने सोंचविचार, आशय, आवेग, प्रयास र त्यसबाट ज्यान जाने अवस्था आफैमा दुःखद् छ । यद्यपी मानिसले सिधै आत्महत्याको बाटो रोज्दैन । उसले कहि कतैबाट सहयोग र साथ नपाएपछि मात्र यो बाटो रोज्न बाध्य भएको अध्ययनहरुबाट प्रष्ट हुन्छ । आत्महत्या गर्नुपूर्व त्यो व्यक्तिले ‘मलाई बचाओ’ भनेर संकेत गरिरहेको हुन्छ । तर, हामी मरिसकेपछि ‘कायर रहेछ’ भनेर गाली गर्छौं, जिउँदैमा उसको आर्तनाद बुझ्दैनौं । कुनै पनि व्यक्तिले आत्महत्या गर्नुका पछाडी धेरै कारण हुन सक्छन् । विशेषगरी मनमा असह्य पीडा बढ्दै गएपछि त्यस्ता व्यक्तिले आफूलाई नितान्त एक्लो ठान्न थाल्छन् । बाँच्ने इच्छा र चाहना क्रमशः घट्दै जाँदा उनीहरूले आफूलाई बचाउने भित्रभित्रै धेरै प्रयास गरे पनि अन्तमा त्यो बाटो रोज्न बाध्य हुन्छ । यदि हामीलाई कसैले आत्महत्या गर्ने सोच बनाइरहेको जानकारी भएमा तत्काल ठोस कदम चाल्न जरुरी छ ।

यस्तो सोच आफैं हराएर जान्छ भनी अनुमान गरी कुनै कदम नचाले निजले आफूलाई हानि पुर्‍याउने एवं आत्महत्या गर्नसक्ने सम्भावना रहन्छ । त्यसैले आत्महत्या सम्बन्धी सोचविचारसँग जुधिरहेका मानिसहरूसँग समय बिताउने, एक्लै नछोड्ने अनि सद्भाव र सहारा दिई उनीहरूको मनको कुरा गैरआलोचक भएर सुन्नाले उनीहरूलाई सहज महसुस हुन्छ । आफ्नो निकट जोकोहीले आत्महत्या गर्ने सोच बनाइरहेको थाहा पाउँदा हामीलाई निकै असजिलो र अप्ठ्यारो महसुस हुनसक्छ । तर यस्तो समयमा सुझबुझ राखी सही सहयोग र व्यवहार गर्नसके हामीले कसैलाई आत्महत्या गर्नबाट बचाउँदै फेरि जीवन निर्वाह गर्न प्रेरित गर्न सक्छौं । तसर्थ सबैले यसतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update