पाल्पा, गिद्ध प्रकृतिका कुचिकार मानिन्छन् । मरेका सिनो खाएर गिद्धले वातावरण स्वच्छ राख्न मद्धत गर्छ । पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न पनि गिद्धको महत्वपूर्ण भूमिका रहने गर्छ । गिद्धहरुले मरेको पशुपन्छीको सिनो खाएर वातावरण दुर्गन्ध हुनबाट जोगाउँछन् । तर, पछिल्लो समयमा पाल्पामा यिनै प्रकृतिका कुचिकार मानिने गिद्धहरु लोप हुँदै गएका छन् । गिद्ध प्रकृतिको एक अभिन्न अंग रहे पनि त्यसको संरक्षणमा कसैले पनि चासो नदिदा लोप उन्मुख अवस्थामा पुगेको पाइन्छ । जिल्लामा गिद्ध लोप हुँदै जान थालेपछि चिन्ता व्यक्त गरिएको छ । जिल्लाको तानसेन नगरपालिका –९ मा रहेको अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति र पंक्षी संरक्षण संघले संयुक्त रुपमा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले गिद्धको संरक्षण नहुँदा लोप हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले मानवकै कारण गिद्ध लोप हुन थालेकाले त्यसको संरक्षण्मा समेत मानिस आफैले चासो देखाउनु पर्नेमा जोड दिए ।
कार्याक्रममा डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराईले गिद्धको वासस्थान माथि नै वन्य जन्तुले नोक्सान गर्दा वनबाट गिद्ध लोप हुने अवस्थामा पुगेकोमा पुनः संरक्षणका लागि एक जुट हुनु पर्ने समय आएको बताए । ‘गिद्ध वातावरणको अभिन्न अंग हो । यिनीहरु अहिले संकटमा छन् । सबै सरोकारवालाहरुले गिद्धको संरक्षणमा ध्यान दिन जरुरी छ,’ उनले भने । गिद्ध संरक्षणमा एक जनाले मात्र नभई समुदायस्तरको पनि उतिकै भूमिका रहने हुनाले यसतर्फ सबै सचेत हुनुपर्नै प्रमुख भट्टराईको भनाई छ । उनले गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको वासस्थानमा ह्रास आएको बताए । तानसेन नगरपालिका प्रवक्ता यादव सिंह कार्कीले गिद्ध पछिल्लो समयमा हराउँदै जाँदा वातावरण समेत प्रदुषित हुँदा मानव जातीमा रोग व्याधी बढ्दै गएको भन्दै गिद्ध संरक्षणतर्फ लाग्नु पर्नेमा जोड दिए । उनले पर्यापर्यटन र जैविक विविधता अध्ययन गर्ने तथा गिद्ध अवलोकनका लागि पछिल्लो समय विदेशी तथा स्वदेशी पर्यटक बाक्लो रूपमा आउने गरेकाले पनि गिद्ध संरक्षणमा सबैले चासो राख्नुपर्ने जिकिर गरे । प्रवक्ता कार्कीले पाल्पाको सम्भावना भनेको कृषि र पर्यटन भएकाले यसको विकासका लागि नगर सरकारले सामुदायिक वनसँग सहकार्य गर्ने बताए । वडा अध्यक्ष राजेश कुमार अर्यालले गिद्ध संरक्षणमा नयाँ सोच बनाएर अगाडि बढ्नु पर्ने बेला आएको उल्लेख गरे । उनले गिद्ध संरक्षणका लागि तीनवटै तहका सरकारले कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक रहेको औल्याए । अध्यक्ष अर्यालले भने ‘पर्यावरण जोगाउन गिद्धको ठूलो भूमिका छ,त्यसको संरक्षणका लागि तीनै तहका सरकार र नागरिकले समेत ध्यान दिनु अहिलेको आवश्यकता हो ।’ कार्यक्रममा वन समूहका पूर्व अध्यक्ष बुद्धराज बस्यालले वन्यजन्तु नियन्त्रणतर्फ सरकारले उचित निर्णय नलिए गाउँका सबै बस्ती खाली हुने बताए । उनले तीनै तहका सरकारले वन्यजन्तु नियन्त्रण सम्बन्धी कानुन ल्याउनु पर्नेमा जोड दिए । माडव्य बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रुद्र बस्यालले पर्याप्त मात्रामा पाइने गिद्ध बाँदरका कारण यहाँबाट हराउन पुगेको बताए । उनले भने ‘बाँदरले गिद्धको गुड भत्काउने, पिट्ने गर्दा पनि यहाँबाट गिद्धहरु अन्यत्र गए ।’ बादर नै मुख्य समस्याका रुपमा देखा परेकाले सरकारले बाँदर नियन्त्रणतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । समूहका अध्यक्ष लोकनाथ घिमिरेले गिद्ध संक्षणमा वन उपभोक्ता समूहले चासो दिएको उल्लेख गरे ।
चुच्चो, नांगो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठूलै भूमिका भएको पक्षी हो । यसको ठूलो धार्मिक महत्व पनि छ । गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ । धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइए पनि गिद्ध संरक्षणमा चुनौती देखिएको छ । गाउँघरमा पशुचौपायालाई दुःख दिने कुकुर, स्याल, चितुवा जस्ता प्राणीलाई मार्न विष हाल्ने प्रचलनले पनि समस्या थपेको छ । विषादीको कारण मरेका पशुचौपाया खाँदा गिद्ध पनि मर्ने गरेका छन् । त्यस बाहेक गिद्धका विभिन्न पक्षको वैज्ञानिक अनुसन्धान, प्रजनन् केन्द्रबाट प्राकृतिक वातावरणमा छाडिएका गिद्धको अनुगमन, सुरक्षित आहारको व्यवस्था, वासस्थान संरक्षणका काम प्रभावकारी नहुँदा पनि चुनौती थपिएको छ ।