Shittalpati
प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउको प्रयास : महासंघद्वारा गम्भीर ध्यानाकर्षण

 पाल्पा, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रततामाथि गम्भीर आघात पुगेको भन्दै महासंघले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

समाचारको विषयलाई लिएर प्रहरीको साइबर व्यूरोले पक्राउको प्रयास गरेपछि महासंघले आपत्ति जनाएको छ । ‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

विहीबार साइबर ब्युरोबाट खटिएको प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न हार्दिक होटलमा पुगेको थियो । बस्नेत सो होटलमा एउटा कार्यक्रममा सहभागी भइरहेका थिए । प्रहरीले पक्राउ गर्न खोजेपछि पत्रकारहरुले प्रतिवाद गरेको महासंघका महासचिव रोसन पुरीद्वा जारी विज्ञप्तिमा उल्लेख छ । बस्नेतले सञ्चालन गर्ने जनता पोस्ट नामक अनलाइनमा साउन महिनामा प्रकाशित एक समाचार र तस्विरलाई लिएर उनीमाथि साइबर ब्युरोमा उजुरी परेको थियो । त्यसकै अनुसन्धानका लागि उनलाई पक्राउ गर्न खोजिएको बुझिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update