तानसेन, नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशले पाल्पामा आएर रणनीतिक योजना बनाउन थालेको छ । चेम्बरले विहीबारदेखि पाल्पाको तानसेनमा कार्यशाला गोष्ठी आयोजना गरी त्रिवर्षीय योजना बनाउन लागेको हो ।
चेम्बरमा नयाँ नेतृत्व आएसँगै आगामी ३ बर्षका लागि कार्ययोजना तयार पार्न कार्यशाला आयोजना गरिएको जनाइएको छ । कार्यशालाको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले सिङ्गो पाल्पाको पर्यटन र ब्यवसायिक प्रवद्र्धनका लागि सहयोग गर्न आह्वान गरे । स्वास्थ्य,शिक्षा र ब्यवसायका लागि तानसेन ऐतिहासिक हब हुँदा हुँदै पनि पछाडी परेकोमा चिन्ता ब्यक्त गर्दै उनले सबैको सहयोगले मात्र तानसेनको पर्यटनको विकास गर्न सकिनेमा जोड दिए । बुटवल – पोखरा ६ लेन सडक निर्माण सम्पन्न हुँदासम्म तानसेन र आसपासका पर्यटकीय क्षेत्रमा पर्यटन पुर्वाधारहरु निर्माण गरेर लाखौं पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको नगर प्रमुख श्रेष्ठले धारणा व्यक्त गरे ।
चेम्बर लुम्बिनीका अध्यक्ष टङ्क पोख्रेलले आगामी ३ बर्षभित्र लुम्बिनी चेम्बरले अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रादेशिक, जिल्ला र पालिकास्तरिय कार्यक्रम आयोजना गर्ने गरी रणनीतिक योजना बनाउने बताए । अघिल्लो कार्यकालमा चेम्बरलाई विस्तार गर्ने अधिकांस काम भएकाले अबको ३ बर्ष उद्योगी, ब्यवसायीको अभिभावक संस्थाको रुपमा विकास गर्ने उनले उल्लेख गरे । चेम्बरले तीनै तहका सरकारहरुसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउँदै त्यसका लागि साथ र सहयोग आवश्यक रहेको अध्यक्ष पोखरेलले बताए ।
कार्यक्रममा चेम्बर लुम्बिनीका वरिष्ठ उपाध्यक्ष श्रीधर महराले ब्यवसायिक हकहितका लागि चेम्बरले सक्रिय भएर लाग्ने धारणा व्यक्त चेम्वरले परम्परागत भन्दा माथि उठेर रचनात्मक ढंगले अगाडि बढ्ने उल्लेख गरे । कार्यक्रममा चेम्बर लुम्बिनीका महासचिव शिव ज्ञवाली,उपाध्याय जे.पि कडेले लगायतले भावी योजनाका बारेमा चर्चा गरेका थिए । प्रशिक्षक मुकुन्द ज्ञवालीले चेम्बर लुम्बिनीले आगामी ३ बर्ष गर्न सक्ने गतिविधिलाई कसरी पृथक बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण गरिरहेका छन् । कार्यक्रममा चेम्बर प्रदेशका कार्यसमिति, विभिन्न जिल्ला र नगरकार्यसमितिका अध्यक्षहरु सहभागी भएका छन् ।