Shittalpati
तानसेनमा ‘पैरवी समूह’ गठन

पाल्पा, तानसेनमा पैरवी समूह गठन भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारका पक्षमा वकालत, बहस तथा समन्वय र सहकार्य गर्ने उद्देश्यले परिलक्षित संस्थाले पैरवी समूह गठन गरको हो ।

परिलक्षित संस्थाको एक भेलाले सिर्जनशिल अपाङ्ग स्वालम्बन केन्द्रका अध्यक्ष सन्दीप भट्टराईको संयोजकत्वमा १२ सदस्यीय पैरवी समूह गठन गरेको छ । जसको सदस्यमा राधेश्याम ज्ञवाली, पत्रकारहरु माधव अर्याल, मिलन विश्वकर्मा, मुक्तिप्रसाद न्यौपाने, अधिवक्ता शिवप्रसाद देवकोटा, निलकण्ठ देवकोटा माया नेपाल, लक्ष्मी ज्ञवाली, पद्मा भट्टराई, गणेश विष्ट, प्रेम थापा रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा सिंजालीले उद्देश्यअनुरुप काम गर्न नवगठित समूहलाई आग्रह गरिन ।  उनले अपाङ्गता भएका व्यक्तिहरुका लागि पैरवी अवाश्यक रहेकाले समूहले त्यसतर्फ रचनात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिइन् । उपप्रमुख सिंजालीले लक्षित वर्गसम्म पुगेर कार्यक्रम गर्न संस्थालाई आग्रह गरिन् । आफूले निरन्तर कार्यक्रमको अनुगमन गर्ने र प्रभावकारी भएमा नगरपालिकाले पनि साझेदार गर्ने उनले उल्लेख गरिन् ।

परिलक्षित कार्यक्रमका कार्यकारी निर्देशक सूर्य थापाले अपांगता भएका व्यक्तिलाई प्रत्यक्ष लाभ हुने गरी कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले शिक्षा र आयआर्जनमूलक क्षेत्रमा परियोजनाले काम गर्दै आएको धारणा व्यक्त गरे । संस्थाले जिल्लाका तानसेन नगरपालिका, रामपुर नगरपालिका, रम्भा गाउँपालिका र तिनाउ गाउँपालिकामा कार्यक्रम गर्दै आएको छ । अपांगता भएका व्यक्तिको आयआर्जनमा टेवा पुग्ने कार्यक्रम सञ्चालन हुने अध्यक्ष थापाले बताए ।  उनले भने ‘अहिले समूह सञ्चालन र व्यक्तित्व विकासका लागि तालिम दिएका छौं । पछि क्रमशः उनीहरूको माग र आवश्यकताको आधारमा आर्थिक सहयोग गर्ने छौं । ’ बाख्रा, कुखुरा, बंगुर, व्युटिसियन, सिलाईकटाई, पसल सञ्चालनका लागि सहयोग गरिने समेत उनले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update