Shittalpati
पाल्पाको रामपुरमा एकादशी र औँशीमा पशुपंक्षी ‘वध’ गर्न नपाइने

पाल्पा, जिल्लाको रामपुर नगरपालिका भित्र औँशी र एकादशीका दिन पशुपंक्षी वध गर्न नपाइने भएको छ । नगरपालिकाले धार्मिक आस्था र परम्परा तथा स्वास्थ्यलाई दृष्टिगत गरी  उक्त दिन पशुपंक्षी वध गर्न नदिने भएको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्‍याउन र स्वास्थ्यका लागि औँशी र एकादशीका दिन पशुपंक्षी वध नगर्न अनुरोध गरेको छ । ‘औँशी र एकादशीका दिनमा पशुपंक्षी वध नगर्दा धार्मिक सहिष्णुता र सदभाव पनि कायम हुने धार्मिक आस्थामा पनि असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने हुँदा एकादशी र औँशीको दिनमा पशुपंक्षी वध नगर्न नगराउनु हुनका लागि यो सूचना प्रकाशन गरिएको छ’ –सूचनामा भनिएको छ । 
एकादशी र औँशीमा पशुपंक्षी वध गर्दा धार्मिक आस्थामा असर पुगेको भन्दै रामपुर नगरपालिकाको कार्यालयमा जनगुनासो बढेपछि नगरपालिकाले यस्तो निर्णय गरेको नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले बताए । यससंगै रामपुर नगरपालिका क्षेत्र भित्र एकादशी र औँशी तिथिका दिन कुनै पनि व्यक्ति र समुदायले पशुपंक्षी वध गर्न नपाउने प्रवक्ता खाँणले जानकारी दिए । नगरपालिकाको निर्णय र सूचनालाई वेवास्ता गरि एकादशी र औँशीमा पशुपंक्षी वध गरेको पाईएमा कारवाही गरिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले बताए ।

रामपुर नगरपालिका आफैमा धार्मिक महत्वको क्षेत्र भएकाले धार्मिक सद्भाव संगै मानवीय स्वास्थ्यका लागि एकादशी र औँशी तिथिमा पशुपंक्षी वध नगर्ने निर्णय गरेको नगर प्रमुख रमण बहादुर थापाले बताए । धार्मिक साँस्कृतिक परम्परा अनुसार एकादशी र औँशीको दिनमा पशुपंक्षी वध गर्न नहुने भन्ने मान्यता समेत रहेको र स्वास्थ्यका लागि पनि फाइदा हुने भएकाले उक्त दिनहरुमा पशुपंक्षी वध नगर्न नगर प्रमुख थापाले आग्रह समेत गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update