Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रोहिणी गाउँपालिका –६ औरहवा बस्ने ४० वर्षीया सुभावती हरिजनको बुधबार राती मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल फरार मोटरसाइकल चालकलाई प्रहरीले खोजी गरिरहेको छ । यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका –२ नारीघाटस्थित सडकमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ग.१ ख ७१४५ नम्बरको बस र बा.९१ प २४५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका(२ एक्लेफाँट बस्ने २८ वर्षीय अस्विन सुनारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आँबुखैरेनी अस्पतालमा उपचारको क्रमममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । साथै सोही बस पछाडी वीएवी ४६५० नम्बरको कार समेत ठक्कर खाई दुर्घटना भएको छ । बस तथा कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी तनहुँको ब्यास नगरपालिका–७ कलेस्ति बजारस्थित सडकमा बलेरो जिपको ठक्करबाट  पैदलयात्रीको मृत्यु भएको छ । ग.३ च १२१९  नम्बरको बलेरो जिपको ठक्करबाट  पैदलयात्री सोही नगरपालिका–७ कलेस्ति बस्ने धादिङ गजुरी नगरपालिका –३ घर भएकी शान्ता श्रेष्ठको छोरी २ वर्षीया दिप्सा श्रेष्ठको  मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update