Shittalpati
श्रमदानबाट बन्यो ‘कल्भर्ट’

तुलसीपुर (दाङ), यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम थियो । 

त्यसैलाई मध्यनजर गरी सोही ठाउँमा श्रमदान गरेर स्थानीयले कल्भर्ट निर्माण गरेका छन् । पटक–पटक ह्युमपाइप बगाउने हुँदा त्यसलाई अड्याउनका लागि ग्याविन जाली हालिएको वडाध्यक्ष तुलसी थापाले बताईन् । ‘पटक–पटक हामीले त्यहाँ ह्युमपाइप राख्छौँ, तर अलिकति ठूलो खोला आउँदा बगाइदिने भएकाले यसपटक ग्याविन जाली हालेका छौँ’, उनले भनिन् । वडाध्यक्ष थापाले सबैलाई श्रमदान गर्न आह्वान गरेपछि श्रमदान गरेर उक्त ह्युमपाइप अड्याउन ग्याविन जाली निर्माण गरिएको हो । त्यहीँ खोला हुँदै दीपेन्द्र आधारभूत विद्यालय घोरानेटीमा विद्यार्थी पढ्न जाने गर्छन् । स–साना विद्यार्थीलाई निकै जोखिम हुने भएकाले विद्यालयका शिक्षकले पनि श्रमदान गरेको वडाध्यक्ष थापाले बताईन् । त्यहाँ कलभर्ट राखेपछि आवतजावतमा सहज भएको छ । विद्यार्थी पनि सहजै आउन सक्ने भएको वडाध्यक्ष थापाको भनाइ छ । विकासका लागि मुख ताक्नेभन्दा पनि एकताबद्ध भएर समस्याको समाधान गर्नतर्फ स्थानीय पनि जागरुक हुनुपर्ने वडाध्यक्ष थापाको भनाइ छ । ‘विकासका लागि सरकारकै मुख ताक्नुपर्छ भन्ने छैन’, उनले भनिन्, ‘केही–केही कुरा त स्थानीयको एकता भएमा आफैँ पनि गर्न सकिन्छ भन्ने उदाहरण दिन यो कार्य गरिएको हो ।’ जनताको एकता पनि विकासको आधार रहेको अध्यक्ष थापा बताउन्छिन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update