Shittalpati
राष्ट्रिय बालदिवसको औचित्य

आज ६० औँ राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा विसं २०२१ बाट बाल दिवस मनाउन थालिएको भएपनि २०६३ सालदेखि यसले देशैभर व्यापकता पाएको थियो । २०६३ साल अघिसम्म भदौ ४ मा मनाइने गरिएको बाल दिवस विगत १८ वर्षयता भदौ २९ गते मनाउन थालिएको छ । बाल दिवसलाई बालबालिकाको आफ्नो दिवसको रूपमा मनाउने अवधारणाको साथ संयुक्त राष्ट्रसंघ बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई नेपालले १४ सेप्टेम्बर १९९० अर्थात् २९ भदौ २०४७ मा अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रूपमा मनाउने निर्णयअनुसार नै अहिले यो दिवस मनाउन थालिएको हो । बालदिवसको अवसरमा मूल नारा तय गरिन्छ अनि सो विषयमा केन्द्रित कार्यक्रमहरू भव्यताका साथ सम्पन्न गर्ने गरिन्छ । तर पनि आजसम्म बालअधिकारका कुरा भने नारामा मात्रै सीमित देखिएका छन् ।

बाल अधिकारको हनन् गर्न नहुने, बाल अधिकार सुनिश्चित गरिनुपर्ने, हरेक क्षेत्रमा बालबालिकालाई प्राथमिकीकरण गरिनुपर्ने जस्ता आवाज दिवसका दिन उठ्ने गर्छन् । तर यी र यस्ता आवाज केही समयका लागि गुञ्जिन्छन् र बिस्तारै बिलाएर जान्छन् । यस्तै पद्धतिबाट राष्ट्रिय बालदिवस मनाउने प्रचलन निकै लामो समयदेखि चलिआएको छ । यसो हुनु गलत हो । बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै आधाआधी जनसंख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रुपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो । कुनै पनि दिवस आफैमा एउटा परम्पराको रुपमा पनि लिन सकिन्छ । तर नयाँ दृष्टिकोण अपनाएर बालदिवस मनाउनुको औचित्यलाई बुझाउन सक्नुपर्दछ । बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं भन्ने पक्षले राष्ट्रिय बालदिवसको औचित्यलाई मापन गर्न सकिन्छ ।बालबालिकाको अधिकारलाई सुनिश्चित गर्नु राज्यको दायित्व हो । तर त्यो दायित्वबाट सरकार चुकेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताको अधिकारलाई सुनिश्चित गर्न सकिएन भने राष्ट्रिय बाल दिवस मनाउनुको औचित्य हुँदैन । तसर्थ सरकारी तवरबाटै बालअधिकार सुनिश्चित हुन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update