Shittalpati
तानसेनमा बढ्दै गएको निराशावाद ! परिणाम के होला ?

ग्रामीण विकासका लागि एउटा मान्यता वा भनाइ छ – यदी गाउँको विकास गर्नुछ भने नजिकको शहर वा सदरमुकामको विकास गर्न जरुरी छ वा ग्रामीण सुशासनका लागि शहरी सुशासन कायम राख्नु अत्यावश्यक हुन्छ । यो किन भनिएको हो भने ग्रामीण क्षेत्रबाट सरकारी सेवा, गैरसरकारी सहयोग वा व्यापार वा दैनिकी सञ्चालनका लागि आवश्यक वस्तुहरुको व्यवस्थापनका लागि शहर, बजार वा सदरमुकाम आउने जनताले देख्ने, सिक्ने र प्रभावित हुने भनेको यहीबाट हो । यसर्थ यो क्षेत्र बढी व्यवस्थित, विकसित, सु–संस्कृत, व्यवहारिक र सहयोगी व्यवहारका मूल्य र मान्यता अनि विकास, संरक्षण, सम्वद्र्धन, आम्दानीका नयाँ अभ्यास, बजारको सम्भावना, उत्प्रेरक गतिविधि र समृद्धिका असल अभ्यासहरुसँग साक्षत हुने एवं प्रभावित हुने अवसर दिन सक्नु पर्छ ।

यस्तो अवसरका लागि बजारमा निम्न आधारहरुले प्रभावित पार्ने देखिन्छ ।
१) बजारको संरचना, व्यवस्थित यातायात, बाटो, ढल, सार्वजनिक सौचालय, पिउने पानीको व्यवस्था, बजार मूल्य, खाद्यगुणस्तर आदी ।
२) सदरमुकामबाट प्राप्त हुने सेवा प्रवाह र स्थानीय सरकारमा सहजता र सरल व्यवहार अनि पहुँचमा सहजता ।
३) ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका साथै यसका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन अवस्था ।
४) बजारमा हुने समूहगत भेटघाट, बहस, छलफल, व्यक्तिगत सम्पर्क र छलफलमा सकारात्मकता, सिर्जनात्मकता, उत्प्रेरक र प्रेरणाजन्य एवं स्थानीय र राष्ट्रिय बहसका विषयमा नयाँ सोच अवधारणाको जानकारी एवं आचरण, व्यवहार र संस्कारको अवस्था ।

ग्रामीण क्षेत्रका वासिन्दाको बजारसँग जोडिएका चाहाना
ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनताका लागि बजार फगत खरिद विक्रिको थलो मात्र होइन, यसमा अझै सदरमुकाम पनि भएको अवस्थामा जनताले जिल्लास्तरिय सेवा कार्यालयबाट सेवा लिने मात्र पनि होइन । बजार जति सुन्दर र आकर्षक हुन्छ त्यसको प्रभाव अनगिन्ति देखिन्छ । बजार वा सदरमुकामलाई देख्ने र सिक्ने थलोको रुपमा पनि लिइन्छ । थकित मनलाई बहलाउने र मनोरञ्जन लिने अवसर पनि बजारबाट प्राप्त गर्ने मनोकाक्षा रहन्छ ।

भाषा, साहित्य, कला, संस्कृति, खेल र जीवनशैली रुपान्तरणको भित्रि इच्छा पुरा गर्न वा सहभागी हुनका लागि पनि बजार आउन चाहन्छन् । यहाँको बोलीचाली, व्यवहार र संस्कार सिक्ने र आफूलाई परिष्कृत बनाउने अवसर पनि खोजेर समय समयमा बजार तर्फको आकर्षण रहन्छ । प्रत्यक्ष भेटघाट छलफलबाट आफू खारिने मनसुवा पनि रहन्छ । यहाँ रहेका सार्वजनिक सम्पत्ति र सम्पदाहरुको संरक्षण र व्यवस्थापन अनि विकासको अवलोकन गर्ने चाहना पनि रहन्छ । यति मात्र होइन बाहिरबाट आउने पर्यटक वा बाहिर बस्ने जिल्लावासीहरुको अभिलाषा र अपेक्षा अझ बेग्लै हुन्छ । आफूले देखेका जानेका सुनेका अनुभव, ज्ञान र सिपको आदान प्रदान गर्ने र बजारको रुपान्तरण अभियानमा सामेल हुन र केही योगदान दिन चाहानेहरुको खोजी बेग्लै हुन्छ । यसै कारणले पनि बजारआउने अधिकाशंमा नयाँ–नयाँ जिज्ञासा हुन्छन् र सम्वद्धहरुसँग अभिव्यक्त गर्न चाहान्छन् वा गरेका हुन्छन् । 

अब चर्चा गरौं के तानसेनमा यस्ता अवसर उपलव्ध छन् की छैनन् ?
बजारमा आउनेहरु मध्ये सिमित संख्याका मात्र आफ्नो निश्चित काम सम्पन्न गरेर फर्किने हुन्छन् । अधिकाशं भने निजि कामका साथै आफू सम्वद्ध वा आवद्ध विभिन्न संघ, संगठन, समाज वा सामाजिक, सामुदायिक संस्थासँगको सम्पर्क रहने गर्छन् । त्यहीबाटै उनीहरु शिक्षित, प्रशिक्षित हुने वा सूचना लिने, जिज्ञासा राख्ने वा बुझ्न खोज्ने गर्छन् । किनकी उनीहरु चाहान्छन् त्यहाँबाट पाएको सूचना वा जानकारी बाट आफ्नो क्षेत्रमा पुर्‍याउन चाहान्छन्, परिवर्तन वा रुपान्तरणमा आफू पनि सहभागी हुन चाहान्छन् । तर दुर्भाग्यपूर्ण सत्य के हो भने उनीहरु सम्पर्क रहने सम्वद्ध संस्थाहरुवाट उत्साही हुने भन्दा पनि निरुत्साहित भएर पर्किनु पर्ने अवस्था रहेको टिप्पणी गर्दछन् । किनकी सम्पर्कमा रहने अधिकाशं संघ संस्था, संगठन वा मञ्चहरुबाट आफूले जानेको भन्दा बढी केही सिक्न नपाउने पिडा बोकेका हुन्छन् । यो तथ्य वा वास्तविकता यो टिप्पणीकारले पनि अनुभूति र अनुभव गरेको सत्य हो । विभिन्न संघ संस्था वा संगठनमा रहनेहरु मध्ये अधिकाशंका अभिव्यक्ति हुँदैन, सम्भव छैन, कसैले गर्दैन, असम्भव भन्ने धारणा बनाउनबाट सच्चिनु पर्दछ । विशेष गरी प्रभावित पार्ने पक्षहरुका बारेमा उल्लेख गर्नुपर्दा सामाजिक वा सार्वजनिक संस्थाहरुमा आवद्ध रहेका वा रहिसकेपछि आफ्नो आचरण, व्यवहार, संस्कारबाट धेरै प्रभावित हुन्छन् भन्ने हेक्का राख्नै पर्दछ , जुन अहिले अधिकाशंमा यो अभाव देखिन्छ । त्यति मात्र होइन जो जो जुनजुन सार्वजनिक पदमा रहेका र रहिसकेका हुन्छौं त्यस्ता प्रतिनिधिहरु त झनै जिम्मेवार बन्नै पर्दछ । हुँदैन, सम्भव छैन भन्ने मान्यता बोकेकाहरुलाई सम्भव छ, हामी सक्छौं र हामी गर्छौ भन्ने सन्देश प्रवाहमा ध्यान दिनै पर्दछ । संसारमा असम्भव भन्ने कही र केही छैन मात्र इच्छाशक्तिको खाचो रहेछ भन्ने उत्प्रेरकको उदारण बन्न जरुरी छ ।

कस्ले के गर्ने ?
संगठित संस्थाहरु सकारात्मक धारणा बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । सकारात्मक धारणा बनाउन, नयाँ सम्भावनाका बारेमा विवेचना गर्न, विभिन्न उपाय र पर्यत्नका बारेमा गतिला कुरा एवं अभ्यास सुन्न योगदान दिन सक्ने संस्थाहरुमा विभिन्न राजनीतिक दलहरु, सामाजिक संघ संस्थाहरु, व्यवसायिक प्रतिष्ठान सम्वद्ध संस्थाहरु, मानवीय सेवामा क्रियाशिल संस्थाहरु, निर्वाचित संस्था र सम्वद्ध प्रतिनिधिहरु, सञ्चार सम्वद्ध संस्थाहरु, चीया पसलहरु, सहकारी संस्थाहरु, कला, साहित्य सम्वद्ध संस्थाहरु, सेवा प्रवाह गर्ने संस्था आदीबाट धेरै प्रभाव पार्न सक्ने देखिन्छ ।

ग्रामीण विकासका लागि एउटा मान्यता वा भनाइ छ– यदी गाउँको विकास गर्नुछ भने नजिकको शहर वा सदरमुकामको विकास गर्न जरुरी छ वा ग्रामीण सुशासनका लागि शहरी सुशासन कायम राख्नु अत्यावश्यक हुन्छ । यो मान्यतालाई प्रभावकारी बनाउने हो भने बजारको मात्र होइन समग्र जिल्लाको विकासमा ठूलो भूमिका निर्वाह हुनेछ । यसर्थ तानसेनमा बढ्दो निराशावादलाइ सकारात्मकतातर्फ उन्मुख बनाउन तत्काल तत् तत् पक्षहरु सम्वेदनशिल बन्नु पर्दछ । नगरपालिकाद्धारा बजारको सुन्दर व्यवस्थापन गर्दै भएका सार्वजनिक/नीजि सम्पदाहरुको संरक्षण र व्यवस्थित उपयोगको आकर्षक उद्धारण स्थापित गर्न जरुरी हुन्छ । राजनीतिक दलहरुद्धारा नविन विचार, नविन अभ्यासका बारेमा चर्चा गर्ने, राजनीतिक सद्भाव, जातिय सद्भाव र परिचालनबाट समृद्धिका पक्षहरुमा चर्चा गर्ने र हरेक अभिव्यक्तिमा ३० प्रतिशत रानीतिक विषय वस्तुका बारेमा चर्चा र बाँकी ७० प्रतिशत स्थानीय समस्या, सम्भावना र उपायहरुका बारेमा चर्चा गर्ने परिपाटी सन्दर्भमा जानकारी गराउन र गर्न अभिप्रेरित गर्न सक्छन् । व्यवसायिक प्रतिष्ठान वा सम्वद्ध संस्थाहरुवाट क्षेत्रगत व्यवसायिक सम्भावना, अवसर र आर्थिक उन्नतीका विविध पक्षहरुमा गरिने चर्चालाई विशेष प्राथमिकता दिन जरुरी देखिन्छ ।

विकासका लागि स्थानीय जनताको सरोकार र सहभागिता जरुरी हुन्छ र त्यसका लागि हरेक नागरिकको भूमिका गहन रहन्छ भन्ने सन्देश गैरसरकारी संघ संस्थाहरुले प्रवाह गर्न सक्छन् । साहित्य र शिक्षा क्षेत्रसम्वद्ध संस्थाहरुद्धारा कला संस्कृति शिक्षाको माध्यमबाट रुपान्तरणका उल्लेख्य उदारण बारे चर्चा गर्न सक्छन् । शिक्षामा नयाँ अभ्यास, पद्धती, प्रभाव र भूमिका एवं योगदानका विविध व्यक्ति व्यक्तित्व र प्रयत्नका सन्दर्भमा उत्प्रेरणा दिन सक्छन् । मानविय सेवामा संलग्न संस्थाहरुबाट समाजमा मानवीय चेतनाको विस्तारबाट उदारणीय समाज निर्माणमा योगदान दिन सक्छन् । यसर्थ बजारमा नागरिक समाजका रुपमा प्रतिनिधित्व गर्दै विभिन्न अभिव्यक्ति दिने हरेकले यो बुझ्न जरुरी छ की तानसेन वा पाल्पा के कस्तो बनाउने, यसको पुरानो इतिहास र गरिमा कसरी पुनस्थापित गर्ने, नेपालमा पाल्पाको पहिचान कसरी गराउने भन्ने सन्दर्भमा बहसहरु बढाउने तर्फ तत्परता देखाउनु पर्दछ । यसका लागि राजनीतिक दल, विज्ञ विद्धान, नागरिक समाज, अध्येता, अनुसन्धानकर्ता, स्थानीय सरकार, नीति निर्माण तहमा रहेका व्यक्तित्व वा प्रसाशक, पूर्व प्रसासक, सम्वद्ध संस्था वा निकायमा रहेका व्यक्तिहरुको सामुहिक छलफल, अवधारणा, दस्तावेज र सो प्रतिको प्रतिवद्धता, सकल्प वा प्रतिज्ञा अब आशावादी, सिर्जनात्मक र रचनात्मक समाज निर्माणका लागि गर्न जरुरी छ । हरेक सचेत नागरिकहरुको जिम्मेवारी पनि हो की समाजमा नकारात्मकता, उदाशिनता, निराशा हटाउने कार्यमा मेरो भूमिका र योगदान रहन्छ भन्ने व्यक्तिगत प्रतिवद्धता समेत जरुरी छ । अन्यथा, उदाशिनता र निराशाजन्य समाजको एक सदस्यको रुपमा आफै पनि गणनायोग्य हुनु पर्ने परिणाम भोग्नु पर्नेछ ।
(लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन् । उनी पाल्पाको सम्पदा संरक्षण र पर्यटन प्रवर्दनमा सक्रिय छन् ।)

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update