पाल्पा, पाल्पामा चालु आर्थिक वर्षको पहिलो महिनामै राजस्व संकलन दोब्बर देखिएको छ । करदाता सेवा कार्यालय पाल्पाका अनुसार अघिल्ल्लो अर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरले राजस्व संकलन भएको हो ।
चालु आर्थिक वर्षको साउन महिनामा ८ करोड ३५ लाख ६९ हजार २ सय ९ बराबर राजस्व उठेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को साउन महिनाको तुलनामा यो दोब्बरले संकलन भएको हो । उक्त अवधिमा ४ करोड ८९ लाख २ हजार ७ सय ४१ बराबरको मात्र राजस्व संकलन भएको थियो । यस वर्ष साउन महिनामा सबै भन्दा बढी मूल्य अभिवृद्धि कर अन्तर्गत परामर्श तथा ठेक्का र आय करतर्फ व्यक्तिगत वा एकलौटी फर्मबाट राजस्व संकलन भएको कर कार्यालयले जनाएको छ । परामर्श तथा ठेक्कामार्फत ३ करोड ४७ लाख ४४ हजार ५ सय ९ र व्यक्तिगत वा एकलौटी फर्मबाट २ करोड ७१ लाख ३२ हजार ६८ बराबरको राजस्व संकलन भएको हो ।
कार्यालयले गत आर्थिक वर्ष २०८०/०८१ मा ५५ करोड ५४ लाख ३६ हजार १ सय ७२ राजस्व संकलन गरेको छ । यो लक्ष्यको ७५ प्रतिशत हो । गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा वृद्धि हुने देखिएको कार्यालय प्रमुख तथा कर अधिकृत सन्तोष सुवेदीले बताए । उनका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै उत्साजनक रुपमा करदाताहरुबाट कर संकलन भएकाले यस वर्ष राजस्वमा वृद्धि हुने भएको हो । गतवर्षदेखि कर शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउँदै लगेका कारण राजस्वमा वृद्धि हुँदै गएको कर अधिकृत सुवेदीको भनाई छ । उनले भने ‘हामीले ठाउँ –ठाउँमा पुगेर कर शिक्षा दिदै आएका छौं, त्यसको प्रभाव राजस्व संकलनमा देखिएको छ ।’ कर सम्बन्धी जनचेतना विस्तार भएर पनि व्यापारी/व्यवसायी क्रमशः करको दायरामा आउने क्रम बढेको प्रमुख सुवेदीले बताए । राज्यलाई कर तिर्नुपर्छ भन्ने मान्यताको विकास गराउन कार्यालयले सदरमुकाम र बाहिरका बजार केन्द्रीत ठाउँहरुमा कर शिक्षा दिने काम गरिरहेको छ । करको दायरामा आएपछि कमाई र पेशालाई कानुनी बैद्यता प्राप्त हुने र त्यसको माध्यमबाट बैंकिङ कारोबार गर्न सहज हुने भएकाले जनता स्वस्फुर्त कर दर्ता गर्न आउने क्रम बढेको उनले बताए । केही करदाताहरु अझै पनि शिक्षाको कमीका कारण करको दायरामा आउन नसकेकाले उनीहरुलाई स्थानीय सरकारसँग समन्वय गरेर ल्याउने काम कार्यालयले गर्दै आएको छ ।
जसका कारण पनि कर तिर्नेहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७९/०८० मा ४३ प्रतिशत करदाताहरु करको दायरामा आउन नसकेको अवस्थामा थियो । तर अहिले कार्यालयले शिक्षा, चेतनाका कार्यक्रमहरु नियमित गर्दै आएकाले अहिले त्यो दर ३७ प्रतिशतमा झरेको छ । सरकारले समेत अहिले करदाताहरुको सेवा सुविधालाई मध्यनजर गर्दै विभिन्न सहुलियत तथा छुटहरु ल्याएको छ । आर्थिक ऐन २०८१ ले विभिन्न छुट तथा सुविधा ल्याएको कार्यालयले जनाएको छ । लामो समयदेखि करयोग्य कारोवार गरी स्थायी लेखा नम्वर (पान) नलिएकाहरुलाई पान लिई आ.व २०७८/७९ र २०७९/८० को बुझाउनु पर्ने आयविवरण र सो मा लाग्ने कर २०८१ फागुन मसान्तरसम्म बुझाएमा सो मा लाग्ने शुल्क तथा व्याज मिनाहा हुने, पान लिई आयविवरण बुझाउन बाँकी करदाताले आय विवरण सो विवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको २५ प्रतिशत रकम २०८१ फागुन मसान्तरसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी व्याज समेत मिनाहा हुने करदाता सेवा कार्यालयले जनाएको छ ।
यस्तै २०८० अनुसार मसान्तरसम्म भ्याट विवरण पेश नगर्ने भ्याटमा दर्ता भएका करदाताले बुझाउनुपर्ने कर विवरण सो विवरण अनुसारको भ्याट र सोमा लाग्ने व्याजको ५० प्रतिशतले हुने रकम २०८१ फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी व्याज मिनाहा हुने पनि जनाइएको छ । जिल्लामा हालसम्म ४२ हजार ८ सय १९ करदाता रहेका छन् ।
सन्तोष सुवेदी
कर अधिकृत, कर कार्यालय, तानसेन, पाल्पा
गतवर्षदेखि कर शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउँदै लगेका कारण राजस्वमा वृद्धि हुँदै गएको छ । हामीले ठाउँ –ठाउँमा पुगेर कर शिक्षा दिदै आएका छौं, त्यसको प्रभाव राजस्व संकलनमा देखिएको छ । कर सम्बन्धी जनचेतना विस्तार भएर पनि व्यापारी/व्यवसायी क्रमशः करको दायरामा आउने क्रम बढेको हो ।