Shittalpati
रामपुर नगरपालिकाले मनायो राष्ट्रिय बाल दिवस

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरी मनाएको छ । नगरपालिकाको शिक्षा शाखाले शनिबार विभिन्न प्रतियोगितासहित विद्यार्थीहरुलाई सम्मान गर्दै ६० ‍औँ राष्ट्रिय बाल दिवस मनाएको हो ।

उसले एसइई परीक्षा २०८० मा सहभागी भई ३.६ वा सो भन्दा बढी जिपिएका साथ उत्तिर्ण हुने ३५ जना विद्यार्थीहरुलाई नगद र सम्मान पत्रले सम्मान गरेको छ । यस्तै दिवसमा अवसरमा माविस्तरीय वादविवाद प्रतियोगिता, आधारभूत तहस्तरीय वतृत्वकला प्रतियोगिता, प्रावि तहस्तरीय हाजिरिजवाफ प्रतियोगिता र चित्रकला प्रतियोगिता समेत भएका छन् । विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख तथा कार्यवहाक नगर प्रमुख बालकुमारी थापाले हरेक बालबालिका र विद्यार्थीको भविष्य शिक्षक र अविभावकमा निहित हुने बताइन् । बालबालिकाको उज्ज्यवल भविष्यका लागि घर र विद्यालय दुवैमा बालमैत्री वातावरण बनाउन आवश्यक रहेको उनले उल्लेख गरिन् ।

उपप्रमुख थापाले हरेक बालबालिका कमजोर र क्षमतावान बनाउनका लागि अविभावकले सिर्जना गर्ने शैक्षिक वातावरण र शिक्षकको सिकाईमा भर पर्ने भएकाले शिक्षा र सिकाईका लागि उचित वातावरण बनाउनुपर्ने बताइन् । उनले बालबालिकाको अधिकार र शिक्षालाई सुनिश्चित गर्नका लागि नगर सरकार सधैँ प्रतिवद्ध भएर लागेको भन्दै रामपुर नगरपालिकामा बालमैत्री स्थानीय शासन लागु गर्ने तयारीमा रहेको समेत जानकारी दिइन् । बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि सबै लाग्नुपर्नेमा उनले जोड दिइन् । यस्तै सामाजिक विकास समितिका संयोजक सिमादेवी थापाले बालबालिकाको सर्वाङ्गिण विकासका लागि नगरपालिकाले विविध कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा अझ बढी प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्ने बताइन् ।

यस्तै रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले हरेक बालबालिका तथा विद्यार्थीलाई निश्चित नतिजाको आधारमा दवाव र सजाय दिन नहुने भन्दै उमेर र समय अनुसार हरेक सिकाइमा सफल हुने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका शिक्षा समिति सदस्य तथा रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बालबालिकाको प्रतिभा पहिचानको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै सम्मानित तथा प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई बधाई सहित शुभकामना दिए  ।

यस्तै दिवसको अवसरमा भएको मावि तह स्तरीय वादविवाद प्रतियोगितामा प्रथम गंगा माध्यमिक विद्यालय रामपुर ८ पाल्पाका श्रेया आचार्य, द्धितिय जनकल्याण माध्यमिक विद्यालयका स्वरुपराज खनाल, तृतिय भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुलका सक्षम बस्ताकोटी र सान्तवना रामपुर अंग्रेजी माध्यमिक विद्यालयका रुपेश थापा र रामतुलसी माध्यमिक विद्यालयका विवशा घिमिरे भएका छन् । यस्तै आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा गेझा सनराईज बोर्डिङ स्कुल रामपुर १० पाल्पाका सुरक्षा गौडेल, द्धितिय दरैठाँटी माध्यमिक विद्यालयका कुशल सिग्देल, तृतिय रामतुलसी माध्यमिक विद्यालयका नमुना न्यौपाने र सान्त्वना भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुलका सुस्मिता खत्री भएका छन् । यसैगरी प्राथमिक तह स्तरीय हाजिरिजवाफ प्रतियोगितामा दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुर ,द्धितिय रामतुलसी माध्यमिक विद्यालय रामपुर ५ वेझाँड, तृतीय गंगा माध्यमिक विद्यालय रामपुर ८ एक्लेटार र सान्त्वना भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुल रामपुर ५ मटेरी भएको छ ।

यस्तै कक्षा १ देखि ३ सम्मको चित्रकला प्रतियोगितामा प्रथम बालासिद्ध प्राथमिक विद्यालयका मिलन श्रेष्ठ, द्धितिय दरैठाँटी माध्यमिक विद्यालयका विहानी ढकाल, तृतीय रामपुर आधारभूत माध्यमिक विद्यालयका शुष्मा मोक्तान र तृतीय भूपु सैनिक राइजिङ इङ्गलिस बोर्डिङ स्कुलका रोजित मल्ल भएका छन् । प्रतियोगितमा विजयी विद्यार्थीहरुलाई नगद र प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो । रामपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाको अध्यक्षता, नगर शिक्षा अधिकृत विकल काफ्लेको स्वागत, शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update