Shittalpati
पाल्पाको पर्यटन विकासका लागि  अगाडि सर्नुहोस्, लगानी हामी गर्छौ : अध्यक्ष ढकाल

पाल्पा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाको पर्यटकीय विकासका लागि अग्रसर हुन जिल्लावासीलाई आग्रह गरेका छन् । शनिबार पाल्पा उद्योग वाणिज्य संघको ७० औं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै  यहाँका पर्यटकीय विकासका लागि सम्भावित क्षेत्रको खोजी गरी अगाडि बढ्न उनले जिल्लाका उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन् ।

प्रमुख अतिथि समेत रहेका ढकालले भने‘ पाल्पाको पर्यटकीय विकासका लागि यहाँका सम्भावित क्षेत्रहरु खोजी गरी  के मा लगानी गर्नुपर्ने हो, तपाईहरुले भन्नुहोस्, हामी लगानी गर्न तयार छौं ।’ उनले सम्भावित क्षेत्रका स्थानीयहरु अगाडि सरेर लगानी क्षेत्रको पहिचान गरे लगानी गर्न आफुहरु तयार रहेको उल्लेख गरे । ‘ यहाँका पर्यटकीय स्थलहरु जहाँ केवलकारको सम्भावना छ, जहाँ होटलको सम्भावना छ, जहाँ करुवा, ढाकाको उत्पादन र कृषिको सम्भावना छ । तपाईहरु यो प्रोजेक्ट राम्रो छ, अगाडि  बढाउनुपर्‍यो भन्नुहोस् म लगानीको लागि उद्योग वाणिज्य संघको अध्यक्षको तर्फबाट र उद्यमीको तर्फबाट कहाँ के मा गर्नुपर्ने हो ? हामी  तयार छौं’ अध्यक्ष ढकालले भने । उनले सानो पुँजीलाई कलेक्टिपस हिसावले राख्न भन्दै यहाँको सम्भावित क्षेत्रमा स्थानीयको समेत लगानी राखी अगाडि बढ्न उद्योगी व्यवसायीलाई आग्रह गरे । तानसेनमा केवलकार सञ्चालन गर्ने कुरा भएकाले उनले त्यसमा स्थानीयस्तरबाट थोरै धेरै लगानी गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ढकालले भने ‘ केवलकार सञ्चालनका लागि यहाँहरुले २०/३० प्रतिशत कति लगानी गर्न सक्नुहुन्छ गर्नुहोस् बाँकी लगानी जुटाउने काम उद्योग वाणिज्य महासंघको तर्फबाट मैले गर्छु ।’ 
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत जिल्ला नगर अध्यक्ष कृष्ण बैद्यले ब्यवसायिका समस्या समाधान गर्न महासंघ निरन्तर  लाग्दै आएको  बताए । उनले भने ‘ब्याज घटाउने कुरामा महासंघले काम गरेको छ , नापतौल नविकरणको समस्या समाधानमा काम  भइरहेको छ ।’ उनले मुलुकको आर्थिक सूचकांकमा अहिले सुधार आएको बताए । बैद्यले भने ‘रेमिटान्स बढेको छ, पर्यटकहरु पनि बढेका छन् तर पनि व्यापार ब्यवसाय राम्रोसँग चलायमान हुन  भने सकेको छैन,  महासंघले गर्नुपर्ने काम गरिसकेकाले अब सरकारले गर्नु पर्ने  अवस्था आएको छ ।’ उनले पछिल्लो समय स्थानीय  सरकारले मेला महोत्सव लगाएको प्रति लक्षित गर्दै भने ‘स्थानीय सरकारको काम मेला महोत्सव  गर्ने होइन् त्यो त उद्योग वणिज्य संघले गर्छ । ’ महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्रको स्पष्ट मार्ग नहुँदा अहिले समस्या आएको उल्लेख गरे । उनले अहिलेको अवस्थामा स्थानीय सरकारले उद्योग वाणिज्य संघलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताए ।  

महासंघका केन्द्रीय सदस्य मोहनप्रसाद श्रेष्ठले अहिलेको युग परिवर्तनको युग भएको बताए । उनले एकले अर्कोलाई आरोप लगाउने  भन्दा पनि सकारात्मक सोंचका साथ सबै एक जुट भएर काम गर्ने बेला आएका उल्लेख गरे । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजुु महर्जनले हाम्रै कारण पाल्पाको शिक्षा स्वास्थ्य ,व्यसवायी  चलायमान हुन नसकेको बताए । उनले पाल्पाको विकास  गर्न भिजन सहितको नेतृत्व आउनु पर्ने भन्दै राजनीति सोंच त्यागेर विकासमा लाग्न राजनीतिक दलहरुलाई आग्रह समेत गरे । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पामा सम्भावना नै सम्भावना भए पनि गलत सोंचका कारण समस्या आएको धारणा व्यक्त गरे । उनले भने‘ पाल्पा, दूध अदुवा र तरकारीमा आत्मनिर्भर छ तर यहाँ केही छैन् भन्ने भाष्य निर्माण गरिएको छ , जुन गलत हो ।’ सभापति श्रेष्ठले सकारात्मक सन्देश फैलाउन जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोसनी धौवाज, नेकपा एमालेका जिल्ला उपाध्यक्ष विमल काफ्ल्े,  नेकपा माओवादीका प्रदेश सचिवालय सदस्य जितबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रमेश न्यौपाने, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुंवर, नेकपा समाजवादीका जिल्ला उपाध्यक्ष मोहनलाल गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव नरमती सिंजाली, प्रमुुख जिल्ला अधिकारी आनन्द काफ्ले, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष भरत शर्मा, नर्सिंङ्ग स्कूल अप हेल्थ साइन्सका प्रिन्सिपल सकुन्तला थान्जु लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

संघका अध्यक्ष शैलेन्द्र भट्टराईले देशभित्रको राजनीतिले स्पष्ट खाका कोर्न नसकिरहेको अवस्थामा नीजि क्षेत्रले उद्योग, व्यवसाय क्षेत्रमा लगानी मैत्री वातावरण बनाउँदै आर्थिक, सामाजिक रुपान्तरणबाट देशको विकासमा सहयोगी भूमिका खेल्दै आएको बताए । उनले भने,‘हामीले मुलुकको विकासमा ठूलो भूमिका खेलेका छौं तर सरकारले नै हामीलाई विश्वास गर्न सकेको छैन्,हाम्रा समस्याप्रति सरकार उदासीन छ ।’ राज्यले नीजि क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको अध्यक्ष भट्टराईले बताए । संघले सोही अवसरमा विपन्न विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान, छात्रवृत्ति दाता रुक्मागत भट्टराई, सहयोग गर्ने संस्थाहरु नर्सिङ्ग स्कूल अफ हेल्थ साइन्स,लुम्बिनी मेडिकल कलेज प्रभासलाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा  २ सय जना उद्योगी व्यवसायीहरुको स्वास्थ्य परीक्षण पनि गरिएको थियो । 

धन्यवाद ज्ञापन गर्दै संघका उपाध्यक्ष भीमबहादुर श्रेष्ठले उद्योगी, व्यवसायीका समस्याप्रति गम्भीर बन्न केन्द्रीय नेतृत्वलाई आग्रह गरे । सरकारले दोहोरो, तेहोरो कर  लगाएर उद्योगी, व्यसायीहरुलाई मर्कामा पारेको भन्दै त्यसलाई समाधान गर्न सरकारसँग समन्वय गर्न समेत उनले नेतृत्वलाई आग्रह गरेका छन् । उपाध्यक्ष श्रेष्ठले भने ‘ बाहिरबाट आएको वस्तु सस्तो हुने र स्वदेशमा उत्पादन भएको वस्तुुले बजार नपाउने अवस्था छ । यसलाई सरकारले गम्भीरतापूर्व लिन जरुरी छ । ’ उनले पाल्पामा थुप्रै सम्भावना रहेको भन्दै त्यसलाई सही उपयोग गर्न सकियो भने युवाहरु विदेश जान नपर्ने धारणा व्यक्त गरे  । उपाध्यक्ष श्रेष्ठले भने ‘हामी जहिल्यै नकारात्मक मात्र सोच्छौं, यही केही गर्न सकिन्छ, सम्भावना छ भन्ने कुरा आम जनतामा बुझाउन नसक्दा मुलुकको विकास हुन सक्दैन । ’   संघका अध्यक्ष शैलेन्द्र भट्टराईको अध्यक्षता,महासचिव समिरमान सिंहको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update