Shittalpati
प्राथमिक उपचार सबैले जानौं

प्राथमिक उपचार भनेको दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही आकलन गरी त्यसको निदानका लागि तुरुन्तै प्रदान गरिने सेवा हो । अर्को अर्थमा भन्दा कुनै व्यक्तिलाई चोटपटक लागेपछि वा ऊ बिरामी भएपछि अस्पताल पु¥याउनुअघि गरिने सबैभन्दा सुरुको उपचार पद्दतिलाई प्राथमिक उपचार भनिन्छ ।

कुनै पनि दुर्घटनामा घाइते हुनेलाई बचाउन प्राथमिक उपचारको महत्वपूर्ण भूमिका रहेको हुन्छ । भनिन्छ, दशा बाजा बजाएर आउँदैन । कुनैपनि दुर्घटना पूर्व सूचना बिना नै आउँछ । त्यसैले दुर्घटना भइसकेपछि कसरी बच्ने भन्दा पनि हुनुअघि कसरी सर्तक रहने भन्ने कुरा महत्वपूर्ण हुन्छ । तर, कुनैपनि अवस्थामा दुर्घटना हुनसक्छ । जहाँ पनि, जहिले पनि, जसरी पनि । यस्ता संभावित दुर्घटनाबाट हुने क्षतिबाट बच्नका लागि प्राथमिक उपचारको आवश्यक हुन्छ । प्राथमिक उपचारले ठूलो जोखिम घटाइदिन्छ । कुनैबेला घरमा सामाग्रीहरु झरेर चोट लाग्न सक्छ, कहिले भर्‍याङमा चिप्लन सकिन्छ । कहिले कुकुरले टोक्न सक्छ । कहिले सर्पले डस्न सक्छ । यावत् अप्ठ्याराबाट बच्नका लागि प्राथमिक उपचार महत्वपूर्ण हुन्छ । यसलाई सबैले जान्न आवश्यक छ ।

प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ । यस वर्षको दिवस शनिबार मनाइएको छ । नेपालमा हरेक वर्ष सयौं जनाले सडकमा हुने दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । दुर्घटनामा घाइते बन्न पुगेकाहरूलाई सामान्य प्राथमिक उपचार प्रदान गर्ने हो भने पनि उसको ज्यान जोगिने सम्भावना बढेर जान्छ । सानादेखि ठूलासम्मका दुर्घटनामा घाइते हुन पुगेकालाई प्राथमिक उपचार दिने हो भने उसको ज्यान जोगाउन पनि सहज हुन्छ । प्राकृतिक विपत्तिदेखि दुर्घटनाको अवस्थामा मानिसहरू निकै आत्तिने, र जसोतसो अस्पताल पुर्‍याउन हतारो गर्दछन् । यस्तो प्रवृत्तिले कतिपय अवस्थामा विरामीको ज्यानै जानेदेखि उपचार प्रक्रिया निकै जटिल पनि हुन सक्दछ । त्यसको बदलामा घटनास्थलमा उपलब्ध मानिसले घटनास्थल र विरामीको राम्रो मूल्यांकन गरी जति सक्दो छिटो प्राथमिक उपचार दिन सके ज्यान बचाउन सकिन्छ । तसर्थ दुर्घटनाबाट हुन सक्ने जोखिमलाई कम गर्न सबैले प्रथामिक उपचारका बारेमा जान्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update