Shittalpati
‘संगम मेडिकल छात्रवृत्ति’ वितरण

पाल्पा, स्वास्थ्यकर्मी रुक्मागत शर्माद्वारा स्थापित ‘संगम मेडिकल छात्रवृत्ति’ तानसेनका एक विद्यार्थीलाई प्रदान गरिएको छ । पाल्पा उद्योग वाणिज्य संघले संघको ७० औं वार्षिक साधारण सभाको अवसरमा जनता नमूना मावि कक्षा १० मा अध्ययन विद्यार्थी आयुष जलारीलाई प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, अक्षयकोषदाता रुक्मागत शर्मा र पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले संयुक्त रुपमा विद्यार्थी जलारीलाई १० हजारको चेक हस्तान्तण गरेका हुुन् । सोही अवसरमा संघले अक्षयकोषदाता शर्मालाई समेत सम्मान गरेको छ ।

अक्षयकोषदाता शर्माले संघमा आवद्ध उद्योगी, व्यवसायीहरुका छोरा/छोरीहरु मध्येबाट साधारण (सरकारी) विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने गरिब तथा जेहन्दार एक जना विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति स्वरुप १० हजार दिने गरी १ लाख २५ हजार रुपैयाँ बराबरको अक्षयकोष संघमा स्थापना गरिदिएका थिए । जिल्लाको स्वास्थ्य, शिक्षा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका शर्माले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा थप उत्साह र टेवा पुगोस् भन्ने उद्देश्यले छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरिदिएको बताए । उनले उद्योग वाणिज्य संघको ६९ औं साधारण सभाको अवसरमा उक्त अक्षकोषको घोषणा गरेका थिए । शर्माका अनुसार अक्षयकोषको व्याजबाट आउने दश हजार छात्रवृत्तिका रुपमा दिइने छ । उनले यस अघि पनि नेपाल औषधि व्यवसायी संघ पाल्पामा १ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका थिए । स्वास्थ्यकर्मी शर्माले  हरेक वर्ष एक जनालाई ‘औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार’ प्रदान गर्ने गरी अक्षकोष स्थापना गरिदिएका हुन् । उक्त  पुरस्कार पनि हरेक वर्ष वितरण हुँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update