Shittalpati
छुुट्टाछुुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्युु  भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, चितवन, बर्दिया, ताप्लेजुङ  र सिराहामा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको अकालमै ज्यान गएको हो ।

पाल्पाको तिनाउ गाउँपालिका–५ नयाँ जोरधारास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु.४८ प २६८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्याङ्जा चापाकोट नगरपालिका–९ बस्ने ५३ वर्षीय कृष्‍ण प्रसाद भट्टराईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै बर्दियाको गेरूवा गाउँपालिका–४ खोन्पुरस्थित सडकमा मोटरसाइकल गोरूगाडासँग ठक्कर खाई दुर्घटना हुँदा एक जनाको अकालमै ज्यान गएको छ । भे.८ प ९१६१ नम्बरको मोटरसाइकल गोरूगाडासँग ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ३० वर्षीय सुरेश चौलागाईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल फरार गाडा चालकको प्रहरीले खोजी गरिरहेको छ ।       

उता चितवनको भरतपुर महानगरपालिका–१ पानीट्याङ्की ओरालोस्थित सडकमा गाडीको ठक्करबाट साइकलयात्री ज्यान गएको छ । बा.प्र.०१–०२६ च ५५१९ नम्बरको योद्धा गाडीको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका–१ रामनगरका ६४ वर्षीय राम थापाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ । उक्त योद्धा गाडी ग.२ ख ८५५ नम्बरको बससँग ठक्कर खाई अनियन्त्रित भई साईकललाई ठक्कर दिएको थियो । योद्धा गाडी र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सिराहाको धनगढीमाई नगरपालिका–१ बाखरस्थित सडकमा पनि मोटरसाइकलको ठक्करबाट पैदलयात्री ज्यान गएको छ ।  छपरारीबाट बाखरतर्फ जाँदै गरेको स.४ प ६०२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया वरती देवी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगरस्थित आरएन न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै ताप्लेजुङको फक्तालुङ गाउँपालिका–३ खेसेवास्थित सडकमा सडक माथिबाट खसेको ढुुँगाले लागेर पिक जिपमा सवार एक जनाको मृत्युु भएको छ । ताप्लेजुङ सदरमुकामबाट फक्तालुङतर्फ जाँदै गरेको मे.१ ज १३६२ नम्बरको पिकअप सडकको माथिबाट आएको ढुङ्गाले लागि दुर्घटना हुँदा पिकअपमा सवार ताप्लेजुङ फक्तालुङ गाउँपालिका–३ तावाकी २६ वर्षीया निर्मला गुरूङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update