Shittalpati
माओवादीलाई ०६४ कै अवस्थामा पुुर्‍याउन्छौं : नेता पाण्डेय

पाल्पा, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य नेत्रप्रसाद पाण्डेयले आफ्नो पार्टीलाई २०६४ सालकै अवस्थामा पुर्‍याउने गरी आफुहरु लागेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति पाल्पाको दोस्रो जिल्ला परिषद्लाई रिब्दीकोट गाउँपालिकाको हार्थोकमा सम्बोधन गर्दै नेता पाण्डेयले माओवादीलाई ०६४ कै अवस्थामा पुर्‍याउने गरी देशैभर अभियान चलाउन थालिएको बताएका हुन् ।

उनले आफ्नो पार्टी नेतृत्वको सरकारले जनहितमा गरेका कामले जनतामा माओवादी केन्द्रप्रति विश्वास बढाउने काम गरेको उल्लेख गरे । नेता पाण्डेयले २०६४ सालमा माओवादीलाई नेपाली जनताले ठूलो विश्वास गरेर समर्थन गरेको तर पार्टीभित्र देखिएका केही विकृति र जनताबाट टाढिने प्रवृत्तिले गर्दा जनसमर्थन घटेको बताए । उनले आफ्नो पार्टी नेतृत्वको सरकार हुँदा छोटो समयमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्याय तथा विकासका लागि धेरै उदाहरणीय काम गरेकाले पार्टीप्रति जनतामा फेरी विश्वास र समर्थन बढ्दै गएको उल्लेख गरे । नेता पाण्डेयले भने ‘अब छर्ला· मार्ने योजनाका साथ पार्टी र संगठनका गतिविधिहरु सञ्चालन गर्छौं ।’ उनले शौक्षिक तथा सामाजिक रुपान्तरणका लागि शिक्षक र शिक्षक संगठनको भूमिका थप प्रभावकारी हुनुपर्ने धारणा समेत व्यक्त गरे । कार्यक्रम नेकपा माओवादी पाल्पाका अध्यक्ष राजेन्द्र विश्वकर्माले एकीकृत अखिल नेपाल शिक्षक संगठनले समाजवादी शिक्षाको बहस  चदाउनुपर्ने बताए । स्थानीय, प्रदेश र संघीयसभा शिक्षक आन्दोलनका व्यक्तिहरुले नै नेतृत्व गरेकाले आजका शिक्षकले भोलिको सम्भावनाको सपना देखेर काम गर्नुपर्ने अध्यक्ष विश्वकर्माले जोड दिए । संगठनका केन्द्रीय सचिवालय सदस्य शेषनारायण चालिसेले बालशिक्षकदेखि सबै प्रकारका शिक्षकहरुको समस्या समाधान गर्ने गरी शिक्षा विधेयक आउनुपर्ने बताए । गुणस्तरीय शिक्षाका लागि पठन–पाठन सूचना प्रविधि मैत्री बनाउन आवश्यक रहेकाले शिक्षकको आइसीटीप्रति ज्ञान सीप र क्षमता विकास गर्न सरकारले सहयोग गर्नुपर्ने धारणा उनले व्यक्त गरे । रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण कार्कीले शौक्षिक सुधारका कार्यक्रमहरु गाउँपालिकाबाट सञ्चालन गरिएकोे बताए । गाउँपालिकालाई सुशासन कायम गर्न पछिल्ला वर्षहरुमा सफल भएको अध्यक्ष कार्कीको भनाई छ ।

कार्यक्रममा संगठनका लुम्बिनी प्रदेशका सचिव भानु न्यौपाने, नेपाल शिक्षक महासघ पाल्पाका सह अध्यक्ष दिपक पौडेल, नेकपा माओवादी केन्द्र बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण भूषाल, प्रेस सेन्टर पाल्पाका अध्यक्ष कृष्ण दर्नाल लगायतले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले चासो नदेखाएकाले शिक्षा र शिक्षकका समस्या हल हुन नसकेको बताए । परिषदमा प्रदेश परिषद प्रतिनिधि छनौट गरिएको छ । जिल्ला संगठनका पदाधिकारी र स्थानीय तहका अध्यक्षहरुलाई परिषद्ले छनौट गरेको हो । परिषदमा दीर्घ सेवा, निवृत्त शिक्षक, बढुवा तथा नवप्रवेशी शिक्षकलाई सम्मान पनि  गरिएको छ । संगठनका जिल्ला अध्यक्ष बासुदेव अर्यालको अध्यक्षता, संगठनका उपाध्यक्ष झपिन्द्र ज्ञवालीको स्वागत, सचिव द्रोणराज न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update