Shittalpati
पाल्पा–काठमाडौं रात्री ‘सोफा सिटर बस’ सेवा सञ्चालनमा

पाल्पा, पाल्पादेखि काठमाडौंका लागि रात्रिकालिन ‘सोफा सिटर बस’ सेवा सञ्चालन गरिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले आइतबारदेखि आरामदायी यात्राका लागि सुविधा सम्पन्न यातायात सेवा सञ्चालनमा ल्याएको हो ।

बसमा फाइप जि वाइफाई सेवा, अत्याधुनिक प्रविधी जडान गरी वातावरणमैत्री धुवा नफाल्ने, एसी र पिउने पानीको सुविधा रहेको प्रा.लिका शाखा प्रमुख डोलराज भट्टराईले बताए । उनका अनुसार बसमा ४१ बटा सोफा सीट र २ बटा यात्रु सुतेर जान पाउने सुविधा रहेको छ । भाडा दर १ हजार ३ सय कायम गरिएको भट्टराईले बताए ।

बस पाल्पादेखि काठमाडौंका लागि साझ ७ः३० बजे र सोही समयमा काठमाडौंदेखि पाल्पाका लागि छुट्ने प्रा.लिका शाखा सहायक समर थापाले जानकारी दिए । पाल्पामा पहिलो पटक सञ्चालनमा आएको यो बसको मूूल्य करीब १ करोड परेको प्रालिले जनाएको छ ।

पछिल्लो समय सुविधा सम्पन्न र महँगो सवारी साधन प्रयोगमा आएता पनि सडकको दुरावस्ताका कारण छिटो विग्रने समस्या रहेको सवारी धनीहरु बताउँछन् । समयको मागसगै यातायात क्षेत्रमा प्रतिस्पर्धा भएका कारण नै यात्रुहरुको सुविधालाई ध्यानमा राखी स्तरिय यातायात सेवा सञ्चालनमा ल्याउनुु परेको प्रालिले जनाएको छ । छिमेकी जिल्ला गुल्मी, अर्घाखाँचीमा धेरै पहिलादेखि सुविधा सम्पन्न यातायात सञ्चालन हुँदै आए पनि पाल्पामा भने अझै पनि दिवाकालीन समयमा यात्रुहरुले स्तरीय यातायात सुविधा पाउन नसकेको गुनासो रहेको पाइन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update