पाल्पा, पाल्पा उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न स्थानमा गैरकानूनी रुपमा व्यापार व्यावसाय गर्दै हिड्ने पोके तथा घुमुवा व्यापारीलाई नियन्त्रणमा लिन थालेको छ । व्यवसाय गर्दा सम्बन्धित निकायमा दर्ता गरेर तोकिएको ठाउँमा मात्र गर्नु पर्ने भएपनि विना दर्ता र कर, विलविजक नै जारी समेत नगरी भाडा, लत्ताकपडा, नक्कली गरगहना, कस्मेटिक, अण्डा, कुखुरा, औषधि, फलफूल ,तरकारी, आइसक्रिम, लगायत विभिन्न सामाग्री विक्रि गर्दै हिड्ने व्यापारीहरुलाई संघले नियन्त्रणमा लिन थालेको हो ।
सोमबार साँझ मात्र संघका अध्यक्ष शैलेन्द्र भट्टराईको नेतृत्वमा खटिएको टोलीले सदरमुकाम तानसेनस्थित शितलपाटीबाट गैरकानुनी ढंगले भ्यानमा कपडा बेच्दै हिड्ने व्यापारीलाई समाएको छ । काठमाडौंको इन्द्रचोकबाट बुटवलको एक पसलका लागि ल्याइएको तन्ना, सिरकको खोल, सिरानी जस्ता सामानहरु बा १० च ८९८५ को भ्यानमा राखेर बेच्दै हिडेको अवस्थामा संघका पदाधिकारीहरुले शितलपाटीबाट नियन्त्रणमा लिएका हुन् । कपडासहितको भ्यान नियन्त्रणमा लिई कर कार्यालय पाल्पाका प्रतिनिधि, तानसेन नगरपालिकाका प्रतिनिधि सहितलाई खबर गरी जिल्ला प्रहरी कार्यालय पाल्पालाई जिम्मा लगाइएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले शितलपाटी डटकमलाई जानकारी दिए । कानुन विपरित पोके र घुमुवा व्यपारीका कारण राज्यलाई कर तिरी वैधानिक रुपमा सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएका जिल्लाका हजारौ ब्यावसायीलाई असर परेका कारण पोके व्यापारीहरुलाई नियन्त्रणमा लिईएको अध्यक्ष भट्टराईले बताए । उनले भने ‘हामीले पटक –पटक पोके व्यापारीहरुलाई सम्झाई, बुझाई गर्दै आयौं तर त्यस्तो काम नरोकिएपछि बाध्य भएर नियन्त्रण गर्न लागेका हौं ।’अनाधिकृत पोके ब्यवसायीलाई सम्वन्धित निकायमा व्यावसाय दर्ता गरी कानून बमोजिम सञ्चालन गर्न समेत आग्रह गरेको उनले बताए ।
यस्ता व्यावसायीहरुबाट जिल्लाको समग्र व्यापार व्यावसायमा प्रभाव पर्ने मात्र नभई सामाजिक अपराधका घटना समेत घटेकोले आवश्यक निगरानी गर्न प्रशासनलाई समेत संघले अनुरोध गरेको छ । पोके व्यापारीले स्थानीय बजारमै सस्तो र गुणस्तरहीन सामान बेच्दा राज्यलाई वर्षेनी लाखौ रुपैयाँ कर गुमाउनु परेको भन्दै स्थानीय व्यवसायीहरुकै आग्रहमा पोके व्यापारी समाउन थालिएको संघका सचिव विदुर घिमिरेले बताए । उनले भने ‘काठमाडौंबाट बुटवलको एक पसलका लागि भनेर कागज बनाएर ल्याइएको भए पनि व्यापारीले बुटवल नझारी सिधै तानसेनका बजारमा बेच्दै हिडेको थाहा पाएपछि हाम्रो टोलीले शितलपाटीबाट एक भ्यान कपडा नियन्त्रणमा लिएको हो ।’ भ्यान नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको छ । कपडासहितको भ्यान नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । संघका अध्यक्ष भट्टराईको नेतृत्व महासचिव समिरमान सिंह, कोषाध्यक्ष विनायक महर्जन, सचिव बिदुर घिमिरे, सदस्यहरु कमलराज पाण्डे, सहमत मिया लगायतको टोलीले गाडीलाई नियन्त्रणमा लिएको हो ।
पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा समेत भाडा, लत्ताकपडा, नक्कली गरगहना, कस्मेटिक सामानहरु बाहिरबाट लिएर विना कागजात व्यापार गर्नेको विगविगि रहेको छ । जिल्ला भर सयौंको संख्यामा व्यापारी यस्तो व्यापारमा लागेको देखिएपनि नियन्त्रणका लागि सम्बन्धित निकायबाट प्रभावकारी कदम भने चालिएको छैन । बरु स्थानीय सरकार आफै न्यूनतम शुल्क लिएर त्यस्ता व्यापारीहरुलाई अनुमति दिई व्यापार गर्न प्रोत्साहन गर्दै आएको स्थानीय व्यवसायीहरुको आरोप छ ।