Shittalpati
विज्ञान दिवसको सान्दर्भिकता

राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गतेका दिन नेपालभर मनाइने गरिन्छ । यस वर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्‍याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रक्रियामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्नका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले प्रत्येक वर्षको असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाउने गरिन्छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो ।

समाजको सकारात्मक परिवर्तन अर्थात् विकास आममानिसको चाहना हो । यही आवश्यकतालाई परिपूर्ति गर्न नवीनतम् विज्ञान र प्रविधिद्वारा समुन्नत समाज निर्माणमा यो दिवसले महत्वपूर्ण टेवा पुर्‍याउँछ । विज्ञानकै माध्यमद्वारा वर्तमान समाजलाई सु–सूचित गराउँदै प्रविधिमूलक शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्र समृद्धि हासिल गर्नु गराउनु यस दिवसको प्रतिकात्मक सन्देश पनि हो । तर वैज्ञानिक प्रगतिलाई उचित तरिकाले उपयोग गर्न नसकेकै कारण देशले आर्थिक विकासमा फड्को मार्न सकिरहेको छैन । यो अत्यन्त दुखको कुरा हो । नेपाल जस्तै अन्य मुलुकहरुले विज्ञान र प्रविधिको उच्चतम प्रयोग गरी अहिले समृद्ध राष्ट्रको रुपमा परिचत बन्न सफल भएका छन् ,नेपाल भने विज्ञान र प्रविधिको प्रयोगमा अझै पनि पछाडी नै छ । आर्थिक विकास गर्न आवश्यक पर्ने न्यूनतम वैज्ञानिक तथा प्राविधिक मानव संसाधन देशमा उपलब्ध भए पनि तर, ठोस राष्ट्रिय नीति र कार्यक्रमको अभावमा राज्यले विकासको कार्यमा प्रयोग गर्न सकिरहेको छैन् । देशभित्र उचित अवसर नपाएर कैयौँ युवा वैज्ञानिक तथा प्राविधिज्ञ पलायन भइरहेका छन् । नेपालमा विज्ञान प्रविधिको उचित विकास हुन नसक्नुको कतिपय कारणमध्ये राजनीतिकर्मी र वैज्ञानिकबीचको नियमित र निकट अन्तक्र्रिया र संवादको अभाव पनि हो । वैज्ञानिक समुदायबाट राजनीतिकर्मीलाई आर्थिक विकासमा विज्ञान र प्रविधिको भूमिका बुझाउने पर्याप्त प्रयास भएको छैन् । राजनीतिकर्मीले पनि वैज्ञानिक समुदायलाई देशको नीति निर्माणमा सक्रियरूपमा संलग्न गराउने प्रयास गरेका छैनन् । यसले गर्दा पनि विज्ञान प्रविधिको विकासलाई देशको आर्थिक विकाससँग जोड्ने काम सफलतापूर्वक हुनसकेको छैन् । यसर्थ विज्ञान प्रविधिमार्फत देशको आर्थिक विकास गर्न राजनीतिकर्मी र वैज्ञानिकबीच निकट र निरन्तर सहकार्य हुन जरुरी छ । यसो भयो भने मात्र दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ । 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update