पाल्पा, हरेक चाडपर्वको आ–आफ्नै महिमा र विशेषता रहेको हुन्छ । अन्य चाडपर्व र पूजाआजा जस्तै विश्वकर्मा पूजा पनि एक हो । यसको पनि आफ्नै सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व र महिमा रहेको छ । आश्विन महिनाको कृष्णपक्षको संक्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी मनाइन्छ ।
आज नेपालमा धुमधामका साथ विश्वकर्मा बाबाको पूजा गरिदैंछ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो । यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । विषेशगरी वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । आजको दिनमा आफुसँग भएको फलामे औजार र कलकारखानाहरुको बिहानै उठेर नुहाई धुवाई गरी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रङ्गीचङ्गी बनाई पूजाआजा गर्ने गरिन्छ । यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथ भगवान विश्वकर्माको पूजा गर्छन् । विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा रङ्गीचङ्गी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गर्न लागिएको छ । सवारी साधन हुनेहरूले सवारी साधनलाई धोएर पूजाआजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रंगीन बनाइएको छ ।
गाडी मर्मत सम्भार गर्ने ग्यारेजलगायत हरेक सानाठूला फयाक्ट्रीमा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् । आज पूजा गरिएको मूर्तिलाई भोलि बिहान नजिकैको खोला वा नदीमा लगि विसर्जन गरेपछि विश्वकर्मा पूजा समापन हुन्छ । फलामको क्षेत्रमा काम गर्ने मजदुरहरुलाई आजका दिन बिदा पनि दिने चलन छ । यस दिन आफ्नो फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने जनविश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुन्द्रको बीचमा भेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुन्द्रको बीचमा ‘भेदद्वार’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो ।