Shittalpati
असोजमा पनि घटाए बैंकहरुले ब्याजदर

पाल्पा, वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् ।

वाणिज्य बैंकले प्रकाशित गरेको भदौ महिनाको तुलनामा असोजमा बैंकहरूको निक्षेपको ब्याजदर औसत ०.०७ प्रतिशत विन्दुले घटेको छ । भदौमा बैंकहरुको एक वर्षे मुद्दती निक्षेपको ब्याजदर औसत ६.४७ प्रतिशत थियो । असोजमा यस्तो ब्याजदर घटेर औसत ६.४ प्रतिशत कायम भएको छ । बैंकहरूको औसत ब्याजदर घटेपनि चार वटा बैंकले भने निक्षेपका ब्याजदर सामान्य बढाएका छन् । ब्याज बढाउने बैंकहरुमा लक्ष्मी सनराइज, प्राइम, कृषि विकास र नेपाल बैंक छन् । आठ वटा बैंकहरुले भने निक्षेपको ब्याजदर घटाएका छन् । बाँकी ८ वटा बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । मुद्दती निक्षेपको ब्याजदर घटेसँगै साधारण बचतको ब्याजदर घटेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको साधारण बचत खातामा औसत ब्याजदर कम्तीमा औसत ३.०२६ प्रतिशत र बढीमा औसत ४.५२४ प्रतिशत छ । यस्तै, मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत न्यूनतम ४.५५१ प्रतिशतदेखि अधिकतम ६.३९३ प्रतिशत रहेको छ । यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फ न्यूनतम औसत ३.५९६ प्रतिशत र अधिकतम ५.११५ प्रतिशत ब्याजदर तोकेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।

यस महिना ब्याजदर कम गर्ने बैंकको पंक्तिमा कुमारी, नबिल, नेपाल एसबीआई, एनआईसी एशिया, सिटिजन्स बैंक, एभरेष्ट, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य, सानिमा र प्राइम बैंक छन् । यसबाहेक भदौकै ब्याजदरलाई निरन्तरता दिनेमा बैंकहरूमा हिमालयन, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, माछापुच्छ्रे, स्टयान्डर्ड चार्टर्ड र सिद्धार्थ बैंक हुन् । समग्रमा बैंकहरूको निक्षेपको ब्याजदर घटेसँगै अब कर्जाको ब्याजदर पनि केही कम हुने नेपाल बैंकर्स संघले जनाएको छ । हाल बैंकिङ प्रणालीमा ६ खर्ब ४२ अर्ब अधिक पैसा थुप्रिएको छ । एकातर्फ निक्षेप थुप्रिनु तर बैंकले लगानी गर्न नसक्दा यस्तो स्थिति आएको हो । अधिक तरलता भएका कारण नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत ३ प्रतिशत ब्याजदर हाराहारीमा पैसा तानेर व्यवस्थापन गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update