पाल्पा, २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम् नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा बुधबार देशैभर नेपाली काँग्रेसले सिंहको सम्झना गर्दै स्मृति दिवस मनाएका हुन् ।
दिवसमा दिन काँग्रेसले पाल्पा सहित देशैभरका पार्टी कार्यालयहरुमा सिंहको तस्विरमा माल्यार्पण गरे ।
स्व. सिंह प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर हुन् । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरे आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन विसं २०५४ असोज २ गते भएको थियो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनी लगायतलाई तत्कालीन सरकारले जेल हालेको थियो । विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला गणेशमान प्रवास जानुअघि तत्कालीन ‘राणा हटाऊ’ आन्दोलनमा सक्रिय थिए । उनले जेलबाट भागेर भारतमा पुगी नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरेका थिए । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रुपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनःबहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रुपमा सिहं रहे । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन उनी सदा क्रियाशील रहे । विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताएका थिए । उनले विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहे । तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा उनले विशेष अदालतबाट सफाइ पाए । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रुपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो ।