Shittalpati
संविधान दिवसको सन्दर्भ

आज संविधान दिवस । मुलुकले जनप्रतिनिधिबाट लिखित संविधान पाएको ९ वर्ष पूरा भएको छ । इतिहासमै पहिलो पटक जनप्रतिनिधिबाट सम्मिलित संविधान निर्माण भएको दिन हो । असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा समेत घोषणा गरेको छ । यो राष्ट्रिय उत्सवको दिन पनि हो । 

३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको थियो । यसैको खुसीयालीमा आज देशभर संविधान दिवस मनाइँदै छ । संविधान जारी भएको दिनको खुसीयाली एकातिर छ भने अर्कोतर्फ संविधानको मर्म मिच्दै मुलुक अगाडि बढेको पीडा पनि छ । संविधानको भावनाको चीरहरण गरेर संविधान दिवस मनाउनु हाम्रो परम्परा नै बनेको छ । संविधानमा बहुमत प्राप्त राजनीतिक दलले सरकार चलाउने उल्लेख गरिए छ तर हामीकहाँ बहुमत प्राप्त दल नै यति कमजोर भइदियो कि, उसले सरकार सञ्चालन गर्नै सकेन । जनमतको भावना विपरीत गठबन्धनको सरकार बन्नु संविधानको मर्म थिएन । बहुमत प्राप्त दल एक अवधि नटिक्नु र नटिकाउनुका पछाडीका सत्ताको खेल नै प्रमुख कारक हो । यो संविधानको मर्म विपरीतको अवस्था हो । सदन भंग गरेर होस् वा चलिरहेको सदन अन्त्य गरेर होस् । दुवै प्रकारले ल्याइएका अध्यादेश संवैधानिक मर्मविपरीतका अभ्यासहरू हुन् । लोकतन्त्रमा संविधानको निकै ठूलो महत्व हुन्छ । जनतामा निहित अधिकार संविधान मार्फत सरकार र राज्यका निकायहरूले पाउने हो । राज्यबाट सुविधा र सुरक्षा भोग्ने राष्ट्रपति होऊन् वा प्रधानमन्त्रीदेखि खाली खुट्टा सडकमा हिँड्ने अभावग्रस्त सामान्य नागरिक नै किन नहोऊन्, संविधान सबैका लागि समान हैसियत र अधिकारको स्रोत हो । तर विडम्बना नै भन्नुपर्छ, हामीकहाँ संसद्मै ठेकेदारहरूको हालिमुहाली छ । अहिले संविधान विपरीतका काम जताततै देख्न सकिन्छ । सत्तामा बस्नेका लागि यो मनपरी गर्न पाउने लाइसेन्स भएको छ भने जनताका लागि नियन्त्रणको हतियार । यो सबैभन्दा डरलाग्दो कुरा हो, संविधानको दुरुपयोग पनि हो । संविधान सबैलाई मान्य हुनुपर्छ । तर यहाँ त्यस्तो हुन सकेको छैन । सत्तामा रहनेले आफु अनुकूल संविधानको प्रयोग गर्ने गरेका छन् । यो विडम्बनाको कुरा हो ।

संविधान राज्यसत्तामा रहनेका लागि अनुकूल वा प्रतिकूल दस्ताबेज बन्नु भनेको त्यो कागजको खोस्टो सरह नै हो । संविधानको संस्थागत विकास भएन भने त्यसले गरेका व्यवस्थाअनुसार जनतालाई अधिकार प्रदान गर्न सकिएन भने संविधानको सार्थकता रहन्न । तसर्थ संविधानको संस्थागत विकास गरी जनतालाई अधिकार सम्पन्न गर्न सकियो भनेमात्र संविधान दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update