Shittalpati
चाडपर्वमा ६१ स्थानमा सहुलियत पसल

पाल्पा, देशभरका ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । सरकारले चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।

यही ७ गतेदेखि देशैभर सहुलियत मूल्य पसल एकै पटक सञ्चालन हुने छन् । उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको हो । यी पसलहरूबाट सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन विशेष छुटमा बिक्री गरिने जनाइएको छ । उक्त खाद्यान्नहरूमा प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म छुटको व्यवस्था रहने छ । गत वर्ष खाद्य कम्पनीबाट वितरण हुने सबै किसिमका चामल, दाल, गहुँ आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर, भटमासको तेल, चिउरा प्रतिकेजी/प्रतिलिटरमा ७ रुपैयाँ छुट दिइएको थियो । जसमध्ये स्टिम जिरा मसिनो, बासमती, आरुवा सोना, आरुवा मोटा, कालानुनीया, ब्राउन, साँवा स्टिम आरुवा रञ्जित, फोर्टीफाइड, यी सबै प्रकारका चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ । यस्तै जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने भएको छ । यो वर्षको चाडपर्वका लागि कम्पनीले १ हजार ५०० खसीबोका र ३०० च्याङ्ग्रा  ल्याउने तयारी गरेको छ । घटस्थापनाको अघिल्लो दिनसम्म खसीबोका ल्याइसक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update