Shittalpati
रामपुरका वडा वडाबाट बैंकिङ्ग सेवा दिइने

पाल्पा, जिल्लाको रामपुर नगरपालिका भित्रका वडा वडाबाट बैंकिड्ढ सेवा दिइने भएको छ ।  वडाका नागरिकहरुको सेवालाई मध्यनजर गर्दै नगरपालिकाले उक्त सेवा दिन लागेको हो ।

बैंकिड्ढ सेवाका लागि नगरपालिकाले बैंकहरुसँग सहमति गरेको छ । नगर भित्र सञ्चालित बैकहरुसँग  नगरपालिकाले छलफल गरी सेवा  प्रदान गर्न सहमति गरेको हो । सामाजिक सुरक्षा भत्ता लिने नगरवासी लाभग्राहीहरुको सुविधा र योजनाका उपभोक्ता समितिको बैंक खाता सञ्चालन गर्ने सहमति भएको बताइएको छ । छलफलले रामपुर नगरपालिकामा यो आर्थिक वर्षमा सञ्चालन हुने योजनाको बैंक खाता खोल्नका लागि हरेक वडामा गएर बैंकिङ सुविधा दिने निर्णय गरेको छ । नगरपालिका भित्र रहेका ९ वटा बैंक तथा विकास बैंकहरुले नगरवासीको सुविधाका लागि सबै वडामा गएर योजना उपभोक्ता समितिलाई खाता खोल्ने सेवा दिने भएका छन् । यससँगै नगरपालिकाका सबै वडा कार्यालयमार्फत योजना उपभोक्ता समितिको बैंक खाता खोल्ने भएको छ । साथै आगामी दिनमा रामपुर नगरपालिकासँगको समन्वयमा घुम्ति सेवामार्फत नगरवासीहरुलाई सामाजिक सुरक्षा भत्ता वडा तथा टोलबाटै वितरण गर्ने भएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बैंकले दिने सेवालाई जनमुखी बनाई बैंक र नगरपालिकाबिच समन्वय गर्न आवश्यक रहेको बताए । उनले रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिका भित्र सञ्चालन गर्ने योजना उपभोक्ता समितिको खाता सञ्चालनमा एक रुपता ल्याउन नगरपालिका भित्रका सबै बैंकहरुलाई आग्रह गरे । नगरबासीको सुविधाका लागि प्रत्येक वडा कार्यालयमा गएर खाता खोल्ने र सामाजिक सुरक्षा भत्ता पनि वडा र टोलबाट वितरण गर्ने नगरपालिकाको योजना रहेकाले यसका लागि सहयोग गर्नु पर्ने नगर प्रमुखले जोड दिए । साथै अन्य सेवा भन्दा वृद्ध वृद्धा र फरक क्षमताका व्यक्तिहरुलाई प्राथमिकता दिएर सेवा प्रवाह गरी बैंकमार्फत दिने सेवालाई प्रभावकारी र सहज बनाउन आवश्यक रहेको उनले उल्लेख गरे ।

नगर प्रमुख थापाले नगरपालिकामा दर्ता भएर सञ्चालनमा आएका व्यवसायलाई सहज रुपमा लगानी गर्नु पर्ने भन्दै नगरपालिकाले सञ्चालन गरेको व्याज अनुदान कार्यक्रमलाई पनि सहजिकरण गर्नुपर्नेमा जोड दिए । उपप्रमुख बाल कुमारी थापाले नगरबासीको सुविधा र आर्थिक समृद्धिका लागि सहज र सरल तरिकाले लगानी गर्न आग्रह गरिन् । छलफल कार्यक्रममा बोल्दै कृषि विकास बैंक रामपुर शाखाका प्रमुख केशवराज डोटेलले जनताको सेवाका लागि नगरपालिकाले अनुरोध गरेको जिम्मेवारी पुरा गर्ने बताए । जनता बैंक रामपुर शाखाका प्रबन्धक कृष्ण प्रसाद भट्टराईले उपभोक्ता समितिको खाता खोल्न हरेक वडामा गएर खोले पनि कारोबार सकिएपछि खाता बन्द नगर्ने समस्या रहेकाले यसको सहजिकरण गरिदिन  नगरपालिकासँग आग्रह  गरे । यस्तै लक्ष्मी सनराईज बैंंक रामपुर शाखाका प्रमुख अमृत खड्काले सुरक्षा र अन्य आवश्यक व्यवस्थापन गरे वडा र टोलबाट सेवा प्रवाह गर्न सक्ने बताए । छलफल कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिलबहादुर खाँणले बैंकले दिने हरेक वित्तीय सेवालाई सहज र सरल बनाउनुपर्नेमा जोड दिए । साथै बैंक र नगरपालिका दुवै जनताको सेवाका लागि भएकाले सेवा प्रवाह तथा कार्यक्रम सञ्चालन गर्दा समन्वय र सहकार्य गर्न आवश्यक रहेका उनले उल्लेख गरे । बैंकका शाखा प्रमुख र रामपुर नगरपालिकाबिच भएको छलफलले योजना उपभोक्ता समितिको खाता खोल्ने बैंकको बाँडफाँड  समेत गरेको छ । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता, योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।


 

 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update