Shittalpati
तानसेनको पर्यटन  र पहल

पद्मराज न्यौपाने
सेन वशिय राजाहरुले आफ्नो राज्य सञ्चालनका क्रममा पाल्पा राज्यलाई निकै सवल र समृद्ध बनाएको पाइन्छ । पाल्पाको रिब्दीकोट पहिलो राजधानी बनाएका सेन राजाहरु केही वर्ष पश्चात तानसेनको श्रीनगरमा शहर बसाएको बताइन्छ । नेपाल एकिकरणका दौरान सम्ममा पाल्पा राज्य निकै बृहत र विस्तारित थियो । पाल्पा राज्यको शक्ति, समृद्धि र क्षमताबाट  छिमेकी मूलुक भारतमा साशन गरिरहेका अंग्रेजहरुको नजरमा समेत पाल्पा परिसकेको थियो । राज्य सञ्चालनमा थिति र सवलताको मापनमा अंग्रेजहरु मोहित भएका थिए ।

प्रकृति, संस्कृति, वनजंगल र तिव्वतसँग व्यापारका लागि सहज व्यापारिक नाका पनि पाल्पा भएको कारण पाल्पा उनीहरुको नजरमा नपर्ने कुरै भएन किन की उनीहरु ब्यापार विस्तारकै क्रममा भारतमा साशन समेत गर्न भ्याएका थिए । शक्तिशाली पाल्पा राज्यमा आफ्नो कब्जा जमाउन सके त्यस माथिका साना राज्यहरु सहजै आफ्नो मातहत ल्याउन सक्ने अनुमान उनीहरुको थियो ।

पाल्पा राज्य जब नेपाल एकिकरणको प्रक्रियामा विभिन्न रणनीति अनुरुप बलजफती प्रवेश गराइयो । त्यस पछिका नेपाली शासकहरुले पाल्पाको महत्व विशेष रहेको बुझाइबाटै पाल्पालाइ नै मुख्य केन्द्र बनाई थप सुरक्षा नीति अवलम्वन गरेको देखिन्छ । राज्यका लागि आवश्यक आर्थिक व्यवस्थापनको प्रचुर सम्भावना र यस क्षेत्रको महत्वलाई बुझेर आफ्ना भरपर्दा र बहुआयामिक छबी बनाएका विश्वाशिला पात्रहरुलाई काठमाडौंले पाल्पा पठाएको देखिन्छ । तैनाथवाला बनेर जो–जो पाल्पा आए उनीहरुबाट यो क्षेत्रको सवलतासँगै अग्रेजहरुको नजरलाई गहिरो अध्ययन सहितको रणनीति बनाएको पाइन्छ । यसैको परिणाम स्वरुप २ पटक अंग्रेजको आक्रमणलाई निस्तेज बनाउन सफल भएको मात्र होइन अग्रेजहरुलाई सम्झौता गर्न बाध्यात्मकतामा प्रवेश गराएका थिए । जसलाई नेपालको इतिहासमा सुगौली सन्धिको नामले परिचित पनि छ ।

विशेषगरी सेन वंशीयकालदेखी राणा शासनकाल सम्ममा पाल्पाले इतिहास, संस्कृति अनि ती सम्वद्ध सम्पदा प्राप्त गर्‍यो । कतिपय सम्पदा अहिलेसम्म पनि साक्षी बनेर ठडिएका छन् । कतिपय परम्परा बनेर जिवित छन् । पाल्पा आफैमा प्रकृतिले भरिपूर्ण अवसर प्राप्त क्षेत्रको रुपमा पनि रहेको छ । पाल्पा विशेषगरी तानसेन सबै भन्दा बढी सम्पदा पाएको भाग्मानी नगरपालिका हो । सन् १९५९ मा नगरपालिकाको रुपमा घोषणा भएको तानसेन नेपालको पुरानो नगरपालिका मध्यको एक हो । यो नगर ऐतिहासिक, सांस्कृतिक सम्पदा, प्राकृतिक दृश्य र परम्परागत वास्तुकलाको लागि प्रसिद्ध भएको विदितै छ । अहिले तानसेन नगरपालिकाको मुख्य दायित्व भनेको ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्दै, प्राप्त प्राकृतिक अवसरमा नवप्रवर्तनसहितको स्पष्ट अवधारणा र व्यवहारिक कार्ययोजनाको लक्षित पर्यटन कार्यक्रम कार्यान्वयन हुनु पर्छ । पर्यटनबाटै तानसेनले आफ्नो आर्थिक र समाजिक पक्षमा सवलीकरण उन्मुख हुन सक्छ ।

यस पृष्ठभूमिमा, प्रथम चरणमा स्थानीय समुदाय, स्थानीय सरकार र अन्य सरोकारवालासँगको समन्वय र  साझेदारीमा तानसेन नगरपालिकाभित्रका केही क्षेत्रका परम्परागत बस्तीहरूको दस्तावेजीकरण गरी सम्पदायुक्त भवनहरूको पहिचान र संरक्षण गुरु योजना तयार पार्न हालै एक अध्ययन सम्पन्न गरिएको छ । यो अध्ययन काठमाडौं इन्जिनियरिङ कलेजको वास्तुकला विभागको सहयोगमा सम्पन्न भएको छ । अध्ययन प्रतिवेदन तानसेनको इतिहासमा पहिलो प्रयासको रूपमा स्थान ओगट्न सक्छ । तानसेन बजारको इतिहास गौरवमय छ । यहाँ रहेका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरू विशेष महत्वका छन् । विश्वभर रहेका सम्पदाहरुको अभिलेख र संरक्षणमा योगदान गर्दै आएको यूनेसकोले समेत तानसेन बजारलाई विश्व सम्पदा सूचिमा रहन सक्ने केही आधारहरु रहेको भन्दै बाँकी केही आधारहरु तयार पार्न सकिने समेत औल्याएको छ । यसै गरी विभिन्न अध्ययनहरूले समेत तानसेन नगरभित्रको नेवार वस्ती र नेवारी संस्कृतिले भरिपूर्ण सम्पदाहरूको उच्च सम्भावना औंल्याउदै आएका छन् । यूनेसकाको संकेत र विभिन्न अध्ययनहरुको सुझावलाई मनन् गर्ने हो भने यहाँ रहेका घर र टोलहरूले सम्पदा पर्यटनलाई आकर्षित गर्ने पर्याप्त आधार अवसर प्रदान गर्छन् । यद्यपि, तानसेनले भौतिक विकासका संरचनालाई मात्र प्राथमिकतामा राख्ने तर यो शहर र यसले प्राप्त गरेका अवसरयूक्त बहुमूल्य सम्पदाहरूलाई प्राथमिकतामा नराख्दा क्रमश ओझेलमा पर्दै गएका छन् । यदि तानसेनले यी संरचनाको संरक्षण र प्रवद्र्धनमा महत्व दिएर स्पष्ट नीति बनाउने हो भने यो शहरलाई आकर्षक विभिन्न विधा सम्वद्ध पर्यटकको गन्तव्यको रूपमा विकास गर्न सकिन्छ । यसै पक्षहरुलाइ महशुस गराउँदै आवश्यक कदमका लागि अध्ययनको आवश्यकता महसुस गराएको हो ।

अध्ययनका क्रममा प्रारम्भमा तानसेन नगरभित्रका भिमसेनटोल, मखनटोल भगवतीटोल र बसन्तपरटोलका पुराना घर तथा गल्लीहरूको पर्यटनका हिसाबले कसरी आकर्षक बनाउने र शीतलपाटीदेखि टक्सार टोलका घर गल्लीहरु र टक्सारका ऐतिहासिक महत्व कायम गर्न खुला संग्रहालयको अवधारणालाई बल पु¥याउने डिजाइन र रेखाचित्र तयार गर्ने काममा जोड दिएको छ । साथै अध्ययन प्रतिवेदनले तानसेन नगरलाई सम्पदा, संस्कृति, पर्यटन, र सम्पदा सशहरको रूपमा विकास गर्न सघाउने मोडलहरु सिफारिस गर्ने विश्वास गरिएको छ । पर्यटनको माध्यमबाट तानसेन बजारको शिथिल आर्थिक गतिविधिमा गति ल्याउने, र वरिपरिका ग्रामीण वडाहरूको आर्थिक क्रियाकलापमा चलायमान ल्याउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । प्रतिवेदनले पूर्णता प्राप्त गरेपछि, तानसेन नगरपालिकामा एक बृहत सहभागितासहित विधिवत रूपमा नगरपालिकालाई हस्तान्तरण गरिनेछ । यो प्रतिवेदन कार्यान्वयनको मुख्य जिम्मेवारी नगरपालिकाकै हुनेछ । कार्यान्वयनका लागि तानसेन गुठी, काठमाडौं र पाल्पा सरोकार समाजले उत्प्रेरक र सहयोगी भूमिका निर्वाह गर्ने छन् । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले यसअघि नै प्रतिवेदनले औलाएका सुझावको कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइसकेको अवस्था छ ।

अध्ययनका समयमा हरेक टोल , मञ्च र समूहगत या व्यक्तिगत छलफलका क्रममा केही प्रश्न र जिज्ञासा पनि आउने गरेको सन्दर्भमा जिज्ञासा सान्तपार्नका लागि भनिएको थियो यो प्रतिवेदन कार्यान्वयन गर्ने लायक हुुनेछ र नगरपालिकाद्धारा कार्यान्वयन गरिनेछ ।  यो उत्तरसुन्दा नसुन्दै केही जिज्ञासुहरुको अनुहार र हाउभाउबाट बुझिन्थ्यो नपाले कार्यान्वयन गर्ने हो भने झनै सम्भव छैन । यसबाट बुझ्न सकिन्छ प्रतिवेदनको कार्यान्वयनको सुनिश्चितता छैन्  यो एउटा गम्भिर विषय हो । किन नगरपालिका प्रति काम गरिन्छ भन्ने विश्वास लिन सकिरहेका छैनन् ? यस विषयमा नगरपालिकाद्धारा संवेदनशिलताका साथ ध्यान पुर्‍याउन जरुरी छ । ।

प्रारम्भमा टक्सार टोललाई खुला संग्रहालयको रुपमा विकास गर्न अध्ययन गर्ने प्रयोजनका लागि तयार भएको अवधारणालाई अध्ययनकर्ताहरुको सख्याका कारण क्षेत्र विस्तार गर्नु पर्दा त्यसका लागि आवश्यक श्रोतको व्यवस्थापनमा समस्या देखिनु स्वभाविक हुन आउछ । तर यसका लागि तानसेनगुठी काठमाडौं समक्ष गरिएको अनुरोध र तानसेन नगरप्रमुखको व्यक्तिगत चासो र सहयोगका अतिरिक्त नगरपालिकको समेत संलग्नताबाट श्रोतको पूर्ति हुन सक्यो । यसरी सीमित श्रोत र साधनको उपयोग गरी ४६ जना आर्किटेक्टहरुबाट गहिरो रुचिसहित गरिएको अध्ययन पश्चात तयार पारिएको यो महत्वपूर्ण दस्तावेज कार्यान्वयन हुनेछ । यो प्रतिवेदन सहयोगमा यसको कार्यान्वयनका लागि आवश्यक पर्ने श्रोत जुटाउने बलियो दस्तावेज पनि हो । आलेखकर्ता अवधारणाको निर्माण र तानसेन गुठी र  नगरपालिकालाई यस अध्ययनमा आर्थिक सहयोग जुटाउन वा व्यवस्था गर्न प्रेरित गरेको हैसियतले पनि भन्न सकिन्छ यो कार्यान्वयनमा जानेछ । जान जरुरी छ । तानसेनको भविष्य पर्यटन नै हो र नगरपालिकाद्धारा अब प्रथम प्राथमिकतामा लिनु पर्दछ । कार्यान्वयनमा आवश्यक पर्ने श्रोत व्यवस्थापनको लागि नगरपालिकाकै सक्रियतामा सम्भव भएसम्मको आफ्नै उपलब्ध आन्तरिक श्रोतको परिचालन पनि गर्नुपर्नेछ भने अन्य बाह्य स्रोतका सम्भाव्य नगर विकास कोष, एसियाली विकास बैंक, विश्व बैंक लगायतका विभिन्न निकायबाट सफ्ट लोनको व्यवस्थामा प्रवेश गरेर भए पनि यो कार्यान्वयनमा लैजानु पर्नेछ  र गरिनेछ । प्रतिवेदनलाई थप परिष्कृत गर्दै पूर्णता दिने कार्यमा लामोसमयदेखि क्रियाशील यसै क्षेत्र सम्वद्ध व्यक्तित्वहरूलाई सामेल गरी सहकार्य गर्ने रणनीति तयार गरिएको छ । तानसेनसँग नजिकको सम्बन्ध रहेका  प्रायः यहाँकै अनुभवी वास्तुकलाविद् , योजनाकारहरू र अन्य विज्ञहरुले परिणाममुखी कार्यान्वयनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता जनाउने विश्वास दिलाई सकेको अवस्था छ । आवश्यकता अनुरुपको समूह तयार गर्न सहयोगका लागि रोष्टर समेत व्यवस्था गरिएको छ ।

तर पनि प्रतिवेदन कार्यान्वयनका लागि तानपाले गर्नपर्ने कार्यहरु निम्न प्रकारका छन् :
१  प्रतिवेदन कार्यान्वयनका लागि नीति तथा कार्यक्रममा समावेश गर्ने ।
२) प्रतिवेदनमा औल्याइएका विविध विकल्पहरुका बारेमा निर्कोल गरी चरणवद्ध रुपमा अगाडि बढ्न प्रतिवद्धता व्यक्त गर्नुपर्ने ।
३) सम्पदा संरक्षण, जिर्णाेद्धार र प्रवद्र्धनका लागि सम्पदा संरक्षण र विकास शाखा गठन गरी आवश्यक जनशक्ति व्यवस्था गर्नुपर्ने।
४) सम्पदा, संस्कृति र ऐतिहासिक एवं विधागत पर्यटन प्रवद्र्धनका लागि बेग्लै पर्यटन बोर्ड र बोर्डद्धारा गुरु योजना बनाई तानसेनको विशेष पहिचानका लागि कदम चाल्नु पर्ने ।
५) कार्यान्वयनका लागि  आफ्नै श्रोतका अतिरिक्त अन्य बैकल्पिक र सम्भावित श्रोतको परिचालनका लागि तयार हुनु पर्ने  
तानसेनको भविष्य पर्यटनमा निर्भर छ । यो अध्ययनको प्रमुख लक्ष्य नै पर्यटन प्रवद्र्धन हो, जसले तानसेनको पर्यटन प्रवद्र्धनमा दुरगामी प्रभाव पार्ने स्पष्ट छ ।
(लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update