Shittalpati
तानसेनमा गणेश सहकारीले मनायो ११ औं साधारण सभा

पाल्पा, तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले ११ औं साधारण सभा मनाएको छ । सहकारीले विहीबार एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।

सभाको लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि रानाले सहकारीको माध्यमबाट सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकास समेत गर्नुपर्ने बताएका छन् । सांसद रानाले सहकारीले ऋण प्रवाह गर्ने मात्र नभई सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासमा समेत ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।

उनले भने‘ सहकारीले आर्थिक करोबारका लागि ऋण प्रवाह, बचत गर्ने मात्र होइन, प्रत्येक शेयर सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने र प्रत्येक परिवारलाई सहकारीसँग जोड्न प्रण र संकल्प गर्नुपर्छ ।’ सहकारीको माध्यमबाट वृहत्त सोच बनाएर लैजान सहकारी अभियान्ताहरुलाई सांसद रानाले आग्रह  गरे । ‘आर्थिक उपार्जनसँग जोड्दै सदस्यहरुलाई वृहत्त हितमा लगाउँदै जाने हो भने सहकारीलाई अब्बल र सफल बनाउन सक्छौं’ उनले भने । सांसद रानाले गणेश सहकारीले बचत,ऋणप्रवाहसँगै शेयर सदस्यहरुको नेतृत्व र क्षमता विकासमा बेला बेलामा शिक्षा प्रदान गर्दै आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत त्यस्ता कार्यलाई अगाडि बढाउन आग्रह गरे । उनले व्यक्तिको जीवनस्तर सुधार गर्नु अहिलेको आवश्यकता रहेको पनि बताए  । व्यक्तिको अवस्था सुधार भए मात्र समाज र राष्ट्रको अवस्था सुधार हुने भन्दै उनले त्यसतर्फ सहकारीहरुले समेत ध्यान दिनुपर्ने उल्लेख गरे । सांसद रानाले सहकारी सबैको साझा संस्था भएकाले सहकारीमा आवद्ध सबै व्यक्तिहरुको जिम्मेवारी महत्वपूर्ण हुने पनि बताए । सांसद रानाले कुनै पनि संस्था दिगो र प्रभावकारी बन्न त्यहाँ रहेका व्यक्तिहरु इमान्दार, पारदर्शी र लोकतान्त्रिक चरित्र भएको हुनुपर्ने उल्लेख गरे । उनले गणेश सहकारीका सञ्चालकहरु आफैमा इमान्दारी भएकाले पनि संस्था पारदर्शी रहेको आफुले महसुस गरेको बताए । सांसद रानाले सहकारीको माध्यमबाट सामाजिक जागर समेत ल्याउनु अहिलेको आवश्यकता रहेको उल्लेख । उनले सबैले राजनीति गर्नु पर्छ भन्ने छैन् तर राजनीति चाहिँ बुझ्न आवश्यक रहेको बताए । फरक प्रसंगमा सांसद रानाले लामो संघर्षपछी ल्याइएको संविधानको कार्यान्वयन पक्ष महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा तानसेन नगरपालिकाका सहकारी विभाग प्रमुख विष्णु पौडेलले तीन खम्बे अर्थ नीति मध्ये सहकारी एक भएको बताए । उनले आर्थिक विकासमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको औल्याए । प्र्रमुख पौडेलले गणेश सहकारीले आफुलाई विश्वासीलो सहकारीका रुपमा स्थापित गर्न सफल भएको धारणा व्यक्त गरे । उनले पछिल्लो समय सहकारीमा अनुशसान नहुँदा केही सहकारीहरुमा समस्या आएको बताए । पौडेलले तानसेनका सहकारीहरुमा भने त्यस्तो समस्या नरहेको उल्लेख गरे । सहकारीका लेखापरीक्षक राधेश्याम ज्ञवालीले सहकारीको प्रगति लोभ लाग्दो रहेको बताए । उनले भने ‘गत बर्षा  भन्दा सदस्य वृद्धि भएको, पुँजी र ऋण लागानी पनि बढेको छ ।’ यस वर्ष भने सहकारीको नाफा घटेको उनको भनाई छ । पुँजी बराबरको लागानी हुँदा नाफामा कमी आएको ज्ञवालीले बताए । सहकारीका कानुनी सल्लाहकार शिव प्रसाद देवकोटाले केही सहकारीहरुले नियम कानुनको आत्मसाथ नगर्दा समस्या आएको भन्दै गणेश सहकारीले भने सहकारीको सिद्धान्न, मर्म र नियम कानुन अनुसार आफुलाई अगाडि बढाएको उल्लेख गरे । नवजनचेतना राष्ट्रिय दैनिकका सम्पादक रामचन्द्र रायमाझीले पछिल्लो समय देशभर सहकारी अपचलनका समाचारहरु आइरहेकाले त्यसतर्फ सबै सर्तक हुन आग्रह गरे ।

कार्यक्रममा सहकारीका अध्यक्ष विष्णु गाहाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सहकारी अगाडि बढेको बताए । उनले सहकारीका शेयर सदस्यहरु  वृद्धि गर्दै जाने, ७० वर्ष नाघेका जेष्ठ सदस्यलाई सम्मान गर्ने, उत्कृष्ट बचत तथा कर्जा कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने, शेयर सदस्यहरुलाई उपचार खर्च दिने लगायतका वार्षिक योजना ल्याइएको बताए । अध्यक्ष गाहाले ढुक्क भएर लागानी गर्न सदस्यहरुलाई आग्रह समेत गरे । कहि कतै सहकारीमा समस्या आए पनि  गणेश सहकारीमा त्यस्तो समस्य नरहेको उनले उल्लेख गरे । सहकारीको मूल्यमान्यता अनुसार काम गरे पनि ऋण असुलीमा दरिलो नीति र कानुनी प्रावधान नहुँदा साना सहकारीहरुलाई समस्या रहेको उनले बताए । अध्यक्ष गाहाका अनुसार सहकारीमा अहिले १ हजार ३ सय ८९ जना शेयर सदस्य रहेका छन् । कार्यक्रममा लेखा समिति संयोजक हेमानसिं सारुले लोखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष चन्द्रबहादुर खाम्चाले चालु आर्थिक वर्षको आर्थिक बर्ष २०८१/८२ को एक करोड ७० लाख ४० हजार बराबरको वार्षिक अनुमानित आय–ब्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहकारीले जेष्ठ नागरिक भद्र बहादुर थापा, रामबहादुर गाहा, कान्ति कुमारी थापालाई सम्मान गरेको छ । यस्तै सहकारीले उत्कृष्ट शेयर सदस्य, नियमित बचतकर्ता, बाल बचतकर्ता, असल बचतकर्ता, एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र कर्मचारीलाई समेत सम्मान गरेको छ । संस्थाका अध्यक्ष विष्णु गाहाको अध्यक्षता, उपाध्यक्ष दलबहादुर थापाको स्वागत, सचिव कान्ति माया आलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update