Shittalpati
लक्ष्मी सहकारीको २२ औं साधारण सभा

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा २०५९ सालमा स्थापना भएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २२ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशन मनाएको छ । सहकारीले शनिबार एक समारोहका बिच साधारण सभा तथा अधिवेशन गरेको हो ।

सभाको संस्थाका अध्यक्ष हरी रायमाझीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटनसँगै वार्षिक प्रतिवेदन प्रस्तुुत गर्दै अध्यक्ष रायमाझीले सहकारीको अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै समृद्धिको दिशामा आफुहरु अगाडि बढेको बताए । उनले भने ‘सहकारीको माध्यमबाट सदस्यहरुबिच आत्मीयता, सद्भाव, र एक आपसमा मैत्री भावको विकास गर्दै सदस्यहरुको आर्थिक उन्नति र व्यवसायिक बनाउने दिशामा हामीहरु अग्रसर रहेका छौं ।’  शेयर सदस्यहरुको दुर्घटना बीमा बापतको रकम यस वर्ष पनि ५ लाख कायम गरिएको अध्यक्ष रायमाझीले बताए । उनले शेयर सदस्यहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने रोग लागेमा संस्थाले आफ्नो गच्छे अनुसार सहयोग गर्ने पनि बताए । कार्यक्रममा जेष्ठ नागरिक देवप्रसाद बज्रचार्य, क्षयरोग निवारण संघ पाल्पाकी सभापति शोभा शाक्य, निर्वाचन अधिकृत राधेश्याम ज्ञवाली लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सहकारीका सचिव उत्तम कुमार बज्राचार्यले प्रगति प्रतिवेदनसहित आर्थिक वर्षको कारोबारको यथार्थ विवरण र चालु आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुुत गरेका थिए । उनले संस्थाले सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गरी आर्थिक वर्ष २०८०/०८१ मा कारोबारबाट ३२ लाख ९५ हजार ९ सय ४५ बचत नाफा गर्न सफल भएको बताए ।  लेखा समिति संयोजक विमला शाक्य बज्राचार्यले  लेखासमितिको प्रतिवेदन प्रस्तुुत गरेकी थिइन् । सहकारीले सोही अवसरमा ५ जना जेष्ठ शेयर सदस्य, १० जना असल कारोबारकर्ता, ९ जना कर्मचारीलाई  समेत सम्मान गरेको थियो । संस्थाका अध्यक्ष हरी  रायमाझीको अध्यक्षता, उपाध्यक्ष ओम मलेगोको स्वागत, सचिव उत्तम कुमार बज्रचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो । ३० जना शेयर सदस्यहरुबाट सुरुवात गरेको सहकारीमा अहिले १ हजार ५ सय ७४ सदस्य रहेका छन् । जसको शेयर पुँजी दुई करोड ६ लाख ३८ हजार २ सय छ भने बचत संकलन २९ करोड २२ लाख ६६ हजार १ सय ४६ रहेको छ । 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update