Shittalpati
आनन्द सहकारीले मनायो १४ औं साधारण सभा

पाल्पा, ‘क्रमिक बचत गर्ने बानी बसालौं, बोट नमासी मिठो फल खाऔं’ भन्ने नारालाई आत्मसाथ गर्दै समृद्धिको दिशामा अब्वल बन्दै आएको आनन्द बचत तथा ऋण सहकारी संस्था तानसेनले १४ औं वार्षिक साधारण सभा मनाएको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमकाबिच साधारण सभा गरेको हो ।

संस्थाका अध्यक्ष सर्जुलाल बज्राचार्यले सभाको उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै अध्यक्ष बज्राचार्यले सहकारीको अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै समृद्धिको दिशामा आफुहरु अगाडि बढेको बताए । उनले भने ‘सहकारीको माध्यमबाट सदस्यहरुबिच आत्मीयता, सद्भाव, र एक आपसमा मैत्री भावको विकास गर्दै सदस्यहरुको आर्थिक उन्नति र व्यवसायिक बनाउने दिशामा हामीहरु अग्रसर रहेका छौं ।’ अध्यक्ष बज्राचार्यले पछिल्लो समय देशका केही सहकारी संस्थाहरुमा रकम हिनामिना भएका घटनाहरु घटिरहेको भए पनि आफुहरुको संस्थामा त्यस्तो समस्या नरहेको बताए । उनले भने ‘ हामीले पूर्ण विश्वास दिलाउन चाहान्छौं, कि यो संस्थामा कुनै किसिमको समस्या नभएको हुँदा तपाईहरु ढुक्क भई कारोबार गर्नुहुन म यसै गरिमामय सभामार्फत अनुरोध गर्दछुु ।’ अध्यक्ष बज्राचार्यले राज्यले पुजीगत  खर्च गर्न नसक्नु, वित्तिय क्षेत्रमा तरलता थुप्रन जानुु, ऋण लिएर लगानी गर्ने ढुक्क क्षेत्र नहुनु, नगद बजारमा देखा परेको असहज अवस्था राज्यबाट सिर्जना गर्न नसक्नु जस्ता कारणहरुले वर्तमान वित्तिय संस्थाहरुले अनेकौं दुख झेल्नु परेको भन्दै समाधान गर्ने उपयुक्त उपाय अवलम्वन गर्न तीनै तहका नियमनकारी निकायहरुलाई आग्रह गरे ।

सभामा उनले संस्थामा आवद्ध भई हाल निष्क्रिय रहेका सदस्यरुलाई हटाउने प्रस्ताव सभामा पेश गरेका थिए ।  पेश गरिएको प्रस्तावमा संस्थामा आवद्ध भई हाल निष्क्रिय सदस्यहरु मध्ये २/३ वर्ष भन्दा बढी समयसम्म कुनै कारोबार नगरी निष्क्रिय रही कुुनै कारोबार नगर्ने शेयर सदस्यहरुको दायित्वलाई भुक्तानी दिन बाँकी हिसाबमा राखी सदस्यबाट हटाउने उल्लेख गरिएको छ । अध्यक्षले राखेको उक्त प्रस्तावमा सभाले  निष्क्रिय शेयर सदस्यहरुको बचत तथा शेयर रकम भुक्तानी दिनुपर्ने हिसावमा जम्मा गर्ने गरी सर्वसम्मवत रुपमा पारित गरेको संस्थाका प्रवन्धक प्रकाश शर्माले जानकारी दिए । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा ऋण उपसमितिका संयोजक सरोजलाल शाक्यले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/०८१ म १५ करोड १२ लाख ८४ हजार ८ सय ऋण लगानी गरिएको बताए । उनले  विगतका नजिरको आधारमा सदस्यहरुको ऋणको माग संस्थाको क्षमता तथा तरलताको अवस्थालाई ध्यानमा राखी ऋणी माग भएका निवेदनको स्थलगत पूूर्व निरीक्षणको आधारमा ऋण स्वीकृत गर्ने गरिएको उल्लेख गरे । उपाध्यक्ष शाक्यले भने ‘ हामीले नयाँ व्यसायिक उद्यमशीलतासँग सम्बन्धित ऋणीहरुलाई उच्च प्राथमिकता दिएर लगानी गरेका छौं ।’ संस्थाका कोषाध्यक्ष विनयराज बज्राचार्यले आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ९८ लाख ८६ हजार  बराबरको  अनुमानित बजेट प्रस्तुत गरेका थिए । यस्तै लेखा समितिका संयोजक शोभामान बज्राचार्यले लेखा समितिको प्रतिवेदन र सचिव रत्नमान बज्राचार्यले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु छत्रराज शाक्य, देवेन्द्रमान शाक्य, चित्रवलीराम सुवाल, डा. पुरनमान बज्रचार्य लगायतले सहकारीले छोटो समयमै समृद्धिको दिशामा फड्को मार्न सफल भएको बताए । उनीहरुले संस्थालाई दीगो र प्रभावकारी बनाउन समर्पण, प्रतिवद्धता र पारदर्शी हुनुपर्नेमा जोड दिए । सल्लाहकारहरुले सहकारीहरु अब एक जुट भएर अगाडि बढ्ने बेला आएको धारणा व्यक्त गरे ।

नवजनचेतना राष्ट्रिय दैनिकका सम्पादक रामचन्द्र रायमाझीले देशभर सहकारी अपचलनका समाचारहरु आइरहेकाले त्यसतर्फ सर्तक रहन शेयर सदस्यहरुलाई आग्रह गरे । उनले केही सहकारीहरुले ऐन, नियम विपरीत ऋण प्रवाह गर्दा रकम डुब्ने गरेको भन्दै ऋण प्रवाह गर्दा सहकारीको सिद्धान्न र नियमको परीधीमा रहेर प्रवाह गर्नुुपर्नेमा जोड दिए । सम्पादक रायमाझीले आनन्द सहकारीका गतिविधिहरुलाई ४/५ वर्ष अघिदेखि नै राम्रोसँग आफुले नजिकबाट नियाल्दै आएकाले यो सहकारीमा त्यस्तो कुनै समस्या नरहेकाले  ढुक्क साथ रकम संकलन गर्न शेयर सदस्यहरुलाई आग्रह गरे । उनले भने ‘सहकारीको वार्षिक प्रतिवेदनबाटै संस्था कति  पारदर्शी र सवल छ भन्ने कुरा प्रष्ट हुन्छ, त्यसैले पनि यो सहकारीमा ढुक्कले लगानी गर्न सकिन्छ भन्ने मैले बुझेको छुु ।’ कार्यक्रममा शेयर सदस्य सञ्जयराज शाक्य, बालबचतकर्ता किर्तिका बज्राचार्य, जेष्ठ नागरिक शान्ता केसी लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सोही अवसरमा सहकारीले  जेष्ठ शेयर सदस्य, बालबचतकर्ता, असल बचतकर्ता, असल ऋणी,शेयर सदस्यहरुका छोरा छोरी मध्ये एसइईमा उत्कृष्ट अंक ल्याई उर्तिण हुने विद्यार्थीहरुलाई सम्मान समेत गरेको छ । उसले जेष्ठ  शेयर सदस्य शोभामान बज्राचार्य, सुरेन्द्रमान शाक्य, बेगमलाल शाक्य, कृष्ण कुमारी शाक्य, शान्ता केसी, असल कारोबारकर्तातर्फ रेनुु थापा, किशोर थापा, असल बचतकर्तातर्फ कमला बैदवार,बाबुराम न्यौपानेलाई सम्मान गरेको हो । यस्तै एसइईमा उत्कृष्ट अंक ल्याउने  अमिश कर्माचार्य, तपस्सी कुमार बज्रचार्य, हृदयन्द्र राज बज्राचार्य र सिजल बजचार्यलाई सम्मान गरिएको हो । संस्थाका अध्यक्ष सर्जुलाल बज्राचार्यको अध्यक्षता, उपाध्यक्ष सरोजलाल शाक्यको धन्यवाद ज्ञापन, सह–सचिव दिनेश बहादुर बज्राचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update