Shittalpati
‘अख्तियारमा गलत नियतले उजुरी दिँदा सास्ती भयो’

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुुर थापाले  गलत नियतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिदाँ स्थानीय तहहरुले सास्ती भोग्नु परेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी स्थानीय तहस्तरीय अन्तक्र्रिया  कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नगर प्रमुख थापाले आयोगमा गलत नियतले उजुरी दिँदा आफुहरुले सास्ती खेप्नु परेको भन्दै त्यस्ता उजुरी दिनेहरु माथि छानविन हुनुपर्ने धारणा व्यक्त गरे । उनले  गलत नियतले दिएका उजुरीले विकास निर्माणका काम प्रभावित भएको भन्दै उजुरी दिनेहरु माथि पनि छानविन गर्न आयोगलाई आग्रह गरे । ‘कतिपय अवस्थामा ज्ञान नहुँदा काम भाको छ तर मुद्दा पर्ने अवस्था आएको छ । अहिले अख्तियारको जवाफ दिँदा दिँदा हैरान भएको छ । एक जना कर्मचारी नै व्यवस्थापन गरेर अख्तियारको जवाफ लेख्न लगाउनु पर्ने अवस्था सिर्जना भएको छ । यदि गलत नियतले उजुरी हालेको छ भने छानविन गर्न आवश्यक छ’ उनले भने । नगर प्रमुख थापाले समाजमा आफ्नो काम जसरी पनि प्रलोभनमा पारेर गर्ने, अरुको काममा औला ठड्याउने प्रवृति हावी हुँदै गएको पनि उल्लेख गरे । उनले आफुले कुनै गल्ती गरेको छैन् भने कसैले उजुरी हाँल्दैमा डराउन नपर्ने बताए । नगर उपप्रमुख बालकुमारी थापाले अख्तिायारको बारेमा जानेको ज्ञान अरुलाई पनि सिकाउन आवश्यक रहेको बताइन् । उनले न्यायिक समितिले कानुनी सल्लाहाकार राख्न नपाउँदा न्याय सम्पादनमा समस्या भएको गुनासो गरिन् । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले इञ्जिनयरिङको पाटोमा प्रशासनका कर्मचारीलाई थाहा नहुने तर इन्जिनियरले पास गरेको फाईलमा हस्ताक्षर गर्दा पछि प्रशासनका कर्मचारीले पनि मुद्दा खेप्नु पर्ने अवस्था रहेको बताए । रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडा अध्यक्ष कपिलबहादुर खाँणले अख्तियारप्रति जनताको विश्वास बढेको बताउँदै कतिपय अवस्थामा स्पष्ट ऐन तथा कानुनहरु नबन्दा स्थानीय तहमा समस्या देखिएको उल्लेख गरे । दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले अख्तियार दुरुपयोगको विषयमा जानकारी नहुँदा पनि समस्या भएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख सह–सचिव राजेन्द्र कुमार पौडेलले बेनामी उजुरी आयोगले सुचना लिने एउटा माध्यम रहेको बताए ।

उनले दुःख दिने नियतले उजुरी गर्नेलाई ५ हजार जरिवाना तोकिएको र छानविन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । स्थानीय तहमा कतिपय मुद्दा उजुरीको लागि उजुरी गर्ने समस्या देखिएको र नम्बर पनि अन्य व्यक्तिले दिएर उजुरी गर्ने गरेको  पौडेलको भनाई छ । उनले स्थानीय तहमा खरिद र निर्माणको विषयमा सबै भन्दा धेरै उजुरी पर्ने गरेको जानकारी दिए । पौडेलले विद्यमान कानुनको पालना गरी कार्य सम्पादन गरेमा कुनै डर मान्नु नपर्ने बताए । आयोगले विगतमा फिल्ड मै आएर छानविन गरे पनि पछिल्लो समय उजुरी परेमा सुरुवातमा सम्बन्धित कार्यालयबाट जवाफ माग्ने र त्यस पश्चात मात्र फिल्डमा जाने गरेको उनले स्पष्ट पारे । मुद्दा कार्यक्रममा सहभागीहरु रामपुर नगरका सल्लाहाकार विष्णु मायाँ ढकाल,रामपुर–३ का वडा अध्यक्ष दामोदर पाठक, रामतुलसी मा.वि.का प्रधानाध्यापक बालकृष्ण लम्साल, नगरका सल्लाहाकार दिनेश कुमार खनाल, नेकपा (एकिकृत समाजवादी) रामपुरका अध्यक्ष फणेश्वर गौतम, लक्ष्मीनारायण गुठी संस्थाका अध्यक्ष बुद्धि प्रकाश रेग्मी, जनकल्याण माविका प्रधानाध्यापक अनन्त प्रसाद भण्डारी लगायतले दुःख दिने नियतले बेनामी उजुरी पर्दा समस्या भएको बताएका थिए । उनीहरुले अख्तियारको दुरुपयोग गर्ने साना र ठूला सबैको छानविन हुनुपर्ने बताए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका शाखा अधिकृत धर्मराज बुढाले आयोगको तर्फबाट कार्यपत्र प्रस्तुत गरेका थिए । आयोग बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलको अध्यक्षता, सिडिई पुण्यराम सुलुको स्वागत र प्रहरी सहायक निरीक्षक विरेन्द्र कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो । 


 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update