Shittalpati
यस वर्षको दसैं टीकाको उत्तम साइत ११ बजेर ३६ मिनटमा

पाल्पा, यस वर्ष विजया दशमीको साइत असोज २६ गते शनिबार बिहान ११ बजेर ३६ मिनटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ८ बजर ३३ मिनटमा देवी विसर्जन गरी ११ बजेर ३६ मिनटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको हो ।

विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने जनाइएको छ । यस वर्षको नवरात्र अर्थात् दसैं यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । त्यस दिन बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । साथै असोज १८ गते शुक्रबार झण्डा फेर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ । त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने हुन्छ । यसै दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दसैं समापन हुनेछ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । दशैंका दिन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्ने प्रचलन रहेको छ । मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यसैले दशैंको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।


 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update