Shittalpati
बालविवाह रोक्न सहकार्य गरौं

विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिएको छ । शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको हो । तर नेपालमा धेरै ठाउँहरुमा बालविवाह गर्ने÷गराउने प्रचलन यद्यपी अहिले पनि कायमै छ ।

शिक्षित समुदायमा भन्दा चेतनास्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका दलित, जनजाति, मुस्लिम जस्ता समुदायमा बढी पाइन्छ । यादव लगायत अन्य समुदायमा पनि धेर थोर समस्या छ ।  पाल्पामा पनि दलित, जनजाति समुुदाय रहेको  ठाउँमा अझै पनि बालविवाह गर्ने÷गराउने चलन कायमै छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांक अनुसार पाल्पाका गर्भवती महिलामध्ये करिब १३ प्रतिशत बिहे गर्नका लागि नेपालको कानुनले तोकेको न्यूनतम उमेर २० बर्ष भन्दा कमका छन् । बितेका तीन आर्थिक बर्षमा १३ हजार ९ सय ९८ गर्भवती महिला मध्ये एक हजार ७ सय ८१ जना २० बर्ष मुनिका अर्थात् १२ दशमलव ७२ प्रतिशत रहेको पाइन्छ । यसले जिल्लामा अझै पनि बालविवाहको अवस्था कायमै रहेको प्रष्ट हुन्छ । बालविवाह कानुनी रुपमा अपराध हो । नेपालको कानुनले बालविवाहलाई गैरकानुनी मानेको छ । मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अत्यन्त गर्न आवश्यक छ । सानै उमेरमा विवाह गरिदिने प्रचलनले नेपालमा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ । बालविवाह न्यूनिकरणका लागि सरकारी तथा गैरसरकारी तवरबाट विभिन्न प्रयासहरु नभएका हैनन् । तर, पनि ती प्रयासहरुले पूर्णता पाउन सकेका छैनन् ।

गैरकानुनी कार्यलाई रोक्ने र बालविवाह गर्ने गराउने अभिभावक समेतलाई कानूनको दायरामा ल्याउन सकिएको अवस्था छैन । सानो उमेरका बालिकाहरु स्वास्थ्य र मानसिक रुपमा समेत गर्भवती बन्न सक्ने अवस्थाका हुँदैनन् । सानै उमेरमा बालिका गर्भवती भएका खण्डमा आफू स्वस्थ्य रहन र बच्चा समेत स्वस्थ रुपमा जन्माउन नसक्ने भई गर्भवती आमा तथा बच्चाको समेत अकालमा नै मृत्यु हुन सक्छ । त्यसैले उमेर नपुुगी, विवाह गर्ने केटाकेटी आपसमा राजी नभैकन, उनीहरु शारीरिक, मानसिक र व्यवहारिक रुपमा तयार नभैकन विवाह गरिदिनु हुँदैन । तसर्थ यस्ता  खालका समस्याहरु समाधानका लागि बालविवाहको अन्त्य गर्न सरकार, नागरिक समाज, धार्मिक व्यक्ति तथा संस्थाहरू, समाजका नेताहरू र युवाहरूबीच सहकार्य हुन जरुरी छ । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update