जगन्नाथ पन्त
शान्त देखिने मानिस पनि भित्र भित्रै उद्देलित भएर हरक्षण सोचि रहेको हुन्छ । जुन समथर र समतल ठूला नदि सतहमा विस्तारै वगे पनि गहिराइमा तिव्र प्रवाहले वगे जस्तै । विभिन्न काल खण्डमा विद्वानहरुले व्यक्त गरेका भावनाका विचारहरु अनुकूल वा प्रतिकूल रुपमा कालान्तरमा जगतमा मानिसका मनले चिरफार गर्दै संश्लेषण गरि रहन्छ । हाम्रा परिवेशका घटना, काण्डहरु अहिले विशेष चर्चामा छन् । समर्थकपछि लागेको देखेर आफ्नो विचार सफल भएको ठानी मख्ख पर्नेले समर्थकलाई रनभुल्ल पार्दा रहेछन् तर पनि अनुयायी, समर्थक फसी रहन्छन्, विचित्र पाराले । कुन विचार कसले कहिले के प्रसंगमा भनेथे नाम र काल समय उद्दरण नराखी कुनै आफ्नै सांचोमा पस्कने जमर्को गरेको छु । हुन सक्छन् कुनै विचार संयोगबस अरुको जस्ताको तस्तै परेका ,कुनै मिल्दाजुल्दा र कुनै विरोधाभाषी ।
हामी जे जति जानेका छौं त्यो एक थोपा बराबर हो । जो जानेका छैनौ त्यो महासागर बराबर छ । जन्मदा र मर्दा एक्लै हो भन्ने थाहा छ तर पनि आफन्तसँग, अरुसँगै जीउने चाहना हुँदो रहेछ जीवको We don't see things as they are. We see them as we are. जन्म हाम्रो वसमा छैन्, मृत्यु हाम्रो वसमा छैन् तर जन्म र मृत्युको बीचमा रहँदा आफ्नो भनी रहेका छौ, विचित्र छ । विना मुहूर्त जन्मेर जीवनभर शुभ मुहूर्तको चक्करमा चक्कर खादै विना मुहूर्त मर्छ मान्छे । कस्तो विचित्र छ । यो संयोग हो कि हामी कहाँ जन्मियौ,कुन देश, स्थान, कसको कोखमा, घरमा, जहाँ जे भाषा बोलिन्छ, जे धर्म, संस्कार छ त्यहि भयौं । समय र परिस्थिति कुनै पनि बखत बदलिन सक्छ, कसैको खराब समय र स्थितिका प्रति हेय नगर्नु,आफुलाई कसैको आवश्यकता पर्दैन भन्ने घमण्ड र सबैलाई आफु चाहिन्छ भन्ने भ्रम पनि उचित छैन् । सारा जगतलाई मित्र देख्दैमा सबै मित्र त हुँदैन्, तर शत्रु भने तपाईं आफ्नो मनबाट समाप्त हुन्छन् । अरुले जसले तपाईलाई शत्रु मान्छ त्यसले तपाईलाई पीडा हुँदैन । शत्रु देख्नेलाई नै पीडा हुन्छ । कुभलो चिताउने कुरौटेहरुको सदा सम्मान भाव राख्नु, किनकि तपाईको अनुपस्थितिमा उसले तपाईको नामको चर्चा गरि रहेको हुन्छ । घाँटी खसखस गरो भन्दैमा पटुकीमा गाठो नपार्नु ।
जुन तत्वमा ध्यान दियो, त्यही तत्व सक्रिय हुन्छ र तुरुन्तै जीवनचर्यामा प्रवेश गर्न शुरु हुन्छ । यो मनोविज्ञानका साथै अलौकिक नियम पनि हो । यदि तपाईको मनले दुःखको स्मरण गर्छ भने सदैव दुखी बनाउँछ,सुखको स्मरण गर्छ भने सदा सुखी बनाउँदछ । अरुका आनन्दमा आनन्दित हुन सक्नु आध्यात्मिकता हो । अरुलाई आनन्द दिन सक्नु आत्माको फैलावट हो । तर अक्सर मान्छे अरुको दुःख कष्ट पिडामा त दुःख जचाउँछ तर अरुको आनन्दमा खुसी हुन नसक्दो रहेछ । त्यसैले त कोहि मर्दा समवेदना जनाउँछ,विरामी हुँदा दुख देखाउँदछ, धन सम्पति जोड्यो, पदमा पुग्यो, सफल भयो भने डाहाले मुरमुरिन्छ । सरापी रहन्छ । भलै ङिच्च गर्दै बधाई देओस् । हुन त स्यालको सरापले बाछो मर्दैन भन्ने उखान नै छ । कुनै दुष्टात्म छ भने त अरुको नोक्सानीमा आनन्दित हुन पनि वेर लगाउँदैन । चाहिए भन्दा बढी बाठो हुनु र निश्छल व्यक्तिसंगको छल पतनको द्वार हो । जति सिपालु शतरंगको खेलाडी भए पनि समुल नष्ठ हुन्छ । युद्धिष्टिरलाई पासामा कपट गर्दा कौरवको हालत जस्तै हुन्छ ।
एक लोटा जल अनि मनमा हजारौँ छल,
अनि कसरी हुन्छ समस्याको हल,
जे रोप्यो फल्ने त त्यहि हो फल,
चाहे दैनिक चढाओं गंगा जल ।
मानिस पाप गर्दा, अपराध गर्दा डराउँदैन् । पाप,अपराध खुल्ने डरले डराउदो रहेछ । मानिसको स्वभाव नै उसको भविष्य रहेछ । स्वभाव छल कपटको तर देखावटी रुप उपकारी भएपछि कलि आजको भोलि भने झै तुरुन्तै नांगिदो रहेछ । झुठलाई पनि विश्वास गर्ने सोझा मानिससँग झुठ बोलेपछि झुठ्को पटाक्षेप हुँदो रहेछ । लामो धागो र लामो जीब्रो अल्झिन्छ । जीब्रोले ख्याती कमाएकाहरु जीब्रोलाई लगाम दिन नसक्दा आफ्नै बोली नाग पास सावित हुँदो रहेछ । जीब्रो नसुध्रिएकाको जीवन सुध्रिदो रहेन छ । Dislocate of words is as harmful as push the button and destory the world by nuclear bomb. धोके वाजमा मीठो बोल्ने खुवी हुन्छ तर टिक्दो रहेन छ । ग्यारेन्टी त के वारेन्टी पनि नहुँदो रहेछ । न्याय र नीति लक्ष्मीका खेलौना हुन, धनले जसरी चाहो त्यसरी नचाउँछ भन्ने सधै कहाँ लागू हुन्छ र ? आचारात् लभते आयुः, आचारात् लभते श्रीयम्, आचारात् कृर्ति प्राप्नोति, आचारमेव उत्तमः मोतीराम भट्ट तीस वर्ष मात्रै बाँचे तर अहिलेसम्म जीवित छन् । आदि जगद्गुरु शंकराचार्य बत्तिस वर्ष मात्र बाँचे तर युगौं युग जीवित छन् । वी.पी,गणेशमान, पुष्पलाल,मदन, कृष्णप्रसाद मरेर पनि जीवितै छन् । तर अहिलेका कतिपय जीवित भएर पनि आम मान्छेका नजरमा मरे सरह छन् । किनकि यी आफू र परिवारका लागि मात्र बाचेका छन् । जबकि जिम्मेवारी देशको वहन गर्ने पदमा छन् । भ्रमित, तर्सित, भयभित रुपमा बाचेका छन् । एक्लै हिड्न,डुल्न, बस्न, सकस छ । आचारण शुद्ध छैन भन्ने जनताले ठानेका छन् । अरु नभए पनि लक्ष्मीले जोगाउँछिन् भन्ने छ र त होला लक्ष्मीकै शरणमा छन् । यिनीबाट कसैले केही पाउन लक्ष्मी नै सुत्रधार छन् । लक्ष्मी थपिदिनेले पटक–पटक र रोजिरोजी अवसर पाएका छन् । लक्ष्मी कमाउ सापेक्ष धर्म बनेको छ । एकाध अपवाद बाहेक । धर्मको पैरवी गर्नेले गर्ने अधर्मी कार्य झन् छरपष्ट छन् । मानव सेवाको ध्येय देखाएर अर्काको खल्ती रित्याएर घाटा लाग्यो भनेर उन्मुक्त छन् । व्यापारका लागि गरेको कि पुण्यका लागि ? यहाँ सापेक्ष वा निरपेक्ष धर्मको कुरा गर्नेहरु सबै दिशाहिन प्रतित छन् । निरपेक्षहरु विदेश जाँदा पहिरन फेरेर मन्दिर दर्शन गर्छन्, स्वेशमा लाज मान्छन् । नेपाल हिन्दू धर्म देश हो भनेर घोषणा गर भन्नेले नित्य, नैमित्य पुजा गर्दैन, भजन कृतन गर्दैन । निरपेक्ष भन्नेले प्रमुख अतिथी बनेर दियो प्रज्वलन गर्छन् र मख्ख पर्छन् । उस्तै परे एक छिन भजनमा नाच्छन् पनि । जुन सुकै धर्मका नाममा कट्टरता हुन्छ नशालु पदार्थको लत जस्तै भनेर कार्लमाक्सले धर्मलाई अफिम भने । माक्सवाद, लेलिनवाद र माओवादलाई कम्युनिजम दर्शन र त्यसमा आस्था राख्नेलाई कम्युनिष्ट भनियो । राजावादी,अरु अरुमा आवद्ध पण्डित, पुरोहितले भन्नु र कम्युनिष्टमा आस्था राख्ने बीच विचारको घनिभूत फरक छ । भोट कम्युनिष्टलाई, प्रचार पनि, कम्युनिष्ट संगठनमा आवद्धता पनि तर हिन्दू धर्मका पुराण, शास्त्र कथा वाचन । पुरोहित्याइँ पनि र सनातन हिन्दू राष्ट्र घोषणा गर पनि भन्ने । विचित्र छ । अनि यस्तोमा हिन्दू राष्ट्र भए के, नहुँदा के फरक हुने हो र ? आफ्नो धर्म मान्न संविधानले रोकेको छ र ? आफ्नो कुनै एउटा सानो गाउँलाई हिन्दू गाउँ घोषणा गरौं, जातिपाती, छुवाछुद, विभेद निर्मूल गर्न सफल भयौं भने बनाओं हिन्दू राष्ट्र ।
संविधानमा नलेख्दैमा नेपाल हिन्दू राष्ट्र हो भन्न प्रतिबन्ध छैन् क्यारे । माक्सले कुनै धर्म मानेनन्, लेनिन कृश्चियन थिए, माओले तावो धर्म मान्थे रे, वीपी, जीपीले जनै लगाउदैनथे रे, वीपीले आफ्नो क्रिया नगर्नु भनेका थिए रे भन्ने सुन्थिम सानो छदा, हो होईन ? जानकारले भन्नु होला । नेपालमा कुनै पनि कम्युनिष्ट नेताले हिन्दू राष्ट्र हुनु पर्छ भनेको सुनिएको छैन । हुन त बहसमा आउला माक्सले भने जस्तो हाम्रा पार्टिले धर्मलाई नकारात्मक रुपमा लिएका छैनन् । व्यक्तिगत आस्थामा राप्रपा, काँग्रेस र कम्युनिष्टमा भेदाभेद छैन् । नामको पछाडी कम्युनिष्ठ जोड्नु बाध्यता हो, ब्राण्ड नेम हो नेकपा । तर पनि तपाईले भोट दिएकाले शपथ लिदा ईश्वरको नाममा भन्ने शव्द पढ्दैनन्, तर तपाई ईश्वर मान्नु हुन्छ । पुजा,पाठ मात्रै हो र शास्त्र, पुराण कहनु हुन्छ, होइन र ? हजुरको आस्था विश्वास, स्वतन्त्रताको उच्च कदर गर्दै अनुनय छः कुन विचार प्राधान्यता हो ? चुनावी गठबन्धन हुँदा घात भयो भनेको पनि यसै विषयमा हो । कतिपयले भने कि म विहानै पुजा पाठ गरेर, चन्दन लगाएर उनलाई भोट दिन जाँदैछु जसले जिते पछि शपथ खादा ईश्वर शव्द बोल्ने छैनन् । अनि मतदान कक्षमा घण्टी बजाएर फर्के । त्यस्तै कतिले भने अनौ समाएर फर्के । यसको अर्थ मैले धेरै पछि मात्र बुझे । झुठो टिक्दैन, सत्य डग्दैन भन्ने उक्तिमा केहि न केहि दम अवश्य छ । मजदुरी गरेर, छाक काटेर जम्मा गरेको पैसा विरामी भएर उपचार गर्न पर्दा समेत फिर्ता माग्दा नपाएका कारण नाङगिएका केहि सहकारी उपरको कारवाही माग कसैलाई फसाउन जटिल देखाइएको होइन होला ।
मान्छेले दुख भुल्न सक्छ तर दुख दिनेलाई कदापी भुल्न सक्दैन । नकारात्मक सोच भएका मान्छेमा हरेक समाधानका लागि एक न एक समस्या हुन्छ । मुर्खता र विद्वत्तामा फरक छ । वुद्विमताको सीमा हुन्छ तर मुर्खताको सीमा हुँदैन । बुद्विमान संदेह गर्छ तर मुर्ख आत्म विश्वासी हुन्छ । हुन त यो संसारमा अरु वस्तु कमी छ मेरो भनेर मान्छेले भन्ला तर मेरो वुद्वि कम छ भनेर कसले पो स्विकारेको छ र । आफ्ना लागि सबै बाठा छन् । आफ्नो दोष कसैले देख्दैन, जुन दिन देख्छ अनि मात्र मान्छे मनुस्य बन्छ । सबै विषय सत्य सत्य कसैले पनि भन्दैन । भन्यो भने विखण्डन हुन्छ सम्बन्धमा । चाहे त्यो सम्बन्ध पारिवारिक, सामाजिक, राष्ट्रिय वा अन्तर्राष्ट्रिय होस् । विश्वासिलो त केवल घडी मात्रै हो, यसले नढाट्ने भएर त घडिको समय सबैले विश्वास गर्छन्, सूर्य,चन्द्र, ग्रह, नक्षत्र सबैको गति समयले हिसाव हुन्छ । क्षण भंगुर छ जीवन । तर हजारौं वर्ष बाच्ने चिन्ता गर्छ, जम्मा गर्ने कुचेष्टा गर्छ मान्छे । कम वस्तुका साथ जीउनु सबै भन्दा ठूलो दौलत हो भन्ने जसले बुझ्यो आनन्दित जीन्दगानी हुन्छ त्यसको । केहि पाउन दौडधुप गर्नु र केहि दिन दौडधुप गर्नुमा फरक छ । बुद्वले, रामले, कृष्णले, यशुले,मोहम्मदले, नानकले, महाविरले, अरु यस्तैले र उनका सच्चा अनुयायीको दौडधुप,ऋषि मुनी, महर्षीहरुको दौडधुप र हाम्रो दौडधुपमा फरक छ । केहि दिनका लागि दौडधुप गर्न सिकौ, लिनका लागि होईन । लिएर जम्मा गरेको कसले पो देहसँगै लगेको छ र ।