Shittalpati
परीक्षण नहुँदा गाउँमा खतरा

भारतबाट आएका नागरिकलाई कोरोना परीक्षण नगरेरै केही स्थानीय सरकारहरुले गाउँ–गाउँ पुर्‍याउन थालेका छन् । भारतमा रेलसेवा सुरु भएसँगै त्यहाँबाट गाउँ फर्कने क्रम सुरु भएको छ । सयौं नागरिकहरु स्वास्थ्य परीक्षण बिनै गाउँ पुगेका छन् । अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पाल्पा र कम संक्रमित देखिएको गुल्मीमा स्थानीय सरकारहरुले भारतबाट आएका नागरिकलाई परीक्षण बिनै गाउँ पठाउन थालेपछि संक्रमणको खतरा बढेको छ ।

प्रदेश सरकारले उनीहरुलाई क्वारेन्टाइन र आरडिटी टेस्ट गर्न भने पनि केही स्थानीय सरकारहरुले बिना परीक्षण नै घर पठाएका छन् । धमाधम परीक्षण बिनै भारतबाट आएका नागरिकलाई बसमा राखेर गाउँ पठाईदा गाउँमा खतरा बढेको छ । गाउँ फर्कनु नराम्रो होइन । केवल बेला–कुबेला भन्ने मात्र हो । खासगरी महामारीका सन्दर्भमा त यो चिन्ताजनक पनि छ । त्यो ठाउँमा केही भइहाल्यो भने जोगिन सहरका भन्दा बढी गाह्रो हुन्छ । कुनै पनि सरुवा महामारी आइपर्दा गाउँमा धेरै ठूलो क्षति हुने गरेका विगत छन् । यतिबेला सरकारको दायित्व हुन्छ, गाउँलाई संक्रमित हुनबाट रोक्नु, संक्रमण देखिए तत्काल त्यसलाई नियन्त्रणमा लिएर विस्तार हुन नदिनु । कोरोनाको प्रकृति लामो समयपछि मात्र जानकारीमा आउने खालको छ । त्यसमाथि शंका लागेको अवस्थामा परीक्षणको प्रविधि पनि सहज छैन । यस्तो बेला बाहिरबाट गएको जनसंख्यालाई निगरानीमा राख्न जरुरी छ । स्थानीय सरकारले व्यवस्थित तवरबाट विदेशबाट आएका र कोरोना हुनसक्ने शंका भएका व्यक्तिलाई तत्कालै आरडिटी परीक्षण गरेर मात्र होम क्वारेन्टाईनमा पठाउनुपर्छ । भारतबाट आएकाहरुबाटै कोरोना संक्रमणको जोखिम बढी हुन्छ । त्यसैले गाउँ फर्किएकाहरु सबैको परीक्षण गर्न जरुरी छ । कोरोना जस्तो महामारीमा कसैले पनि खेलवाड नगरौं । बरु संक्रमित ठाउँबाट घर फर्किएका सबैलाई अनिवार्य आरडिटी र पीसीआर परीक्षण गरौँ । यसो गरियो भने संक्रमितको भयाभह अवस्थालाई रोक्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update