Shittalpati
चाडपर्व लक्षित सुरक्षा सतर्कता आवश्यक

हिन्दुहरुका प्रमुख चाडपर्वहरू नजिकिदै आएका छन् । अबको केही दिनमा दशैँ मनाउन घर बाहिर रहेका नेपालीहरु गाउँ फर्कदै छन् । तर विडम्वना के छ भने यही बेला असुरक्षा बढी हुन्छ । सवारी दुर्घटना हुन वा लुटपाट र चोरी डकैतीका घटना यही बेला बढी हुने गर्दछन् । असुरक्षित सडक वा यातायातका साधनहरुका कारण धेरैले सास्ती खेप्ने मात्र होइन, ज्यानै गुमाउनु परेका घटना हामी सामु छन् । बर्खाभरि बाढी र पहिरोले बिगारेका सडक अहिलेसम्म मर्मत हुन सकेका छैनन् । एकातिर खण्डहर बनेका यस्ता सडकहरूबाट गाडी दौडाउनुपर्ने हुन्छ भने अर्कातिर दशैँका बेलामा गाडी पनि धेरै चाहिने भएका कारण बिग्रेका पुराना थोत्रा गाडीहरू दौडाउने गर्नाले यस समयमा अत्यधिक संख्यामा दुर्घटनाहरू हुने गर्दछन् । दशैँको बेलामा धेरै दुर्घटना हुने गरेको विगत हामीले भुल्नुहुँदैन । त्यसैले सरकारले यथाशीघ्र यस्ता सडकहरूको मर्मत गर्नतर्फ ध्यान दिनुपर्छ ।

अर्कोतर्फ चाडपर्वको समयमा सबै क्षेत्रमा मानिसको चाप बढ्ने गर्छ । यही भीडभाडको मौका छोपेर आपराधिक घटनाहरु पनि बढ्ने गर्दछन् । भिडभाडको मौका छोपेर लुटपाट हुने गर्दछ । लुटेराले धनमाल लुट्नेमात्र होइन, ज्यानैसमेत लिने गरेका विगतका दृष्टान्त छन् । हरेक वर्ष चाडबाडको समयमा लुटपाटका घटनाका साथै उपभोक्ता किनमेलमा समेत ठगिने गर्दछन् । चाडबाडको मौका छोपेर कालो बजारी गर्ने व्यापारीहरु अझै सक्रिय छन् । तर सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन सकेको छैन । सरकारले सुपथ मूल्यका पसलहरु सञ्चालन गरेको भने पनि सबै क्षेत्रका मानिसको पहुँच पुग्न सकिरहेको छैन ।

चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा, आपूर्ति व्यवस्थापन, यातायात क्षेत्रलाई सरल र सुरक्षित बनाउने दायित्व सरकारको हो । यसका लागि राज्यका सम्पूर्ण निकायहरुले आमनागरिकको हित प्रवर्द्धनतर्फ लाग्नुपर्छ । सरकारी निकायले समयमै सक्रियता नदेखाउने हो भने यात्रा गर्दा यात्रु ठगिनुपर्ने, सीमा क्षेत्र, जङ्गल तथा बढी व्यस्त हुने स्थानमा मानिस दिउँसै लुटिनुपर्ने, सवारी दुर्घटना बढ्ने, किनमेलका क्रममा ठगिनुपर्नेजस्ता अनेकन समस्या उत्पन्न हुने छन् । यसका लागि नागरिक स्वंयम पनि सर्तक हुनुपर्दछ । त्यसो भएन भने दशैंलगायत चाडहरू निश्चिय सुखद् र रमाइला बन्न सक्दैनन् । तसर्थ चाडपर्वलाई सुरक्षित र भयरहित बनाउन सरकारी निकायले चाडपर्व लक्षित सुरक्षा सर्तकता बढाउन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update