प्रभास शक्दको अर्थ खोज्दा नेपाली वृहत् शब्दकोष अनुसार “चारैतिर छरिएको उज्यालो,प्रकाश,ज्योति, दिप्ती : हिन्दूहरूको एक प्राचीन तीर्थ, सोमतीर्थ : रामवानरनामक आदिम मानवको आजभन्दा एक करोड दस लाख बर्ष पूर्वको दाँतको अवयव फेला परेको बुटवलबाट पाल्पा जाने बाटोमा पर्ने एक ठाउँ प्रभास “भनेर परिभाषित गरिएको छ । पाल्पाको तानसेनबाट करीब ८ किलोमिटर दक्षिण प्रभास क्षेत्रमा सेनकालीन शिवालय, वंशगोपालको मन्दिर, कमल पोखरी तलाउ सूर्यकुण्ड रहेको छ ।
हालसम्म पाइएका शिलालेख, स्याहामोहर, विर्तापत्र एवं अभिलेख अनुसार शिवालय र वंशगोपाल मन्दिरको स्थापना सेन राजा रूद्रसेनको पालामा भएको पाइन्छ । सेनकालीन पाल्पाको इतिहास खोतल्दा सेन वंशका मूल पुरूष चितौर मेवाडका राजा मदन राय हुन् । यिनकै आठौं पुस्ताका सन्तति धर्मपाल सेनले वि.सं.१४७७ मा रिब्दीकोट रियासतको स्थापना गरे । धर्मपालपछि अनेक सिंह, खाम सेन र चन्द्र सेन क्रमशः राजा भए । चन्द्र सेनका रूद्र सेन, खड्ग सेन, श्रीवत्स सेन र भानु सेन गरी चार पुत्र भए । उनीपछि जेष्ठ पुत्र रूद्र सेन राजा भए । यिनै प्रतापी राजा रूद्र सेनले वि.सं.१५५० मा रिब्दिकोटबाट राजधानी पुरानाकोट अर्थात् पाल्पामा कायम गरी शासन गरेपछि यिनी पाल्पा राज्यका संस्थापक भइ वि.सं. १५५० देखि १५७५ सम्म पाल्पामा राज्य गरे । यिनकी दुईटी रानी थिईन् । जेठी रानी मध्यदेशीय राजकुमारी आशनमालाको कोखबाट मुकुन्द सेन जन्मिए । कान्छी रानी प्यूठानी राजकुमारीको कोखबाट उग्रसेन र पूर्णसेन नामक दुई पुत्र र एक पुत्री दिपावती जन्मिईन् । चन्द्रसेनपछि यिनका जेष्ठ पुत्र मुकुन्द सेन (प्रथम) पाल्पाका राजा भए । यिनी विशाल पाल्पा राज्यका निर्माता भए । चक्रवर्ती महाराज मणिमुकुन्द सेन प्रथमको रुपमा यिनी इतिहास प्रशिद्ध छन् । यिनले पाल्पालाई केन्द्र मानी पाल्पा राज्यको सिमाना पूर्वमा ब्रह्मापुत्र र गङ्गा, पश्चिममा कुमाउ र गढवाल, उत्तरमा धवलागीरि हिमाल र दक्षिणमा हरिहर क्षेत्रसम्म पुर्याएर राज्यभोग गरे । नेपाल उपत्यकाका राजाहरुले समेत पाल्पालाई कर तिरे । यसरी नेपाल उपत्यकालाई समेत पाल्पाले अधिनमा राख्यो । मुकुन्द सेनको पाल्पा राज्यभित्र बराहक्षेत्र, रुरूक्षेत्र, मुक्तिक्षेत्र र हरिहर क्षेत्र गरी चारवटै अलौकिक धार्मिक क्षेत्रहरु पर्न आए । यसपछि उनलाई चक्रवर्ती महाराज मुकुन्द सेनको नामले पुकारिन लागे । राजा मुकुन्द सेन धार्मिक स्वभावका थिए । उनले पाल्पा राज्यको विस्तारको क्रममै पाल्पामा काल भैरव, रूरूक्षेत्रमा हृृषिकेश मन्दिर लगायत विभिन्न ठाँउमा मन्दिर र मूर्तिहरू स्थापना गरेका थिए ।
यही क्रममा भारतको गुजराज प्रान्तको काठियावाद पुगेका मुकुन्द सेनले प्रभासको जलद्वारा नुहाइ, सोमनाथ महादेवको दर्शन गरेपश्चात प्रभासको जल ल्याइ पाल्पाको होलाङ्दी खोला र कमलपोखरीको दोभानमा बाबु रूद्रसेनले बनाएको शिवालय नजिकै एक पोखरी,सूर्य कुण्ड खनाइ सोमतीर्थ प्रभासबाट ल्याएको जल मिलाई यस क्षेत्रलाई प्रभास नामाकरण गरिदिएका थिए । पौराणिक कथन अनुसार दक्षप्रजापतिले असिन्की नाम भएकी स्त्रीमा ब्रम्हाजीको आज्ञाले साठी कन्या उत्पन्न गरे । जसमध्ये सत्ताइस कन्या चन्द्रमालाई विवाह गरिदिए । यी सत्ताइस कन्यालाई सत्ताइस नक्षत्र पनि भनिन्छ । जसमध्ये पत्नी रोहिणीसँग मात्रै भुल्ने र बढी माया गर्ने भएकाले अरू स्त्रीहरू चन्द्रमासँग रुष्ट भइ पिताजी दक्षसँंग रून गए । क्रुद्ध दक्षले चन्द्रमालाई क्षयरोगले ग्रस्त भइ जाने श्राप दिएपश्चात चन्द्रमा क्षीण हुँदै जाँदा पृथ्वीको दैनन्दिनीमा प्रतिकुल प्रभाव पर्न गयो । चन्द्रमालाई सोम पनि भनिन्छ । श्राप मुक्तिका लागि चन्द्रमा अर्थात् सोमले भगवान शिवजीको आराधना गरी तपस्या गरेपछि अन्ततः शिवजी प्रशन्न भइ चन्द्रमाको श्राप मोक्ष गरिदिएपछि चन्द्रमाको शितलतासँगै पृथ्वीको गति पनि चलायमान हुन गयो ।
शिवजीबाट बरदान प्राप्त चन्द्रदेव सोमले प्रभास पाटण क्षेत्रमा शिवजीको दिव्य ज्योतिर्लि· स्थापना गरी “सोमनाथ” नामाकरण प्रभासबाट जल ल्याइ नित्य अर्पण गरी महादेवलाई प्रतिष्ठापित गर्नुका साथै प्रभास क्षेत्र परिसरमा अन्य देवदेवीका मूर्तिहरू समेत स्थापित गरे । प्रभासको जल नित्य रूपमा सोमनाथमा अर्पण हुने भयो । प्रभासको जलमा स्नान गरी सोमनाथको दर्शन गर्नाले यस लोकमा पुण्य प्राप्ति हुन गइ परलोकमा सुख शान्तिका साथ वास हुने अलौकिक विश्वास रहेको छ । भगवान महादेव अवस्थित यस पवित्र दिव्य सोमतीर्थ धाममा द्वापर युगमा मानवातार भगवान श्रीकृष्णले देहत्याग गरी बैकुण्ठ गमन भएपश्चात भक्तजनहरूले श्रीकृष्णको सुन्दर मन्दिर निर्माण गरे । यसरी भगवान शिव र विष्णुको पवित्र वासस्थान समेत रहेकाले सोमतीर्थ प्रभास क्षेत्र समस्त भक्तजनहरूका लागि दिव्य देवतीर्थ धामको रूपमा पूज्य रहँदै आयो । भारतको गुजरात प्रान्तको काठियावाद क्षेत्रको सामुन्द्रिक किनारमा रहेको एक प्राचीन तीर्थस्थल, प्रभास तीर्थस्थललाई सोमतीर्थ भनिन्छ । सोमतीर्थ अर्थात् भगवान सोमनाथको मन्दिर –अति प्राचीन ऐतिहासिक शिव मन्दिर हो । यसलाई दिव्य बाह्र ज्योतिर्लिङ्ग मध्ये प्रथम ज्योतिर्लिङ्ग मानिन्छ । सोमनाथ मन्दिर प्रभास पाटणमा रहेको छ । तात्कालिन समयमा मानिहरू धार्मिक तीर्थयात्राका लागि भारतको सोमनाथ, जगन्नाथ, बद्रीनाथ, काशी, गया, द्वारका लगायतका क्षेत्रमा जाने परम्परा थियोे । यातायातको साधन नहुदाँ आवागमनको असुविधाका कारण सबैजना जान नसक्ने र जानेहरू पनि पटक–पटक जान नसक्ने अवस्थालाई विचार गरेर नै राजा मुकुन्द सेन (प्रथम) ले पाल्पा राज्यका भक्तजनहरूका लागि सोमनाथ प्रभास क्षेत्रकोे पवित्र जल पाल्पामा ल्याएर बाबू रूद्र सेनद्वारा स्थापित शिवालय नजिकै प्रभास क्षेत्र स्थापना गरे । बाबुद्वारा स्थापित शिवालयलाई सोमनाथको जस्तै सानो आकर्षक शिखर शैलीमा निर्माण गरेपश्चात प्रभासको जलले स्नान गरी शिवजीको दर्शन गर्नाले इच्छा सिद्धिसँगै पुण्य प्राप्ती हुने अलौकिक सन्देश प्रवाह गर्दै स्थानीयवासीहरूले शिवालयलाई मुकुन्देश्वर महादेव भनी पूजा आराधना गर्दै रहे । त्यतिबेलादेखि नै यो प्रभास क्षेत्र पावन क्षेत्रको रूपमा अद्यावधि रहँदै आएको छ ।
प्रभासको शिवालयमा उत्कीर्ण एक शिलालेखमा राजा रूद्रसेनको नाम अंकित भएकाले पनि यो क्षेत्रमा शिवालय स्थापना रूद्रसेनले गरेको र यस क्षेत्रलाई प्रभास नामाकरण गरी पावन भूमिको रूपमा महिमा बढाउने कर्म राजा मुकुन्द सेनले गरेका थिए भन्ने तथ्य शिवालयको नाममा रहेको गुठी जग्गालाई मुकुन्देश्वर गुठी भनी लेखिएबाट पनि शिद्ध हुन्छ । सेनकालीन समयमा राजा रूद्र सेन (वि.सं.१५४७–१५७५) देखि अन्तिम राजा पृथ्वीपाल सेन (वि.सं.१८५०–१८६१) सम्मको अभिलेख, स्याहामोहर, विर्तापत्र र चिठीपत्रहरूमा समेत प्रभास क्षेत्रको नाम उल्लेख छ । यसबाट यो तथ्य प्राप्ति हुन आउँछ कि राजा रूद्र सेन जसलाई ताम्रसेन पनि भनिन्छ । उनले तानसेन शहरसँगै कमलपोखरी क्षेत्रमा बस्ती बसाले । जसलाई राजा मुकुन्द सेन (प्रथम)को पाला (वि.सं.१५७५–१६१०) देखि प्रभास भनियो । सेनवंशी राजाहरूले प्रभास क्षेत्रमा मुकाम खडा गरी दरबार नै निर्माण गरी हिउँदे अस्थायी राजधानी बनाएका थिए भन्ने कुरा मुकुन्देश्वर महादेवको बाहिरी पर्खाल निर्माणको क्रममा जग खन्दा पाइएको थुम्का, इँटा, भाँडा, हतियार, पैसा, सिलौटो तथा झिंगटीहरूबाट पुष्टि हुन जान्छ । तत्कालिन समयमा होलाङ्दीदेखि माडिफाँट पूर्वसम्मको जग्गा पजनी गर्ने, विर्ता दिने, जागिर बन्धकी दिने कार्य पनि यही प्रभास मुकामबाट भएको देखिन्छ । सेनवंशीय शासनकालमा बनेको मुकुन्देश्वर शिवालय कालान्तरमा जिर्ण भइ भत्किएको थियोे ।
रूरू क्षेत्रमा भारतको प्रभासबाट आएका बुलहवाकर बाबा भनेर चिनिने एक महात्माले प्रभास क्षेत्रको महिमा बढाउन मुकुन्देश्वर शिवालय, वंशगोपाल मन्दिर र सूर्यकुण्डको जिर्णोद्धार गर्न गर्न लगाए । वीर शम्शेर पाल्पाको तैनाथवाला भइ आउँदा प्रभास परिसरमा आँपका बृक्षहरू लगाइ बगैंचा निर्माण गरेका थिए । राजा मुकन्द सेन (प्रथम) जीवनको उत्तराद्धमा देवघाट गई मुनि भेष धारण गरी तपस्यामा लीन भएपछि उनलाई मणि मुकुन्द सेन भनियो । वि. सं. १६२२ मा मणि मुकुन्द सेन परमात्मामा विलिन भएपछि उनले चक्रशिला स्वरूप धारण गरी शरीरको भाग देवघाट धाममै र शिरको भाग उडेर पाल्पा आइ मुकुन्देश्वर मन्दिरमा रहन गयो भन्ने लोकविश्वास अद्यावधि रहँदै आएको छ । मुकुन्देश्वर शिवालय मन्दिरमा शिवलि·, नारायण मूर्ति, चक्रशिला, गणेश र देवीका मूर्तिहरू समेत रहेकाले मुकुन्देश्वर मन्दिर शिव पञ्चायनको रूपमा प्रशिद्धि रहेको छ । प्रभासको दक्षिणी डाँडामाथि वंशगोपाल मन्दिर रहेको छ । मन्दिरभित्र सेन पाल शैलीमा निर्मित वाँसुरी (वंश) धारण गरिएको श्रीकृष्ण र श्रीहरिहरको मूर्ति रहेको छ । कृष्ण र हरिहर दुवै जगतका पालनकर्ता श्रीनारायणको रूप हुनाले प्रभास क्षेत्रमा स्थापित यरुो वंशगोपाल मन्दिरले समेत प्रशिद्धि कमाएको छ ।
मुकुन्देश्वर शिवालय र वंशगोगाल मन्दिरमा नित्य पूजा गरिन्छ । विशेष गरी बालाचतुर्दशीका दिन शतवीज छरिन्छ । शिवरात्रीका दिन विशेष पूजासहित मेला लागि रात्रीमा धुनी जगाइ जाग्राम बसिन्छ । प्रभासको शिवरात्री मेला भर्न नेपालका विभिन्न क्षेत्र लगायत मित्रराष्ट्र भारतबाट समेत श्रद्धालु भक्तजन एवं दर्शनार्थीहरू पाल्पा तानसेनको प्रभासमा आउँछन् । सेनकालीन समयदेखिनै प्रभास क्षेत्र भगवान शिव र नारायणको पावन भूमिको रूपमा रहदै आएको छ । पाल्पा भाषा, कला, संस्कृति, साहित्य, सम्पदा र परम्पराको धनी धरोहरको रूपमा रहेको जिल्ला हो । नेपालीहरूले पाल्पामा गर्व गर्न लायकमा इतिहास संस्कृति तथा सम्पदा प्रशस्तै मात्रामा छन् । सेनकालीन परम्परा र सभ्यता बोकेको पाल्पाको प्रभास क्षेत्र ऐतिहासिक, धार्मिक, सामाजिक एवं सांस्कृतिक दृष्टिकोणले अति नै महत्वपूर्ण स्थानको रूपमा रहेको छ । यसको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन राज्य र जन सबैपक्षबाट हुन आवश्यक रहेको छ ।
साभार : प्रभास क्षेत्र तानसेन नगर पालिका वडा न.७
(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष र पाल्पाका स्थापित साहित्यकार समेत हुन्)