Shittalpati
तानसेनमा पिताहरूको स्मरणमा ‘बा कप’ व्याडमिन्टन प्रतियोगिता

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा स्वर्गीय पिताहरुको स्मरणमा ‘बा कप’ व्याडमिन्टन प्रतियोगिता २०८१ आयोजना गरिएको छ । सोह्र श्राद्ध चलिरहेका बेला नारायण युवा क्लव तानसेनले पिताहरुको सम्झनामा व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।
तानसेन –२ स्थित फूलबारी कवर्डहलमा क्लवको आयोजना,अमर नारायण कभर्डहल व्यवस्थापन समितिको व्यवस्थापन र वडा कार्यालयको समन्वयमा शुक्रबार र शनिबार प्रतियोगिता भएको थियो ।

प्रतियोगिताको क्लवका संस्थापक अध्यक्ष तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले स्व.पिताहरुलाई खेलको माध्यमबाट क्लवले स्मरण गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिन आग्रह गरे ।  प्रतियोगिताले अब्बल खेलाडी उत्पादनसँगै जिल्लाको खेलकूद विकासमा महत्वपूर्ण टेवा पुग्नेमा उनले जोड दिए । सभापति श्रेष्ठले समाजमा अहिले केही भएन, केही भएन भन्ने भाष्य निर्माण भइरहेकाले त्यसलाई चिर्न सबैले सकारात्मक सोंच राखेर अगाडि बढ्न आवश्यक रहेको औल्याए । उनले भने ‘यहाँ खेल, पर्यटन र कृषिको प्रचुर सम्भावना छ, यी कुराहरुको सही उपयोग गर्न सकियो भने स्वदेशमै प्रसस्त आम्दानी गर्न सकिन्छ ।’ सभापति श्रेष्ठले अब यो देश बनाउने जिम्मेवारी सबै राजनीति पार्टी, युवा शक्ति र आमनागरिकको रहेकाले सकारात्मक सोंचका साथ सबै एकताबद्व भएर लाग्नुपर्ने बेला आएको धारणा व्यक्त गरे । विशिष्ट अतिथि क्लवका पूर्व अध्यक्ष तथा वडा अध्यक्ष महेश्वर श्रेष्ठले यस्ता प्रतियोगिता सञ्चालनका लागि आगामी दिनमा पनि क्लवसँग समन्वय र सहकार्य गरि अगाडि बढ्ने बताए ।

क्लवका निवर्तमान अध्यक्ष किशोर दर्शन बज्राचार्यले स्वर्गीय बुवाहरूको सम्झनासँगै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने ‘जिल्ला भरिका खेलाडीहरूको प्रतिभा प्रस्फुटन गरि राष्ट्रियस्तरको खेल खेलाउने तयारीका लागि प्रतियोगिता गरिएको हो ।’ कार्यक्रममा नारायण गुठी व्यवस्थापन समितिका अध्यक्ष नारायण कोइराला क्लवका सल्लाहकारहरू युवराज पौडेल, सकुन्तला बज्राचार्य, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक कमल प्रधान, सशस्त्र प्रहरी नायक उपरीक्षक श्याम महर्जन, क्लवका कानुनी सल्लाहाकार शंकर बस्याल, जिल्ला ब्याडमिन्टन संघ पाल्पाका अध्यक्ष बसन्त बज्राचार्य, प्याब्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य लगायतले खेल अहिलेको अवस्थामा आवश्यक रहेको औल्याएका थिए । २ दिनसम्म चलेको प्रतियोगिताको उपाधि रैनादेवी छहराले हात पारेको छ ।

रैनादेवी छहरा गाउँपालिकाका बलबहादुर राना र थमन गाहाको समूहले उक्त उपाधि हात पारेका हो । त्यस्तै रामपुर नगरपालिकाका आशिष शाही र मुक्ति कुमालको समूहले द्वितीय स्थान, तानसेन नगरपालिकाका कृष्ण अग्रहरि र राजेन्द्र खड्कीको समूहले तृतीय स्थान हासिल गरेका छन् । यस्तै दिलबहादुर खाम्चा र कुमार सिङ्जालीको समूहले समेत तृतीय स्थान हात पारेको छ । प्रथम हुने समूहले १५ हजार सिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई १० हजार सिल्ड, मेडल र प्रमाणपत्र र तृतीय हुने २ समूहले क्रमश ५ हजार सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ५० समूहको सहभागीता रहेको थियो । क्लवका अध्यक्ष प्रविनराज शाक्यको अध्यक्षता, सचिव विनायक महर्जनको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update